राजनीतिमार्फत गरिने सेवा सन्तुष्टिको सङ्लो मुहान



‘प्रत्येक नेपाली आत्मनिर्भर बन्न पाए कति जाती हुन्थ्यो,’ किरात राई विद्यार्थी संघ महासचिव निराजन किरातीको मान्यता छ, ‘कसैले पनि शिक्षा, स्वास्थ्य र भूमिबाट वञ्चित हुन नपरोस् ।’

रोजगारीका लागि विदेश जान नपरे झन् जाती हुन्थ्यो । नौ वर्ष राजनीतिमा बिताएर निजी जीवनतिर फर्केका किरातीले पुनः राजनीतिमा सक्रिय हुने विचार गरेका छन् । राजनीतिमार्फत गरिने सेवा आत्मसन्तुष्टिको सङ्लो मुहान हो भन्ने निराजन किरातीसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

ढिँडो र ‘पोर्क’

सबै खानेकुरा उत्तिकै स्वाद मानी–मानी खाए पनि ढिँडो र सुँगुरको मासु असाध्यै मीठो लाग्छ । धेरै खाएर होला आलु मनै पर्दैन । खानकै लागि आजसम्म परिवारसहित होटल तथा रेस्टुरेन्ट पुगेको छैन । कहिलेकाहीं रहर हुन्छ तर मीठो बनाउने ढंग नहुँदा बिहेपछि किचेन पस्ने अनुमति छैन ।

रातो प्यारो

सम्भव भएसम्म लचिलो कपडा रोजाइमा पर्छन् । रातो रङको कपडा असाध्यै मन पर्छ । जसलाई अधिकारनिम्ति लडेका सहिदको प्रतिकारात्मक साहस र चिनोका रूपमा मस्तिष्कले लिइहाल्छ ।

बेलुका कम

भर्खरै जिम भर्ना भएको छु । डाइटिङ गर्दिनँ । बेलुकी थोरै खान थालेको छु ।

दर्शनमै दिलचस्पी

नेपाली कम्युनिस्ट आन्दोलनमा कलममार्फत विचारको जग बसाउनेमध्ये एक पारिजात (विष्णकुमारी वाइवा) को सबै पुस्तक पढ्ने संकल्प गरेको छु । उनले लेखेका सबै पुस्तक किनेको छु । ६ वटा उपन्यास पढिसकें । हिजोआज ‘अनिदो पहाडसँगै’ उपन्यास पढ्दै छु । गरिबी, संघर्ष, इमान, अस्तित्ववाद, भौतिकवाद र विद्रोह उनको प्रत्येक उपन्यासको विशेषता रहेको छ, जसले क्रान्तिकारी विचार बचाउन मद्दत गर्दोरहेछ । दर्शनसम्बन्धी पुस्तक पढ्न त्यत्तिकै जाँगर चल्छ । २०८२ मै ‘हिमाली दर्शन’ र ‘ताओ अफ फिजिक्स’ पुस्तक पढें ।

पारिजात, उपेन्द्र सुब्बा, राजन मुकारुङ र मनु मन्जिलका लेखनशैली मन पर्र्छ । विलियम वर्डसवर्थ, म्याक्सिम गोर्की झन् धेरै मन पर्छन् । पुस्तकालयनिमित्त एउटा छुट्टै दराज जोहो गरेको छु । दराजभरि पुस्तक छन् । पैसा हुँदा पढ्नैपर्ने लागेको पुस्तक किनिहाल्छु ।

केन्या घुम्ने रहर

घुमफिर गर्ने रहर भए परिस्थिति मिलेको छैन । घुमफिरले भौगोलिक अवस्थिति, समुदाय, चालचलन र संस्कृतिको गहिरो अध्ययनमा सघाउ पुर्याउँछ ।

विभिन्न संघ, संस्थामा रहँदा ३५/४० जिल्ला पुगेको छु । जीवनमा एकपटक केन्या घुम्ने रहर छ । केन्या ‘जु अफ दी वल्र्ड’मा पर्छ । प्राकृतिक हिसाब र जीवजन्तु, जनावरको प्रत्यक्ष अवलोकन गर्ने उत्कृष्ट देश केन्या हो ।

टुंगो छैन

समयलाई सापेक्षित व्यवस्थापन गर्दै आएको छु । राजनीतिमा नौ वर्ष बिताएँ । हिजोआज निजी जीवनतिर फर्केको छु । बिस्तारै पुनः राजनीतिमा फर्किन्छु कि । तर, टुंगो छैन । परिवारलाई भनेजति समय दिन कहिल्यै सकिनँ ।

तीन वर्ष भयो परिवारसँग घुमघाम नगरेको । खानकै लागि परिवारसँग आजसम्म होटल तथा रेस्टुरेन्ट पुगेको छैन ।

अर्जेन्टिना आहा !

सबै खेल उस्तै लागे पनि फुटबल अलि धेरै मन पर्छ । म अर्जेन्टिनी फुटबल टिमको प्रशंसक र पक्षधर हुँ भने क्लबचाहिँ बार्सिलोना मन पर्छ ।

६७ हजारको सेट

‘आइफोन १६ इ’ मोबाइल सेट प्रयोग गर्दै आएको छु । यो सेकेन्ड ह्यान्ड सेट हो । यसको ६७ हजार पर्यो । काम लागुन्जेल मोबाइल सेट प्रयोग गर्ने बानी छ । आधारभूत आवश्यकताका आधारमा मोबाइलका एप्लिकेसन प्रयोग गर्छु ।

गरेकै छैन

मृगौलामा पत्थरी बोकिहिँडेको छु । त्यसबाहेक स्वास्थ्यमा ठीकठाक छ । आजसम्म होलबडी चेकअप गरेकै छैन ।

मूल्यांकन गर्न कठिन

आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्न कठिन हुन्छ । यसलाई सापेक्षित रूपमा हेर्नु पर्छ होला । परिस्थितिअनुसार आक्रामक र बौद्धिक भाषणको पक्षपाती हुँ । भाषण गरेकै आधारमा आजसम्म विवादमा परेको छैन । भाषण गर्नअघि ‘कन्सेप्चुअल फ्रेमवर्क’सम्म तयारी गर्छु ।

तिहारमा मात्रै

चाडबाडमा मादक पदार्थ लिने गरेको छु । विशेषतः तिहारमा छोरीचेलीले दिएको सगुन लिन्छु ।

बाथरुम थर्कनेगरी गीत

गीत–संगीत असाध्यै मन पर्छ । त्यसैले सुन्छु । फत्तेमान राजभण्डारी, तारादेवीको आवाज कर्णप्रिय लाग्छ । राजभण्डारीका गीत गुनगुनाउने गर्छु । गीत गाउन आउँदैन तर गुनगुनाउन छाड्दिनँ । कहिलेकाहीं आफ्नै तालमा बाथरुम थर्कनेगरी गीत गाउँदा आनन्द लाग्छ ।

आपाकोमै ओत

आफ्नै पौरखले घर बनाएको छैन । बनाइन्छजस्तो लाग्दैन पनि । गाउँ पुग्दा आपाआमाकै घरमा बसिन्छ । घर पुरानो शैलीको छ ।

अहिलेसम्म अहँ

मेरो राशी वृश्चिक हो । ग्रहदशामा विश्वास गर्दिनँ । अहिलेसम्म मबाट ग्रहशान्ति गराउने काम भएको छैन ।

सन्तुष्टिको मुहान

म निर्णायक ठाउँमा छैन । तर, न्यूनतम आत्मनिर्भर नागरिक, शिक्षा, स्वास्थ्य र जमिनको हिसाबले पीर खेप्न नपर्ने मुलुक बनाउन पाए हुन्थ्यो भन्ने लोभ छ । रोजगारीका लागि विदेश जान नपरे कति जाती हुन्थ्यो । आफूलाई राजनीतिको कुनै भूमिकाभन्दा जनताको समपर्णमा बिलाइजान मन लाग्छ । म राजनीतिमा आउनुको मुख्य कारण सेवाभावै हो । जनतालाई सहयोग गर्दा किनेर नपाइने खुसी मिल्छ । राजनीतिमार्फत गरिने सेवा आत्मसन्तुष्टिको मुहान हो ।

प्राकृतिकको पक्षपाती

मृत्यु अनिवार्य छ । मानिसमात्रै होइन, १३ अर्ब वर्षपछि पृथ्वीको समेत मृत्यु हुने घोषणा गरिएको छ । मृत्यु शाश्वत सत्य हो । यसलाई स्वाभाविक मान्नुपर्छ । अनौठो नभएकाले मृत्युदेखि डर लाग्दैन ।
धेरैपटक मृत्युको नजिक–नजिक पुगेको थिएँ । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको रामकुली र गणेशटारबीचको खोलालाई गाई डुङ्खा खोला भनिन्छ । म आठ/नौ वर्षको थिएँ । वैशाखको समय । पानी बेस्सरी पर्यो । साथीहरूसँग पानीमा भिज्दै समय कटाउँदै थियौं । यत्तिकैमा रामकुलीबाट गणेशटार तर्न दाइहरू र उमेरले जेठो भतिजोहरू बाढी आएको खोला तरे । म पनि उनीहरूलाई देखेर खोला तर्न खोज्दा बाढीले बगाउँदै लग्यो । एकछिन त केही थाहा पाइनँ । केही समयपछि बाढीले पानी फिजिएर गहिरो नभएको ठाउँमा फालिदिएकाले बाँचें ।

१२/१३ वर्षको हुँदो हुँ । बाख्रा गोठालो गएको थिएँ । साथमा काका र दाइहरू थिए । म लुङपाखा भेगमा थिएँ । काका र दाइहरू धमिलेटारमा । काकाहरूले बाख्रा छाड्दे भनेको हुनुपर्छ । म भने रुँदैरुँदै बाख्रा पछ्याउन छाडिनँ । एक्कासि अग्लो न अग्लो भीरको टुप्पोमा पुगेर चिप्लिएँ । संयोगवश सालिमो घाँसको बुच्का (फेद) समातेर ज्यान जोगियो ।
मृत्यु प्राकृतिक र सहज होस् भन्ने लोभ पालेको छु ।

प्रतिक्रिया दिनुहोस्