बजार नपाउँदा खरबुजा किसानको बिल्लीबाँठ



दमक (झापा) । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गर्दै आएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयौं बिघामा उत्पादित खरबुजा बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिन थालेको छ ।

गौरीगञ्ज गाउँपालिका–१ रंगियाथानका किसानले कन्काईखोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिन थालेको किसान कैलाश राजवंशीले बताए । पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा लकडाउन हुँदा करिब १० लाख रुपैयाँबराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको राजवंशीको भनाइ छ । उनले भने, ‘खरबुजा खेती गर्न बैंकबाट चार लाख ऋण लिएकाले बिक्रीको समयमा लकडाउन हुँदा खरबुजा खोला–बगरमै कुहिने थालेको छ । लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस् परिवारको समेत बिल्लीबाँठ हुने अवस्था आएको उनले दुःखेसो छ । उनले लकडाउन अझै थपिए आफूहरूले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गरे ।

लामो समय वैदेशिक रोजगारीमा विदेशको श्रम गरेका राजवंशीले विदेशमा गरिने मिहिनेत आफ्नै देशमा गर्दा विदेशको भन्दा राम्रो कमाइ हुने आसले आयमूलक मौसमी खेती गर्दै आएका हुन् । दुई वर्षदेखि मौसमी खेती गर्दै आएका उनले लकडाउन थपिएपछि खरबुजा बारीका कुहिएर सखाप हुने अवस्था आउने बताउँछन् । पाकेर बारी लटरम्म हुँदा अब पनि बेच्न पाउने अवस्था नआए भोकै मर्नुपर्ने अवस्था आउने उनको गुनासो छ ।

राजवंशीजस्तै सोही स्थानका ३० भन्दा बढी युवाले खरबुजा र तरबुजाको व्यावसायिक खेती गर्दै आएका छन् । निकै राम्रो कमाइ हुने आसले घर छाडेर खेती गर्न उनी मोरङको जहदा गाउँपालिका–७ बाट गत कात्तिकमै कन्काई बगरमा आएका हुन् । उनीसँगै जहदाका ३० युवा मिलेर ठूलो परिमाणमा खरबुजा खेती गरिँदै आएको छ । खरबुजा बेच्ने समयमा कोरोना भाइरसका कारण लकडाउन भएपछि एकाएक निराश चौधरीले भने, ‘खरबुजा बिक्री नहुने सम्भावना बढेपछि मिहिनेत, परिश्रम र लगानी डुब्ला कि भन्ने त्रास बढेको छ ।’
प्रतिबिघा १० हजार भाडामा लिएर खेती गर्दै आएका किसान चौधरीले यसपटक खरबुजाबाट नाफा त परै जाओस् उल्टै १० लाख बढी घाटा हुने सम्भावना देखिएको बताउँछन् । कन्काई बगरमा ती युवाले रंगियाथानबाट हुलाकी सडक दक्षिणसम्म १०० बिघाभन्दा बढी जग्गामा खरबुजा र तरबुजा खेती गरेका छन् । सोही आसपासमै स्थानीय प्रकाश राजवंशी, जगन्नाथ राजवंशी, मनोज चौधरीलगायतले समेत खरबुजा र तरबुजा लगाएका छन् ।

उद्यमी प्रकाश राजवंशीका अनुसार भारतको विहारबाट मेघना, माधुरी, अगस्ता र आस्ता जातका खरबुजाको बीउ खरिद गरेर पुसमा बिरुवा रोपिएको हो । एक केजी बीउको नेपाली मूल्य ४० हजार पर्ने र एक केजी बीउबाट ४५ हजार बिरुवा निस्कने गरेको छ । बगरमा मात्र खेती हुने यस फलको बिक्री गर्ने समयमा लकडाउन हुँदा लाखौं नोक्सानी हुने उनको गुनासो छ ।

गर्मीमा खान उपयुक्त पानीको मात्रा बढी भएकाले स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुने खरबुजा पाकेपछि अन्य क्षेत्रबाट समेत बारीमै व्यापारीले खरिद गर्छन् । यहाँ उत्पादित खरबुजा स्थानीय बजारसहित पूर्वका इटहरी, नारायणगढ, गोलबजार, जनकपुर, काठमाडौंसम्म पैठारी गर्दै आएको उद्यमी राजवंशी बताउँछन् । मलपानी राम्रो पुगेमा एउटा खरबुजा २० केजीसम्मको हुने र होलसेलमा प्रतिकेजी २० सम्ममा बिक्री हँुदै आएको उनको भनाइ छ ।

विदेश त्यागेर स्वदेशमा श्रम गरिआएका मिहिनेती युवाहरूले गरेको यस्ता आयमूलक कृषिकर्मलाई प्रोत्साहन गर्नुपर्ने गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउँछन् । यहाँको खरबुजा स्थानीयस्तरमा खपतले मात्र नसकिने भएकाले अन्य क्षेत्रमा निर्यात गर्न सहयोग गर्न खाँचो रहेको वडाध्यक्ष राजवंशीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्