आमा : देब्रे हातले किन लेखेको ? दाहिने हातले लेख् ।
बुवा : जुन हातले सजिलो लाग्छ, त्यसैले लेखोस् न । पृष्ठ–२ ।
कसको कुरा मान्नु ?
बाबा भन्नुहुन्छ : धेरै खानुहुँदैन । जिउ भारी हुन्छ । अल्छी लाग्छ ।
आमा भन्नुहुन्छ : पेटभरि खानुपर्छ । मन लागेजति खानुपर्छ । भोकै उठ्नुहुँदैन । कमजोर भइन्छ । पृष्ठ–३ ।
मैले भनें त ।
शवनम : बाबाले भनेको, एक छिन कार्टुन हेर्नु अरे । टीभी खोल्छु ल ?
आमा : हुँदैन । मैले भनें त । खुरुक्क होमवर्क गर्न बस् । पृष्ठ–४ ।
आमा छोरा
‘यता नआइज भनिराखेकी छु है । आइस् भने खुट्टा भाँचिदिउँला ।’
‘त्यसो भए अस्ति मेरो खुट्टा मर्किंदा किन डाक्टरकहाँ लैजानुभएको ?’ पृष्ठ–६ ।
भन्न त भन्नुहुन्छ नि…
बाबा भन्नुहुन्छ, ‘मेरो किताब नचलाउनू ।’ तर, मैले लुकीलुकी उहाँको किताब पढिसकें नि । कस्तो मजा आयो । पृष्ठ–७ ।
माथिका अंश भारतीय शिक्षाशास्त्री एवम् लेखक गिजुभाइको ‘हामी आमाबाबु’ शीर्षकको पुस्तकबाट साभार गरिएका हुन् । पुस्तकमा लेखकले छोराछोरी र आमाबाबुको सम्बन्धलाई सूक्ष्म रूपमा केलाउने काम गरेका छन् । ‘गुजराती’ भाषाबाट काशीनाथ त्रिवेदीले ‘हिन्दी’ भाषामा अनुवाद गरेको ‘हामी आमाबाबु’ पुस्तकलाई शरच्चन्द्र वस्तीले नेपालीमा पुनर्लेखन गरेका छन् । पुस्तक सिकाइ समूह, काठमाडौंले प्रकाशनमा ल्याएको हो ।
पुस्तक प्रत्येक अभिभावक, बालबालिका र युवकयुवती सबैका लागि उत्तिकै महत्वपूर्ण देखिन्छ । पुस्तकको केन्द्र अभिभावक र केटाकेटीलाई बनाइएको छ । केटाकेटी चरण पार गरेर वयस्क भएका र जवानी पुगेका सबैका लागि पुस्तक उत्तिकै महत्वपूर्ण लाग्छ ।
पुस्तकमा थुप्रै अनुत्तरित प्रश्न छन् । आमाबाबुको जिम्मेवारी के ? तपाईं कस्तो बाबु बन्न चाहनुहुन्छ ? आमाबाबुकै कुरा नमिलेपछि केटाकेटीमा कस्तो अन्योल होला ? अभिभावक भएर केटाकेटीमा ज्यादती त गर्नुभएको छैन ? साँच्चै, तपाईं केटाकेटीको कुरा बुझ्दै हुनुहुन्छ ? केटाकेटीमाथि कति हस्तक्षेप गर्नुुहुन्छ ? बालबालिकाको उत्सुकतालाई कति सम्मान गर्नुहुन्छ ? कतै अपमान त गर्नुभएको छैन ? बाल उपलब्धिको स्वागत गर्दै हुनुहुन्छ कि अपमान ? एउटाको रिस अर्कोमाथि पोख्तै त हुनुहुन्न ? अनि सन्तानलाई कस्तो शिक्षा दिँदै हुनुहुन्छ ? बच्चाको बाल मस्तिष्कले के सोचिरहेको होला अनुमान गर्नुभएको छ ? थाहा छ, बालबालिकालाई कति स्वतन्त्रता दिनुभएको छ ? यो पुस्तकले यी र यस्तै प्रश्न आमाबाबु समक्ष राखेको छ ।
अवमूल्यन
‘बाबा, हेर्नु त, तपाईंको किताबमा पनि क, ख, ग, घ रहेछ । ई, यहाँ पनि क, यहाँ पनि क, यहाँ पनि क..’
‘क, ख, ग, घ नभएर के हुन्छ त ? मेरो किताब नचला आफ्नो किताब पढ् ।’ पृष्ठ–११ ।
पर्या छैन, गर्नुपर्दैन ।
‘मामु, म चिया पकाऊँ ?’
‘ल भैगो, छुनुपर्या छैन ग्यास । पढ्नु–सढ्नु छैन्, बडो चिया पकाउने भएकी ।’ पृष्ठ–१३ ।
उपलब्धिको अपमान
‘मम्मी, मम्मी । मैले सफाइमा पुरस्कार पाएँ । ई, हेर्नोस् त ।’
‘पढ्नुगुन्नु क्यै छैन, नक्कल पार्न त जानेकी छस् नि । कसरी घर गरेर खालिस् ?’ पृष्ठ–१४ ।
किन कुटेको ?
आमा : विदित, तैंले बहिनीलाई किन कुटेको ?
विदित : तपाईंले मलाई किन कुटुनुभयो त ? पृष्ठ–१६ ।
खेलिरहेको बच्चासँग
कवि : एक छिन चुप लाग् न भन्या । कस्तो कविता फुरिराख्या छ, बर्बादै गर्ने भए ।
डाक्टर : चुप लागेर बस है । नत्र सुई लगाइदिन्छु नि ।
पुस्तक पढिरहेकी आमा : को हो यो हल्ला मच्चाउने ? कोठामा बसेर चुपचाप होमवर्क गर । पढ्नु–सढ्नु छैन, उफ्रेको उफ्र्यै । पृष्ठ–२७ ।
अनावश्यक ओट
कविता दिदी, ‘आभासलाई तह लगाउनोस् है । हिजो विनोदजीकी छोरीलाई लडाएर लात्तले हान्दै थियो ।’
‘कहाँ त्यस्तो हुन्छ ? हाम्रो आभास कस्तो सोझो छ । अरूसँग चल्न, अरूलाई कुट्न, लात्ती हान्न त यसले जानेकै छैन ।’ पृष्ठ–२९ ।
‘हुँ..हुँ..हुँ..’
के भयो ? किन रोएकी ?
‘रजनीले लडाइदिई ।’
‘तैंले पनि लडाइदिन सकिनस् त ? हुतिहारा कहींकी ।’
‘…’
‘अबदेखि त्योसँग खेल्न जा त । दिनभरि बाँधेर राख्छु ।’
अभिभावकले केटाकेटीलाई सम्झाउने कि थर्काउनेमात्र ? पुस्तकमा केटाकेटीलाई तर्साउने र हप्काउनेमात्र नगरेर उत्साह दिनुपर्नेमा लेखकले जोड दिएका छन् । केटाकेटीको भावनाको सम्मान अभिभावकले गर्न सके केटाकेटी ऊर्जावान हुन्छन् । भावनाको सधैं अपमानले बालबालिकालाई आक्रामक बनाउँछ ।
छोरी : ‘मलाई पाइन्ट मन पर्दैन । मिडी लगाउँछु नि, ल ?’
आमा : किन मिडी लगाएर बजार जानुपर्यो ? खुरुक्क पाइन्ट लगा ।’
यो नकारात्मक काम नगर्नुहोस् । सकारात्मक उपाय यसरी अपनाउन सक्नुहुन्छ ।
छोरी, ‘मलाई पाइन्ट मन पर्दैन । मिडी लगाउँछु नि, ल ?’
ऋामा : ‘तिमीलाई जे मन लाग्छ, त्यही लगाऊ, छोरी । बजार जाने त हो नि ।’ पृष्ठ–३७ ।
मलाई गीत गाउन मन लाग्छ । तर, आमाले दिनुहुन्न । हिजो नुहाउँदा गीत गाउन थालेको गाली गरिहाल्नुभयो । ‘पढ्नु–सढ्नु छैन, बडो गीत गाउने भएको’ भनेर । के भन्या होला ? नुहाउँदा पनि किताब लिएर पढ्नु कि क्या हो ? पृष्ठ–४९ ।
आमा ठान्नुहुन्छ, म बहिनीलाई माया गर्छु । बहिनी नै रुन्ची छ । तर, सत्य कुरा त मलाई थाहा छ । बहिनीलाई चिमोटीचिमोटी रुवाउने मै त हुँ नि । पृष्ठ–५३ ।
आमा : ठूली भएर डाक्टर बन्नुपर्छ छोरी । राम्ररी पढ् ।
‘आमाले भनेर हुन्छ र ? मलाई डाक्टर मनै पर्दैन । म त पुलिस अफिसर बन्छु ।’ पृष्ठ–५५ ।
व्यक्तित्वको सम्मान
दादा केराको बोक्रामा चिप्लेर लड्यो । ‘आँखा हेरेर हिँड्नुपर्दैन ?’ भनेर बाबाले गाली गर्नुभयो ।
बाबा केराको बोक्रामा चिप्लेर लड्नुभयो । ‘बोक्रा जथाभावी फ्याँक्ने ?,’ भनेर दादालाई एक थप्पड दिनुभयो । विचरा दादा । पृष्ठ–५८ ।
शिक्षिका भन्छिन्– ठूलाबडाले भनेको मान्नुपर्छ ।
बच्चा सोच्छ । हामीलाई भन्नेमात्र हो । हेडसर (प्रिन्सिपल)ले भनेको कुरा मिसले नै अटेरी गर्नुहुन्छ । पृष्ठ–६० ।
केटाकेटीलाई अबुझ ठान्नु अभिभावकको गल्ती हुने पुस्तकको ठहर छ । छोराछोरीलाई संकीर्ण बनाउने कि उदार ? भन्नेकुरा अभिभावककै जिम्मामा हुने भएकाले अभिभावक छोराछोरीप्रति जिम्मेवार बन्नुपर्ने पाठ पुस्तकले सिकाएको छ । आफू झुट बोलेर, आफू नकारात्मक काम गरेर छोराछोरीलाई सत्य बोल्न सिकाउने र सकारात्मक काम गर्न प्रेरित गर्नु अभिभावक मूर्ख बन्नुजस्तै भएको सन्देश पुस्तकमा छ । बालबालिका, किशोरकिशोरी, युवकयुवती सँगै अभिभावक र वृद्धावृद्धाका लागि समेत उपयोगी मान्न सकिने पुस्तकको भाषामा प्रश्न गर्ने क्षमता मैले राख्दिनँ । यद्यपि, कतिपय पूर्णविराम राख्नुपर्नै ठाउँमा किन आश्चर्यबोधक चिह्न राखियो भन्ने जिज्ञासा छ । एक सय १५ पृष्ठको पुस्तकका सबै पानामा रोचक सन्देशमूलक सामग्री पढ्न पाइन्छ । त्यहीबीचमा केही नकारात्मक कुरासमेत छन् । जुन कुरा पुस्तकमा नसमेटिएको भए पुस्तक सुनमा सुगन्ध बन्थ्यो ।
नकारात्मक
सानो छँदा आमाले गाली गरेको नाममा पवित्रा विवाह गरेपछि माइतै नगएको र आमासँग फोनमा समेत कुरा गर्न नचाहेको । पृष्ठ–८२ ।
अशोकले छोरा आदर्शलाई कुटेकै नाममा आदर्श बुवासँग कहिल्यै बोल्दैबोलेन । काठमाडौंमा डेरा गरी बसेको आदर्शको कोठामा बुवा आउँदासमेत व्यवस्था गर्यो । पृष्ठ–८३ ।
रीता आफ्नो ब्वाइफ्रेन्डसँग भन्छे, ‘मैले आमालाई भित्री मनले ‘मामु’ भनेर आजसम्म बोलाएकी छैन् । बोलाउन मन लाग्दैन । बाबासँग पनि अनुहारमा हेरेर दोहोरो कुरा गरेकै छैन । कुरा गर्न मनै लाग्दैन ।’ पृष्ठ–८४ ।
भोजपुरका बुद्धिनाथ ज्योतिषीले छोरीलाई गरेको दुव्र्यवहार र माओवादी छापामार भएपछि छोरी उनुले ज्योतिषी बाबुलाई सुँगुर छुवाएर गरेको अपमान । पृष्ठ–८५ ।
जस्ता नकारात्मक सन्देश दिने प्रसंग पुस्तकमा नसमेटिएका भए, पुस्तकको उचाइ अझ बढ्थ्यो । आलोचनाको ठाउँ नै हुने थिएन ।
यद्यपि, गिजुभाइको ‘हामी आमाबाबु’ सबैले एकपटक पढ्नैपर्ने थोरै उपयोगी पुस्तकमध्येको एक एक हो । पुस्तकको आवरण तस्बिर रवीन साय्मिले आकर्षक बनाएका छन् । दुई सय २५ रुपैयाँ मूल्यको पुस्तक पढिसक्दा लाखौं मूल्यमा प्राप्त गर्न नसकिने व्यावहारिक ज्ञान ग्रहण गर्न सकिन्छ ।
(हामी आमाबाबुबाट)