याम्बुनेर : सत्ताको अनुदार अनुहार देखाउने ऐना



‘याम्बुनेर’ पढेपछि लाग्यो– कथाकारहरूको लहरमा मात्र एउटा नाम थपिएको छैन । मात्र पुराना विषयहरूको नयाँ कलेबरमा पुनरावृत्ति भएको छैन । खस–नेपाली भाषामा लेखिने कथाकारहरूको लहरमा एउटा सार्थक नयाँ नाम र समाजको नयाँ कथा पनि आइपुगेको छ ।

रमरम व्यंग्य–निबन्ध लेख्ने रुद्र खरेलले एकपटक कुरैकुरामा भनेका थिए, ‘भोगीजी, किताब पढ्दा भूमिकादेखि सुरु गर्नुपर्छ ।’ सधैं त होइन तर खासखास मौकामा खरेलले भनेजस्तै भूमिकाबाट पढ्न सुरु गर्ने गरेको छु । विना थिङको यो कथासंग्रह पनि मैले भूमिकाबाटै पढ्न सुरु गरें । भारीभरकम औपचारिकतासहित लेखिने भूमिकाभन्दा फरक होलाजस्तो लागेर पढ्न उत्सुक भएको थिएँ । भूमिकाले मलाई निराश बनाएन बरु मीठोसँग कथातिर डोर्यायो । ‘कथा भन्नुअघिको कथा’ शीर्षकमा लेखिएको कथाकारको आत्मस्वीकृति खासमा पाठकलाई कथातिर डो¥याउने प्रवेशद्वारजस्तो बन्न पुगेको छ ।

‘याम्बुनेर’का १३ कथामध्ये अधिकांश ग्रामीण तामाङ समाज र गाउँबाट हेटौंडालगायत सहरतिर झरेका तामाङ समाजमाथि फरक–फरक कोणबाट लेखिएका छन् । यो खस–नेपाली साहित्यका लागि नौलो विषय हो । कतिपय कथा पढ्दापढ्दै लागिरह्यो, ‘तामाङ–नेपाली भाषामै पढ्न पाए यी कथाबाट प्राप्त हुने आस्वादन अझ बढी हुँदो हो ।’

‘याम्बुनेर’ निश्चय नै कथासंग्रह हो तर यो सिरिफ कथामात्रै होइन, इतिहासको पुनर्मूल्यांकन गर्ने प्रयास हो । उहिले पिपाभन्दा बढी नठानिएका अथवा त्योभन्दा माथिको हैसियत दिँदा राजकीयतामाथि खतरा हुन्छ भनेर पिल्स्याइएको तामाङ समाजलाई कहाँ पु¥याइयो ? कहाँ पु¥याइयो भन्दाखेरि हेलिकोप्टर चढेर बम्बईको कोठीतिर ‘सप्लाइ’ हुने दर्दनाक अवस्थामा पुर्याइयो । त्यो शृंखला अहिले पनि फरक स्वरूपमा जारी छ । तामाङ समाज किन यति विद्रुप यथार्थ भोग्न अभिशप्त छ ? त्यसको ऐतिहासिक उत्खनन गर्ने कथा ‘याम्बुनेर’मा छन् । ती कथाहरूमध्ये एउटा हो ‘सिफनको फेरो’ । संग्रहकै सबैभन्दा लामो र सर्वथा समर्थ कथा पनि हो यो । यसमा तामाङ समाजमा ‘बम्बई’ जाने कुरा कसरी सामाजिकीकरण हुन पुगेको छ भन्ने विषयलाई मिहिन रूपमा उठान गरिएको छ । अवश्य, हामीले बम्बई पुगेर फर्किएका चेलीको दर्दनाक कथा उनीहरूकै मुखबाट सुनेका छौं । पढेका पनि छौं । तर, तामाङ समाजको यो अभिशाप तामाङ स्रष्टाबाटै यति मसिनोसँग टिपिएको कथाचाहिँ कमै पढेका छौं कि जस्तो लाग्छ । त्यस हिसाबले ‘सिफनको फेरो’को खस–भाषामा लेखिने ‘नेपाली’ साहित्यमा अलग परिचय बन्ने पक्का छ ।

इतिहासमा तामाङ समाज कहाँ थियो, अहिले कहाँ छ ? तौलुङमा उभिएर किन कुनै तामाङले पृथ्वीनारायण शाहले झैं काठमाडौंलाई आत्मविश्वासपूर्वक हेर्न सक्दैन ? किन काकाकुलजस्तो, डराएकोजस्तो, पराईजस्तो भएर हेर्छ ? गणतन्त्र आयो, संघीयता आयो तर याम्बुनेरकै समाजचाहिँ कुन शताब्दीमा बाँचिरहेको छ ? परिवर्तन उनीहरूसम्म पुग्दै छ कि होइन ? परिवर्तनको सामाजिकीकरण हुँदै छ कि नाइँ ? भन्दाखेरि बिस्तारै हुन खोज्दै छ किनभने तौलुङतिर धुले सडक भए पनि पुग्दै छ । मेरो हिसाबमा ‘याम्बुनेर’का कथाको मूल खोजी यिनै हुन् । साना र नपत्याइएका विषयमा गुरुत्व भर्नु विना थिङको कथाकारिताको शक्ति हो ।

यस्ता केही कथामध्ये एउटा हो– ‘याम्बुनेर’ । कथासंग्रहकै नाम जुराइएको यो कथा दोस्रो लामो कथामा पर्छ । निकै शक्तिशाली कथा पनि हो यो । यो त्यही कथा हो, जसले ‘याम्बु’ ले ‘तौलुङ’ माथि गरेको शासनको चिरफार गरेको छ । कथाको विषय सामान्य लाग्छ किनभने यहाँ रक्सी पारेर सहरमा बेचेर गुजारा गर्ने ग्रामीण तामाङ परिवारमाथि प्रहरीको ‘कानुनी ज्यादती’को कथा भनिएको छ । यत्रो ‘राष्ट्रियता’ अथवा के–के ‘ता’हरूको कुरा भइरहेको बेला हामीलाई यो कुनै महत्वको नयाँ विषय हो जस्तो लाग्दैन । तर, छद्म राष्ट्रियताको कल्की सिउरिएर सत्ता कब्जा गरिबसेका शासकले पूरै बेवास्ता गरेको आन्तरिक राष्ट्रियतासँग सम्बन्धित विषय हो यो । त्यस अर्थमा यो चानचुने सवाल होइन, शताब्दीऔंमा कचपल्टिएको नेपाली समाजको घाउ हो । सत्ताको अनुदार अनुहार देखाउने ऐना हो । क्रान्तिकारी परिवर्तनको पैरवी गर्ने कथा हो यो । जस्तो, चुनौतीको भाषामा सोममाया प्रहरीलाई भन्छिन्, ‘गरिबको सत्यानाश गारेर क्या पाउँछा ? अरू काम ता जान्दैना । पढाइ छाइन । सिल्पाक बनाउनेलाई खोई गारेको कार्वाइ ? कि उनार्ले नै घुस ख्वाएर हामी गरिबलाई यसो गारेको ? गरिबलाई मात्र लाग्छा एइन ? हाम्ले गरेको काम गइरकानुनी भए कानुनी तारिका सिकाइदेऊ ना बारु । भाँती पुगाएरै पार्छु नि राक्सी ।’

समाज नभेटिने सहरिया रुमानी प्रेमका कथाहरू पढ्दापढ्दा हैरान भइसकेको हामीलाई ‘याम्बुनेर’मा प्रेमलाई नयाँ तरिकाले भन्ने प्रयास गरिएको छ । यहाँ प्रेमिल जोडीका प्रेम पढिरहेका हुन्छौं तर खासमा समाजको दुःख र संघर्ष पढिरहेका हुन्छौं । त्यसकारण ‘याम्बुनेर’ का प्रेमकथाहरू के मानेमा बिछट्टै फरक लाग्छन् भने यहाँ प्रेमकथामार्फत समाजको समकालीन कथा भनिन्छ । जस्तो कि ‘गन्धेझार’ ।
‘आनी पेमा’, ‘सिकोफाइभ’, ‘आइतीमाया’, ‘ब्याड भाले’, ‘भगवान्को घर’जस्ता कथामा ग्रामीण समाजमा विद्यमान परिवार, कठिन भोगाइ र सामाजिक अन्तरद्वन्द्वलाई बिना थिङले एकदमै सजिलोगरी भनेकी छन् । साहित्यमा ज्यादै कम स्थान पाएको विषय आनी बन्ने बौद्ध परम्पराको सामाजिक, पारिवारिक र मनोवैज्ञानिक आयाममाथि लेखिएको गहकिलो कथा हो– ‘आनी पेमा’ ।

‘याम्बुनेर’मा कि तामाङ गाउँको कथा छ, कि गाउँबाट हेटौंडा सहरतिर झरेको समाजको कथा छ । राजधानीको नजिकै भएर पनि तामाङ समाजको कथा निकै कम भनिएको छ साहित्यमा । त्यस्तै गाउँबाट सहर झर्ने तामाङ समाजको कथा पनि कम नै भनिएको छ । यी दुवै अभाव बिना थिङका कथाहरूले पुर्ताल गरेको छ । जस्तो कि गाउँबाट सहर झरेको मिश्रित समाजको कथा ‘ड्राइभरका आँखा’, ‘गंगारामको साइकल’ । यति हुँदाहुँदै पनि कतिपय कथा भने औसत लाग्छन् । कतिपय कथा (ब्याड भाले) चाहिनेभन्दा बढी तन्किएजस्तो महसुस हुन्छ । यद्यपि, कवि पनि भएको नाताले भाषामा काव्यात्मक लय छ । तामाङ समाजजस्तै भाषा पारदर्शी र सरल छ ।

अब एउटा फरक सन्दर्भ उल्लेख गरेर बाँकी कुरा भनूँ लागेको छ । संविधानसभा सभासद्हरू किसानसँग संविधानसम्बन्धी सुझाव लिन गए । किसानले सुझाव दिए, ‘खेती गर्न जग्गाको अभाव छ । सिँचाइको राम्रो प्रबन्ध छैन । भनेको बेला मल पाइँदैन । हाम्रो उत्पादनले राम्रो मूल्य पाउँदैन । समयमा भुक्तानी पाइँदैन ।’ सभासद्मध्ये एकजनाले निराश हुँदै भने, ‘खोई, किसानले केही सुझावै दिन सकेनन् ।’ अर्को सभासद्ले भने, ‘होइन, यहाँभन्दा धेरै सुझाव के दिनु भन्नुस् त ? सबै सुझाव आइसक्यो नि ।’ ती सभासद्ले फेरि असन्तुष्ट भावमा भने, ‘खोई, के आयो र ?’ अर्का सभासद्ले सम्झाउँदै भने, ‘किसानले आफ्नो भाषामा क्रान्तिकारी भूमिसुधार गर्नूस्, किसानमारा प्रणाली अन्त्य गर्नूस् भनेनन् ?’ ‘याम्बुनेर’ कथासंग्रहमा पनि प्रतीकात्मक रूपमा यस्तै धेरै भनिएको छ ।

याम्बु एउटा प्रतीक हो यहाँ : सत्ताको, शक्तिको, उन्मादको । र, कथामा कतै पनि नभेटिने खालि लेखकको आत्मस्वीकृतिमा उल्लेख भएको तौलुङडाँडाचाहिँ दुःखको, ‘पिपा’को, प्रतिरोधको प्रतीक हो । समाजलाई खासमा प्रतीकमार्फत् शासन गरिएको हुन्छ भनिन्छ । जस्तो कि राष्ट्रिय जनावर सिरिफ एउटा जनावरमात्रै होइन, एकल सत्ता हो । जस्तो कि राष्ट्रिय प्रतीकमा गुराँस छ, डाँफे छ अर्थात् एउटा अहंकार छ । जस्तो कि राष्ट्रिय रंगहरूमा सिम्रिक छ । राष्ट्रिय झण्डा नै जो छ अर्थात् बितिसकेको राजतन्त्रको हरक बाँकी छ । यी प्रतीकमा नेपाली समाजको निकै ठूलो हिस्सा छुटिरहेको छ । किनभने यी सीमित प्रतीकमार्फत अझै पनि पुरानो ‘याम्बु’ले जस्तै शासन गर्ने प्रयास भइरहेको छ । यी सप्पै प्रतीकलाई ढुस बनाउने प्रतिरोधी प्रतीक तौलुङ छ– ‘याम्बुनेर’ कथासंग्रहमा । ‘याम्बु’ भर्सेज ‘तौलुङ’ ! धुले सडकमात्रै पुगेको किन नहोस्, तौलुङ नै प्रिय लाग्छ ।

प्रतिक्रिया दिनुहोस्