एगिन्द्र राईलाई तुवाचुङ साप्ताहिकको प्रतिउत्तर


एगिन्द्र राईजी,

तपाईंद्वारा सम्प्रेषित पत्र अरूबाटै प्राप्त भयो । पत्रमा धेरै कुरा लेख्नुभएको रहेछ । तपाईंको पत्र जस्ताको तस्तै तुवाचुङ डटकममा आइतबार प्रकाशित भएको थियो । पढ्नुभयो नै होला ।

‘कामै नगरी एगिन्द्रले ३ दिनको हाजिरा माग्दा हलेसी तुवाचुङवासी तीनछक’ शीर्षाकृत समाचारप्रति तपाईंको आपत्ति रहेछ । तपाईंको पत्र प्राप्त भएपछि ‘कामै नगरी एगिन्द्रले ३ दिनको हाजिरा माग्दा हलेसी तुवाचुङवासी तीनछक’ शीर्षाकृत समाचार लेख्ने संवाददातासँग कुराकानी गरें । कुराकानीक्रममा सो समाचारसँग सम्बन्धित थुप्रै प्रमाण उहाँले पेस गर्नुभएको छ ।

एउटा समाचार बनाउन सबै–सबै अंग पुगेपछि तुवाचुङ डटकमले ‘कामै नगरी एगिन्द्रले ३ दिनको हाजिरा माग्दा हलेसी तुवाचुङवासी तीनछक’ शीर्षाकृत समाचार प्रकाशित गरेको हो । बाँकी रह्यो समाचारसँग सम्बन्धित प्रमाणको ।

तपाईंसँग सम्बन्धित प्रकाशित समाचारबारे हलेसी–रेग्मीटार ग्रामीण सडक निर्माण उपभोक्ता समिति अध्यक्ष लम्बर राईसँग गरिएको वार्ताको ‘भ्वाइस रेकर्ड’ संवाददाताले तुवाचुङ डटकमको इमेल आइडीमा आइतबार मेल गरिदिनुभएको छ ।

हलेसी–रेग्मीटार ग्रामीण सडक निर्माण उपभोक्ता समिति सचिव दीपेन्द्र बस्नेत र तपाईं एगिन्द्र राईबीच संवाददातासँग भएको टेलिफोन वार्तासमेत उहाँले इमेल गरिदिनुभएको छ भने बस्नेतजीले हाजिरासम्बन्धी कहीं, कतै बोलेको ‘भ्वाइस’समेत प्राप्त भएको छ ।

यसैगरी, कीर्ते गरेर बेच्न सफल जग्गाबारे तपाईंले काठमाडौंको चोभारडाँडामा रहेको वनभोजस्थल (पिकनिक स्पट)मा संवाददातालाई भन्नुभएको गोप्य अन्तरङ पनि संवाददाताले इमेल गरिदिनुभएको छ । त्यो वार्तालापमा तपाईंले भन्नुभएको छ, ‘मैले त्यो जग्गा १० लाखमा बेचें । जग्गाधनीलाई तीन लाख दिएँ । त्यहाँबाट ७ लाख कमाउन पाएँ । जेहोस्, मलाई फलानोले सहयोग गर्यो भन्नुभएको रहेछ ।’ जग्गा कीर्ते गरेर तपाईं आफैंले यसरी बेचें र यति कमाएँ भनेर बोलेपछि योभन्दा गतिलो दसी–प्रमाण अरू चाहिँदैन होला ।

कीर्ते गरेर जग्गा बेच्न कहाँ–कहाँ, के–के प्रपञ्च रचियो भनेर गरिएको खुराफात संवाददाताले रिपोर्टिङ गरिसकेका छन् । समाचार चाँडै प्रकाशित हुनेछ । कीर्ते गरेर जग्गा बेचेको थाहा पाएपछि रिसले चुर हुँदै जग्गाधनी भूपसेर राईले तपाईं (एगिन्द्र राई)लाई काट्छु भन्दै हलेसी पुग्नुभएको रहस्यसमेत खुलासा भएको छ । त्यतिमात्रै होइन, कीर्ते गरेर जग्गा बेचिएकोसम्बन्धमा जग्गाधनी भूपराज राई स्वयम्ले बोल्नुभएको ‘भ्वाइस’समेत संवाददाताले आइतबार नै इमेल गर्नुभएको छ ।

एगिन्द्रजी, अब तपाईं नै भन्नुहोस् तुवाचुङ डटकमले लेखेको समाचार कुनै कोणबाट गलत छ त ? सबै–सबै अंग पुगेपछि समाचार प्रकाशित भएकोमा द्विविधा रहेन ।

तपाईंले लेख्नुभएको पत्रको पुछारमा तीन बुँदामा लगाउनुभएको आरोपबारे तपाईं एगिन्द्र राई र संवाददातालाई मात्रै थाहा हुने भयो । तसर्थ, तपाईंले नामै किटेर ती आरोपबारे प्रस्ट्याउनुपर्नेछ । सांकेतिक रूपमा लगाइएको आरोपबारे हाम्रा पाठकवृन्दमा भ्रम नफैलाउन अनुरोध छ । त्यसपछि संवाददाताले लगाइएको आरोपबारे भ्रम चिर्नुहुनेछ । प्रस्टीकरण दिनुहुनेछ । गलत ठहरिए कारबाही भोग्न तयार हुनुहुनेछ ।

सम्पादक
तुवाचुङ डटकम

प्रतिक्रिया दिनुहोस्