दाङ । जिल्लामा पछिल्लो समय स्थानीय जातको धान लोप हुँदै गएको छ । लमही, घोराही र तुलसीपुर क्षेत्रका किसानले पुरानो जातको धान सिम्ठारो, तिल्की, विन्देश्वरी, मसिनो झिनुवा, गोपाल र मार्सी लगाउने गरेका थिए । पछिल्लो समयमा सबै जातका धान जिल्लामा किसानले लगाउन छाडेका छन् ।
लमही–५ का रेशमबहादुर खड्काले पहिले रैथाने धानको खेती गर्ने गरे पनि हाल सो धानको खेती हराउँदै गएको बताए । खड्काले भने, ‘जिल्लामा सिम्ठारो, तिल्की, विन्देश्वरीलगायत रैथाने धानको खेती गर्र्न छाडेका छन् ।’ पछिल्लो समयमा जिल्लामा किसानले हाइब्रिड बीउ प्रयोग गर्ने बढेका छन् । धेरैजसो किसानको रोजाइ हाइब्रिड जातका धानै छ ।
धेरै उत्पादन हुने तथा कम सिँचाइ र हेरचाहबाट पनि धान उत्पादन हुने भएका कारण धेरैको रोजाइमा रैथानेभन्दा अन्य उन्नत र हाइब्रिड धानको खोतीतर्फ किसान आकर्षित हुने गरेको स्थानीय कृष्ण गिरीले बताए । ‘रैथाने धान हाइब्रिड र उन्नतभन्दा अलि कम उत्पादन हुन्छ,’ उनले थपे, ‘यसलाई धेरै मिहिनेत चाहिन्छ । त्यसैले गर्दा पनि रैथाने धान लगाउन किसान चाहँदैनन् ।’
कृषि प्राविधिक माधव केसीले पुरानो जातको पुस्ता शुद्धीकरण नगर्नु र राज्यले स्थानीय जातको पुरानो धान उत्पादन बढाउन ध्यान नदिनुले लोप हुन पुगेको बताए । केसीको भनाइ छ, ‘यसलाई बढावा दिन सचेतना, प्रचार प्रसार, तालिम र मौलिकतालाई ध्यान दिनुपर्छ ।’
पछिल्लो समय किसानले युएस ३१२, युएस ३०५, भिएनआर २२२३, २२४५ र उपजलगायत हाइब्रिड जातका धान बजारबाट खरिद गरी लगाउने गरेका छन् । रैथाने धान उत्पादन प्रवद्र्धन गर्न कृषि ज्ञानकेन्द्रले किसानलाई अनुदानसमेत दिने गरेको छ । जिल्लामा आवश्यक मूल्य तिरेर पनि रैथाने धान पाउन सकिएको छैन ।
कृषि ज्ञानकेन्द्र दाङका कृषि प्रसार अधिकृत भरत पोख्रेलका अनुसार रैथाने धान प्रवद्र्धन गर्न अनुदानसमेत दिने गरिएको छ । ‘पुरानो जातको धानको प्रवद्र्धन हुन नसक्नुमा सबैभन्दा समस्या उत्पादन कम हुनु नै हो,’ उनले प्रस्ट पारे, ‘यसमा स्वयम् किसान जागरुक हुनु आवश्यक छ ।’
जिल्लामा ७० प्रतिशतजति हाइब्रिड धानको खेती हुने गरेको छ । अन्यले उन्नत र केही कृषकले भने आफूहरूले खानका लागि रैथाने धान लगाउने गरेका छन् । जिल्लामा ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गरेको छ । बजारमा भने स्थानीय जातको धानको चामलको माग बढ्दो छ । बजारमा विभिन्न अन्य जातका धानको चामल सहज रूपमा पाउने गरे पनि स्थानीय जातको धानको चामल भने अभाव छ । ‘बजारमा तिल्की, सावा, मन्सुलीलगायत स्थानीय धानको मसिना चामलको माग धेरै छ,’ व्यवसायी निर्मल शर्माले भने, ‘खेती नै हुँदैन, कहाँ पाउनू ?’