झापा । कोरोना महामारीले बन्दाबन्दी सुरु भएको बेला झापाली युवा नेता मनोज ताम्ली ड्रागन फ्रुटको बिरुवा रोप्दै थिए । सरकारी जागिरबाट निवृत्त आफ्ना बुवा रमेश ताम्लीले प्रोत्साहित गरेपछि ताम्लीले ड्रागन फ्रुट खेतीबारे युट्युबबाटै खेती र प्रविधिको प्रशस्त जानकारी लिए । बन्दाबन्दीमा हात बाँधेर बस्नुभन्दा नयाँ पौरख गरौं भन्ने हुटहुटीले उनी त्यसको खेती गर्ने आफ्नो गाउँको पहिलो किसान भए । रोपेको वर्ष दिनपछि उनको त्यही नौलो खेती आयआर्जनको माध्यमसँगै स्थानीय पर्यटकीय आकर्षणको थलो बन्न पुगेको छ ।
विद्यार्थी नेता ताम्ली अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य हुन् । उनले झापा गाउँपालिका–६ मा सञ्चालित समृद्धि एकीकृत कृषि तथा पशुपक्षी फार्ममा दुई कठ्ठा जग्गामा ड्रागन फ्रुटको खेती गरेका छन् । दक्षिण झापाको दुर्गम गाउँमा गरिएको यो खेती स्थानीयका लागि अनौठो बनेको हुँदा हेर्ने र फल चाख्नेको दिनहुँ घुइँचो लाग्ने गरेको छ । सञ्चालक ताम्लीका अनुसार एकैचोटि भीड प्रवेश नगरोस् भनेर घुम्न र हेर्न आउनेलाई पालो मिलाइने गरिएको छ ।
‘बन्दाबन्दीको बेला खेती सुरु गरिहालियो, के कसो होला भन्ने मनमा डर थियो,’ उनले भने, ‘अहिले फल पाक्न थालेपछि किनेर चाख्ने र हेर्ने मानिसको घुइँचो देख्दा आनन्द लाग्छ । अलि धेरै जग्गामा खेती गरेको भए पनि हुने रहेछजस्तो लाग्छ ।’ पाकेका सबै फल स्थानीयले नै किनेर लगिरहेका छन् । बजार खोज्न कतै जानु नपरेको उनले बताए ।
आफ्नै जग्गा भएकाले उनलाई खेतीका लागि धेरै लगानी चाहिएन । मात्र ५ लाखमा खेती सुरु गरेको बताउने उनले यस वर्ष थप दुई कठ्ठामा खेती विस्तार गरिसकेको जानकारी दिए । खेतीमा उनी आफैं र परिवारका सदस्य खटिने गरेका छन् । कामदार पनि बाहिरबाट राख्नुपरेको छैन ।
स्थानीय पत्रकार केशव चापागाईंले युट्युब र टेलिभिजनमा मात्र देख्ने गरेको ड्रागन फ्रुट गाउँमै चाख्न पाइएकोमा खुसी व्यक्त गरे । ‘कसरी फल्छ होला, स्वाद कस्तो होला भन्ने लाग्थ्यो,’ उनले भने, ‘अहिले गाउँका अधिकांश मानिस हेर्न र चाख्न आउँदा सञ्चालकलाई बजारको अभाव भएन ।’ राजनीतिमा लागेका युवा कृषि उद्यममार्फत आयआर्जनतर्फ आकर्षित हुनु उदाहरणीय भएको उनको भनाइ छ ।
यो फल स्वाद र पोषक तत्वका दृष्टिले फलको राजै मानिन्छ । यसअघि ठूला होटल र घरानाको भान्सामा मात्र ड्रागन फ्रुट पुग्थ्यो । अब ग्रामीण सर्वसाधारण यसको पारखी बनेका छन् । अरूभन्दा यो फल दामका हिसाबले महँगो छ । प्रतिकेजी ८०० मा फार्मबाटै बिक्री भइरहेको सञ्चालक ताम्लीले सुनाए । उनको पौरख देखेर अन्य युवाले कसैले कृषि र कसैले अन्य व्यवसायमा हात बढाउन थालेका छन् ।
जोखिम मोलेर सुरु गरेको खेतीले वर्ष दिनमै आम्दानी दिन थालेपछि सञ्चालक ताम्लीमा हौसला बढेको छ । अब व्यावसायिक रूपमा खेती विस्तार गर्ने सोच बनाएको उनले बताए । ‘नयाँ फल भएकाले यसको स्वाद चाख्न भन्दै स्थानीयले नै सबै खरिद गरेर लैजान्छन्,’ उनले भने, ‘टाढाबाट आउने व्यापारीलाई दिन नसकेर रित्तो हात फर्काउनुपरेको छ ।’
सिउँडीकै एक प्रजाति ड्रागन पु्रmटको लहरा सिमेन्टको पिलरमा लहरिने र झुन्डिएर फल्ने गर्छ । उनले ड्रागन फ्रुट खेतीबारेमा प्राविधिक ज्ञान अहिले पनि युट्युब हेरेरै लिइरहेको बताए । रोपेको एक वर्षमै फल फल्न थालेपछि परिवारमा खुसी छाएको ताम्ली बताउँछन् । ‘यति छिटो फल दिन्छजस्तो लागेको थिएन । रोपेको एक वर्षमै फल्यो,’ उनले खुसी व्यक्त गरे ।
झापामा यसको खेतीप्रति पछिल्लो समय आकर्षण बढेको पाइएको छ । मेचीनगर–१० स्थित नागरडुब्बामा १५ कठ्ठा जग्गामा भावना अधिकारीले पाराडाइस एग्रो फार्म स्थापना गरेर ड्रागन फ्रुटको खेती सुरु गरेकी छन् । भारतको हैदरवादबाट हाइब्रिड जातको बिरुवा ल्याएर अधिकारीले खेती थालेकी हुन् । ड्रागन फ्रुटका लागि सिमेन्टको पिलर बनाउँदा र बिरुवा लगाउँदासम्म ३० लाख खर्च भइसकेको उनले सुनाइन् । उन्नत जातको ड्रागन फ्रुटको बिरुवा लगाएको आठ महिनादेखि फल लाग्न सुरु हुन्छ । जेठदेखि फल लाग्न सुरु हुने र कात्तिकसम्म फल्ने गर्छ । सो फार्ममा १० जनाले रोजगारी पाइरहेका छन् ।
झापाको अर्जुनधारा, मेचीनगर, बिर्तामोड, गौरादह र बुद्धशान्तिका विभिन्न भागमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु भएको छ । काठमाडौंको गोल्यान एग्रोले झापा–७ मा व्यावसायिक रूपमा अढाई बिघा जमिनमा ड्रागन फ्रुट खेती सुरु गरेको छ ।
मेचीनगर–९ खुट्टीडाँगीका डिल्ली उप्रेती र अर्जुनधारा–९ का दीनानाथ सिवाकोटीले ड्रागन फ्रुटको नर्सरी सुरु गरेका छन् । डी एन्ड डी बायो प्लानटेक फार्म सञ्चालन गरिरहेका उप्रेतीले इलाम, मोरङ, खोटाङलगायतबाट बिरुवा किन्न किसान आउने गरेको बताए ।
यसैगरी, अर्जुनधाराका सिवाकोटीको नर्सरीबाट बिरुवा ल्याएर बिर्तामोड–९ गरामनीका मोहन उप्रेती र जेपी पाण्डेले ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् ।
सिउँडी प्रजातिको यो फल रोपेको वर्ष दिनदेखि निरन्तर २५ वर्षसम्म फलिरहने कृषि ज्ञान केन्द्रका प्राविधिक शालिकराम भट्टराईले बताए । भट्टराईले जिल्लाका विभिन्न स्थानमा घरको कौसीदेखि व्यावसायिक रूपमा यसको खेती गर्ने बढिरहेको बताए ।
ड्रागन फ्रुट उष्ण मनसुनी हावापानी भएको माटोमा फस्टाउने र अन्य बालीको तुलनामा खेती गर्न पनि सजिलो हुने उनको भनाइ छ । एउटा सिमेन्टको पिलरमा चारवटा बिरुवा रोपिने हुँदा प्रत्येक वर्ष २० देखि ३० केजीसम्म फल दिन सक्ने उनले जानकारी गराए ।