रोमन रेन्जको प्रेमिकाका रूपमा रिङमा उत्रिने मन


उमेर कलिलै । व्यवहार शालीन । स्कुटर चढेर काठमाडौँका गल्ली चोकमा हिँड्दा ऊबेला काठमाडौँ उत्रिँदाको स्मरण पनि हुन्छ उनलाई । साधारण परिवारकी छोरी । खोटाङ जिल्लाबाट काठमाडौँ झर्दा ‘प्रोपर पाखे’ जस्तो ठान्थिन्, आफूलाई । साँघुरो सोच भएको समाजबाट केही खुल्न सक्ने सहर लाग्यो, काठमाडौँ ।

नाम अस्मिता सुनार । स्थापित परिचयचाहिँ अस्मिता जुरेली । पेसागत हिसाबमा उनी एक कुशल रेस्लिङ खेलाडी । नेपालमा त्यति व्यापक छैन, यो विधाको खेल । तर, विश्वबजारमा होमिएकाको नाम, दाम र इज्जत यस खेलले ठूलै दिएको छ ।

मान्छे–मान्छे भएको भीडमा ‘जुरेली’ स्थापित हुनु थियो । ‘यति धेरै मान्छेका भीडमा कसरी नाम कमाउने, कसरी काम गर्ने भन्ने विषयमा पक्कै चिन्ता हुन्थ्यो,’ उनी स्मरण गर्छन्, ‘१४ वर्षको उमेरमा काठमाडौँ आइयो, एकातिर उच्च अध्ययन, अर्कातिर मनमा अनेक अपेक्षा ।’

खोटाङमा अध्ययन गर्दा उहाँमा खेल, नृत्य, नाटक सबैमा सहभागिता जनाउने र पुरस्कार जित्ने बानीजस्तै परेको थियो । त्यो काउकुती काठमाडौँको भीडमा पनि चल्नु अस्वाभाविक थिएन । उनले आफूलाई अब्बल देखाउन सक्ने क्षेत्र, मार्ग र सम्पर्कको कमी भने थियो । तर, आधा दशकमा नै उनले काठमाडौँमा आफूलाई स्थापित गर्न सफल हुनुभयो । यसका लागि केही संयोग भए, धेरै उनको लगनशीलता ।

उनका दाजु दिनेश सुनार (पार्कर खेलमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा चारपटक नाम लेखाउन सफल)ले चलचित्रको ‘स्टन्ट’ गर्थे । उनी पनि सुटिङ हेर्न पुगिन् सेटमा । त्यही सेटले उनको रेस्लिङ यात्रा तय ग¥यो । ‘एक्सन सिन’को सुटिङ भइरहेको त्यो सेटमा जुरेलीको भेट भयो– नेपालको पहिलो महिला रेस्लर भगवती थापासँग । चिनजान भयो । साधारण कुराकानीसँगै रुचिका विषय पनि आदान–प्रदान भयो ।

स्कुलदेखि नै तेक्वान्दोलगायत खेलमा अब्बल जुरेलीले आफ्ना रुचि सुनाइन् । थापाले सोधिन्, ‘रेस्लिङ खेल्छौ त ?’ काठमाडौँमा अल्मलिने बाटो केही नभएको बेला आँटिली जुरेलीले केही नसोचेर भनिन्, ‘खेल्छु । मज्जाले खेल्न सक्छु ।’

नेपालका पहिलो रेस्लर भरतबहादुर विसुराल (हिमालय टाइगर)ले भर्खरै प्रशिक्षण केन्द्र खोलेका थिए । थापाले जुरेलीलाई त्यहीँ पु¥याइन् । बिसुरालले कलिली मान्छे देखेपछि पत्याउन कठिन भयो । थापा ज्यान भएकी रेस्लरजस्तो देखिन्थिन्, जुरेली, जुरेलीजस्तै । त्यसैले त उनले तुरुन्तै भने, ‘जुुरेलीजस्ती छौ, कसरी रेस्लिङ खेल्छ्यौ ?’ उनको उत्तर थियो, ‘रेस्लिङ शरीरले मात्र होइन, दिमागले पनि खेल्ने खेल हो । म सक्छु ।’

 

‘मैले यति भनेपछि गुरु (बिसुराल) खुसी हुनुभयो । त्यसपछि मलाई प्रशिक्षणमा आबद्ध गराए । मलाई मौका चाहिएको थियो, नाम कमाए,’ उनी सुनाउँछन्, ‘मलाई मन परेर मेरो नाम जुरेली पनि त्यहीँबाट रह्यो ।’ बिसुरालले नेपालका विभिन्न ठाउँ र भारतका विभिन्न सहरमा उनलाई बिस्तारै रेस्लिङ रिङमा उतारे । जुरेलीले जित्दै गइन् । उनका खेल टेलिभिजन र युट्युबका च्यानलमा प्रख्यात हुन थाले । उनको खेलको ‘डिमान्ड’ बढ्न थाल्यो । उनको खेल राम्रो हुँदै गयो । रेस्लिङ खेल खेल्नु एउटा जोखिम पनि हो । साँच्चै कुटाकुट हुन्छ । शरीरमा चोट लाग्छ । जुरेली आफैँले पनि रिङमा कैयौँपटक रगत बगाउनुपरेको छ । तर, जोखिमसँगै विश्वमा नाम कमाउने खेल पनि हो ।

नेपालमा महिला रेस्लरको जनसङ्ख्या धेरै छैन । ३०–३५ जना जति छन् । केहीलाई जुरेलीले पनि प्रशिक्षण दिइरहेकी छन् । तर, यो सङ्ख्यामा वृद्धि गराउनुपर्ने उनको ठम्याइ छ । राष्ट्रिय खेलकुद परिषद्लगायत आधिकारिक निकायले रेस्लिङलाई प्राथमिकतामा राख्न उनी आग्रह गर्छिन् । ‘हरेक खेलका सम्भावना हुन्छन् । जसरी क्रिकेट बढ्यो, त्यसरी रेस्लिङ पनि बढ्न सक्छ । तर, राज्यले यसमा लगानी र खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ,’ उनी भन्छिन् । जुरेलीको आफ्नै पनि एउटा रहर छ । नेपालमा बिसुरालमात्र डब्लुडब्लुएफको रिङमा पुगेका रेस्लर हुन् । अब महिला रेस्लर पनि डब्लुडब्लुईको रिङमा उत्रिन अभ्यासमा लाग्नुपर्ने जुरेलीको भनाइ छ ।

‘त्यसका लागि म अभ्यास गर्न तयार छु । त्यो मेरो सपनाको रिङ पनि हुनेछ,’ उनी भन्छिन्, ‘विश्वका कैयौँ देशका महिला त्यहाँ पुगेका छन्, म पनि पुग्न सक्छु भन्ने आत्मविश्वास छ ।’ अझ रेस्लिङमा नेपालको नाम स्थापित गर्ने रहर पनि उनीसँग छ, विश्वप्रख्यात रेस्लर रोमन रेन्जसँगको सहकार्य । आफ्नो भित्री चाहनालाई खुलाउँदै जुरेली भन्छिन्, ‘रोमन रेन्जको प्रेमिकाका रूपमा रिङमा उत्रिने मन छ ।’

प्रतिक्रिया दिनुहोस्