‘नयाँ वर्षको शुभकामना मलाई नपठाउनू प्लिज’



हलेसी (खोटाङ) । तात्कालिक नेपाल कम्युनिस्ट पार्टी माओवादी खोटाङ जिल्ला पूर्वजनसरकार प्रमुख दर्शन किरातले सामाजिक सञ्जाल फेसबुकका साथीहरूलाई नयाँ वर्षको शुभकामना नपठाउन अनुरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा नयाँ वर्ष २०७७ को शुभकामना आदान–प्रदान बाक्लिँदै गएको समयमा तात्कालिक नेकपा माओवादी खोटाङ जिल्ला पूर्वजनसरकार प्रमुख किरातले विनम्रपूर्वक यस्तो आग्रह गरेका हुन् ।

‘मेरो बुझाइमा शुभकामना, कामना भनेको सामन्ती शब्द, आडम्बरमात्रै हो । यसबाट उपलब्धि छैन,’ हिजोआज कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बरु तपाईंसँग भएका चेतना, श्रम, सीप, दक्षता जे छ लेखेर म्यासेन्जर पठाइदिनूस् । म बुझ्ने र प्रयोग गर्ने कोसिस गर्नेछु । अरूलाई पनि सेयर गर्नेछु । जसले समाज र समुदायलाई टेवा पुगोस् ।

नयाँ वर्षको शुभकामनासँगै एक सय बोट फलफूलका बिरुवा रोप्नूस् है भनियो भने समाजवादी आन्दोलनमा सघाउ पुग्ने उनको बुझाइ छ । ‘हामी समाजवादउन्मुख हुनपर्छ,’ उनको भनाइ छ, ‘शुभकामनासँगै त्यसो भनियो भने राष्ट्रप्रति वफादार भइन्छ । साँच्चिकै नेपाल समृद्ध बन्न सहयोग पुग्छ ।’

दर्शन किरात खोटाङ जिल्ला जनसरकार प्रमुखको भूमिकामा रहँदा राज्य सरकार प्रमुख पूर्वमन्त्री गोपाल किराती थिए भने केन्द्रीय सरकार प्रमुख पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्