नेपाली ब्राह्मणले गीता छुवाएर भारतमा कसम खुवाउँदा



सहोदर जेठा दाइ भारतीय सेनामा छानिए । माइला दाइ पनि भर्तीवाल बने । जेठा दाइ भर्तसेर राई र माइला दाइ पूर्णबहादुर राई लाहुरे बनेपछि उनी एक्लिए ।

‘जेठा दाइ तेस्रो छुट्टीमा घर आउनुभयो । पल्टन फर्कंदा मलाई शिमलाहिल सापटु (भारत) पुर्याउनुभयो । दाइको ड्युटी त्यहीं थियो,’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा खोटाङनिवासी पञ्चसेर राईले विगत सुनाए, ‘शिमलाहिल सापटुमा पाँच/छ महिनासम्म सडक निर्माणसम्बन्धी काम गरें । त्यसपछि भर्ती खुल्यो । म पनि छानिएँ । यो सन् १९७१ जनवरीको कुरा हो । म त्यतिबेला २५/२६ वर्षको थिएँ ।’

भर्ती लागेपछि तालिम सुरु भयो । तालिममा दौडाउँथ्यो । ह्याबिङ, सेटअप गराउँथ्यो । राइफल चलाउन र टार्गेटमा लगाउनेलगायत विविध विद्या सिकाइन्थ्यो । बिहान ३ बजे उठेर कोठा सफा गर्नुपथ्र्यो । बिस्तारा मिलाइन्थ्यो । त्यसपछि चिया खुवाउँथे । लगत्तै पिटी सुरु हुन्थ्यो । हतियार बोकेरै दौडनुपथ्र्यो । एक घण्टा दौडेपछि हतियार कोतघरमा राखिन्थ्यो । त्यसपछि ‘ब्रेकफास्ट’ खुवाउँथे । दिउँसो १ बजेसम्म परेड खेलाउँथे । नेपाली गुरुले नै परेड सिकाउँथे । पल्टनमा परेडभन्दा अन्य विद्या सिक्न पाइएन । परेडपछि खाना खुवाउँथे । खाना खाएपछि एक घण्टा आराम गर्न पाइन्थ्यो । आराम गरेपछि दिउँसोको परेड सुरु हुन्थ्यो ।

तालिम कत्तिको गाह्रो थियो ? ‘गाह्रो थियो नि । ८० केजी तौलसहित १७ हप्ता सैन्य तालिम गर्दाको कठिनाइ शब्दमा व्यक्त गर्न त्यति सजिलो छैन,’ उनले नढाँटी भने, ‘मलाई त तालिम सुरु भएको दुई हप्तामै घर फर्कौंजस्तो लागेको थियो । तर, जेठा दाइको सान्त्वनाले मलहमपट्टीको काम गर्यो । मैले तालिम पूरा गर्दा भारत र बंगलादेशबीच लडाइँ सकिएको थियो ।’

१७ हप्ते तालिम पूरा गरेपछि कसम खुवाउने प्रावधान थियो । गल्फु आएपछि उनले १७ हप्तामा कसम खान पाएनन् । गल्फु निको भएपछि कसम खाँदा तालिम थालेको २२ हप्ता पूरा भइसकेको थियो । नेपाली ब्राह्मणले गीता छुवाएर कसम खुवाएको उनले बिर्सेका छैनन् । तालिम पूरा गरेको ठाउँ (शिमलाहिल सापटु)मै कसम खुवाइन्थ्यो ।

कसम खाएपछि बेटरनालाखोला (वारि हिन्दुस्थान पारि पाकिस्तान) सीमास्थल पुर्याए । शिमलाहिलबाट पठानकोटसम्म रेलको यात्रा । त्यहाँदेखि उता रेल नजाने भएकाले सेनाको गाडीमा गन्तव्यसम्म पुर्यायो । बेटरनालाखोलाबाट १३ हजार मिटर उचाइमा ‘फोरवान थ्री पिकेट’ अर्थात् ड्युटीस्थल पथ्र्यो । फोर प्लाटुनलाई त्यहाँ खटाइएको थियो ।

आठघण्टे ड्युटी सुरु भयो । बंकरमै बसेर ड्युटी गर्नुपथ्र्यो । बंकरभित्रै हिँड्नुपर्ने । बंकरभित्र सुत्नुपथ्र्यो । बंकरबाटै शत्रु हेर्दै तीन वर्ष ड्युटी गरेको क्षण सम्झँदा उनको आङ सिरिङ्ङ हुन्छ । बंकरमा बसेर ड्युटी गर्दा कुनै घटना घटेन । दुर्घटना पनि भएन ।

पल्टनमा पञ्चसेर राई

‘त्यसपछि ?,’ उनले बेलिविस्तार लगाए, ‘जम्मु–कास्मिर पुर्याए । त्यहाँको मुठी क्याम्पमा साढे दुई वर्ष ड्युटी गरें ।’ जम्मु–कास्मिर सहर–बजार भएकाले ड्युटी गर्न सजिलो थियो । त्यहाँ पनि एक सैनिकले गर्नुपर्ने सबै काम गर्नैपथ्र्यो । तर, बंकरमा बस्न पर्दैनथ्यो । हाइसन्चो थियो ।

भर्ती भएको दुई वर्षमा घर फर्कने छुट्टी दिइन्थ्यो । त्यसपछि परिवार पल्टन लैजान पाइन्थ्यो । आफू जम्मु–कास्मिर हुँदा उनले परिवार पल्टन लगे । परिवार पल्टन लैजाँदा खान, बस्न सरकारी व्यवस्था हुन्थ्यो । स्वास्थोपचार निःशुल्क थियो । छोराछोरीलाई भत्ता दिने व्यवस्था छँदै थियो ।

सैनिक जीवन भनेको यात्रैयात्राको शृंखला न हो । सैनिक जीवनमा यात्रा नगरी सुखै छैन । जम्मु–कास्मिरबाट नागाल्यान्डको डिम्मापुरमा रहेको जसमी क्याम्प पुर्याइयो । त्यहाँ दुई वर्ष बितेको उनलाई पत्तै भएन । जंगलछेउछाउ भए पनि क्याम्पको बसाइ त्यत्तिकै सुरक्षित थियो ।

सैनिक जीवन । झोला बोक्नैपर्ने । झोलामा कपडा । खानेकुरा पनि झोलामै । सैन्य तालिम र लडाइँमा खटिँदा झोला अनिवार्य बोक्नैपथ्र्यो । राइफल बोकेर ड्युटीमा खटिनु त छँदै छ । ‘एसएलआर पनि बोकेकै हो । त्यो दुई केजीसम्मको हुन्थ्यो,’ उनको भनाइ थियो, ‘एसएलआरका लागि आवश्यक ६० राउन्डको गोली कम्मरमा भिर्नुपथ्र्यो । त्यो भनेको दुईवटा म्यागजिन हो । एक म्यागजिनमा ३० गोली हुन्थे । तर, एकपटकमा २८ गोलीमात्रै लोड गरिन्थ्यो ।’

ड्युटीमा खटिँदा दूरवीनबाट शत्रु हेर्नुपथ्र्यो । ‘बोर्डर साइड’मा सुरक्षाका निम्ति खटिँदा सबैसँग दूरवीन हुन्थे । प्रत्येकसँग टेलिफोन हुने भइगयो । १३ वर्षे सैन्यजीवनमा शत्रुसँग कहिल्यै आमनेसामने नहुनु भनेको सुखद संयोग ठान्नुपर्ने उनको ठम्याइ छ ।

बिहान ३ बजे उठ्नुपथ्र्यो । बेलुका १० बजे सुत्न पाइन्थ्यो । सातामा दुई दिन राम्ररी सुत्न पाउँदा चाडबाड आएजस्तै लाग्थ्यो । अन्य समय दुई/दुई घण्टा सुत्न पाइन्थ्यो । रोलकल सकिएपछि सातामा एकपटक युद्धसम्बन्धी फिल्म देखाइन्थ्यो । प्रत्येक आइतबार बिहान मन्दिर जानुपथ्र्यो ।

सैनिक जीवन सहज बन्दै गइसकेको थियो । भाषिक समस्या भयो कि भएन ? ‘अहँ,’ उनले थपे, ‘भर्तीका लागि तालिम गर्दादेखि नै हिन्दी भाषा सिकियो । भर्ती लागेपछि दुई महिनासम्म हिन्दी भाषा सिकाए । भाषामा थर्ड क्लास पास गर्नुपथ्र्यो । जो, मैले पनि गरें ।’

पञ्चसेर राईको पल्टनको नम्बर ५०३८८९९ हो । राई गुरुङ पल्टनमा भर्ती भएका थिए । उनको पल्टन ‘फाइभ वन जीआर’ हो । पल्टनमा प्रत्येकले बक्सिङ अनिवार्य खेल्नैपथ्र्यो । बक्सिङ खेल्नेक्रममा दायाँ हात ‘फ्याक्चर’ भएपछि उनी अस्पताल भर्ना भए । महिना दिन उपचार गराउँदा पनि बीसको उन्नाईस नभएपछि भारतको रजौलीमा रहेको अस्पतालले उदमपुर अस्पताल ‘रेफर’ गर्यो । त्यहाँ शल्यक्रिया सफल भयो । शल्यक्रियापछि उनी पल्टन फर्के । शल्यक्रियापछि हात ठीक हुँदै गए पनि परेड खेल्न नपर्ने भयो । शल्यक्रियापछि ६ महिना शिमलाहिल सापटुमै बस्ने प्रबन्ध मिलाइयो । त्यसपछि घरबिदामा नेपाल फर्के । घरबिदामा नेपाल रहँदा पल्टनले हाजिर हुन नागाल्यान्ड बोलायो । नागाल्यान्डको डिम्मापुरमा रहेको जसमी क्याम्प पुगेको वर्ष दिनपछि पेन्सन पाक्यो । अब घर फर्कन पर्ने भयो । उनी जसमी क्याम्पबाट शिमलाहिल सापटु पुगे । पेन्सनमा निस्कने प्रक्रिया पूरा गर्दा त्यहाँ सात/आठ महिना बित्यो ।

संवत् २०३८ सालमा पेन्सन पकाएर घर फर्के । पेन्सन निस्कनुअघि मासिक तलब ५०० पुगिसकेको थियो । नेपाल फर्कंदा हातमा नेपाली १० हजार रुपैयाँ थियो । दुई पेन्सन थाप्ने सुविधा पनि थियो । एउटा ‘फुल’ र अर्को घायल पेन्सन । ‘फुल पेन्सन’को २५ प्रतिशत घायल पेन्सन पाइन्थ्यो । घायल पेन्सन थाप्नेजति प्रत्येक दुई वर्षमा भारतको बागडोग्रामा रहेको अस्पताल पुग्नुपथ्र्यो । ‘घायल पेन्सन थाप्नेलाई दुई/दुई वर्षको अन्तरालमा अस्पताल बोलाइन्थ्यो,’ उनले जानकारी गराए, ‘आतेजातेसहित रेलको टिकट उनीहरूले नै पठाइदिन्थे । रेल चढेर बागडोग्रा पुग्न घुमाउरो पर्ने भएकाले मचाहिँ गाडीमा गएको थिएँ ।’

दुई वर्षमा एकपटकमात्रै भए पनि अस्पताल पुग्नु सजिलो थिएन । बर्खामासको समय अस्पताल पुग्नुपथ्र्यो । त्यतिबेला अहिलेजस्तो यातायात सुविधा थिएन । उदयपुरको कटारीसम्म हिँडेरै जानुपथ्र्यो । बर्खामासमा कटारी पुग्न त्यति सजिलो थिएन । यारीखोला, सोरुङखोला र मरुवाखोला तरेर कटारी पुग्नुपथ्र्यो । बर्खामा छिनछिनमै पानी पर्दा खोलामा भेलबाढी उर्लेर आउँथ्यो । जोखिम मोलेरै पहिलोपटक बागडोग्रा पुगे । स्वास्थ्य अवस्था ठीक भए पनि महिना दिनसम्म अस्पतालमा अनिवार्य बस्नैपथ्र्यो । ‘खाने, बस्ने सुविधा भए पनि दिन कटाउन गाह्रो हुन्थ्यो,’ उनको भनाइ थियो, ‘गाउँघरमा कामको चटारो हुन्थ्यो । मनले भतभती पोले पनि अस्पतालले बिदा दिँदैनथ्यो । जसोतसो महिना दिन बिताउँदा सानो–सानो युद्ध जितेजस्तो लाग्थ्यो ।’

सुलोचना राई/पञ्चसेर राई

घर फर्कने खर्च पनि दिन्थे । पेन्सन निस्केको चौथो वर्ष फेरि चिट्ठी आयो । साउनको समय । साल्तेम्मावासी धमाधम कोदो रोप्दै थिए । ‘खोलानालासँग सिँगौरी खेल्दै कटारीसम्म पुग्ने साहस नगरेपछि बागडोग्रा पुग्न सकिनँ,’ उनले प्रस्ट्याए, ‘बोलाउँदा हाजिर नभएपछि उनीहरूले पुनः चिट्ठी लेखे । म गइनँ । हामीले बोलाउँदा तपाईं उपस्थित नहुनुभएकाले तपाईंको घायल पेन्सन काटेका छौं । स्वास्थ्यमा साह्रोगाह्रो भयो भने अस्पतालसम्म आउनुहोला । साह्रोगाह्रो नभएकाले म बागडोग्रा गइनँ ।’

घायल पेन्सन काटिए पनि १३ वर्ष भारतीय सरकारको सेवा गरेबापत पेन्सन पाएकै छन् । हिजोआज पनि पेन्सनसँगै औषधोपचारका लागि भारत सरकारले छुट्टै पैसा उपलब्ध गराउँदै आएको छ । यो सुविधा पहाडी क्षेत्रका भारतीय भूपू गोरखा सैनिकलाई मात्रै छ । पेन्सन थाप्न जाँदा सामान्य औषधि उपलब्ध गराउँछन् । पेन्सन थाप्न महिनापिच्छे ओखलढुंगा पुग्दा हुन्छ । काठमाडौं र धरानमा पनि पेन्सन थाप्न पाइन्छ । पहिले–पहिले खोटाङको दिक्तेलमा पनि पेन्सन बाँडिन्थ्यो । पछिल्लो समय भारतीय सरकारले भूपू गोरखा सैनिकको पेन्सन महिनैपिच्छे एसबीआई बैंकमा जम्मा गरिदिन्छन् ।

त्यतिबेला गरेको दुःख अहिले सुखसरह फुलेको छ । दुःख फुलेपछि बुढ्यौली अवस्थामा हिँडिरहेका ७२ वर्षीय पञ्चसेर राईलाई घर–व्यवहार चलाउन साह्रै सहज भएको छ । घर–व्यवहार चलाउन आजसम्म कसैलाई हात पसार्न परेको छैन । आफ्नै पसिनाको कमाइ खाँदै जीविकोपार्जन गर्नुको मज्जा अरूसँग तुलना गर्न सकिँदैन ।

भर्ती हुँदा पहिलोपटक भारतीय १०० रुपैयाँ थाप्दा उनी कम्ती खुसी थिएनन् । तालिम पूरा गरी कसम खाएपछि मासिक तलब १२४ भयो । पल्टन पुगेपछि चार रुपैयाँ तलब बढ्यो । त्यसपछि १२४ बाट १२८ रुपैयाँ तलब भयो । हिजोआज उनले मासिक ४० हजार रुपैयाँजति पेन्सन थाप्छन् । खुसीको ‘ग्राफ’ क्रमशः बढेकै छ ।

‘मेरो बुवा सुरबहादुर राई पनि लाहुरे नै हुन्,’ उनले पुछारमा बोले, ‘तर, पहिलो छुट्टीमा घर आएपछि पल्टन फर्कनुभएन । मैलेचाहिँ धन्न त्यसो गरिनँ ।’

साबिक दुर्छिम गाउँ विकास समिति–१ साल्तेम्माका सुरबहादुर राईको बेलाबखत चर्चा चल्छ । स्व. राईका तीनैजना छोरा भारतीय सेनामा भर्ती भए । तीनैजना पेन्सन पकाएर नेपाल फर्के । तीनैजनाले सहर–बजारको सुख–सुविधाभन्दा आफ्नै सालनाल गाडिएको माटोको सुगन्ध मन पराए । साबिक दुर्छिम गाविसभरि एउटै बुवाको तीनै भाइ छोरा लाहुरे भएको आजसम्म सुन्न पाइएको छैन । सुरबहादुर राईका तीन छोरा भर्तसेर राई, पूर्णबहादुर राई र पन्चसेर राईले राखेको त्यो सानो–सानो कीर्तिमान अहिलेसम्म कसैले तोडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्