सात प्लेट मःमः खाँदा अस्पताल भर्ना



अलिकति पत्रकार । अलिकति साहित्यकार । अलिकति लेखक । अलिकति जागिरे । उल्लिखित भूमिकामा टुक्रिएर बाँच्नु उनको सक्कली परिचय । हलेसी महादेवस्थान विकास समिति, हलेसीमा कार्यरत उनी समाचारको खेतीमात्रै गर्दैनन्, साहित्य पनि लेख्छन् । पाठ्यक्रमको पाठ्यपुस्तकबाहेकका पुस्तक किनीकिनी पढ्न जाँगर चलाउने पत्रकार असल चरित्रसँग तुवाचुङ डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

आफ्नो हात जगन्नाथ

सबै खानेकुरा मीठो मानेर खान्छु । तर, सुँगुरको मासु र चामलको भात असाध्यै मीठो लाग्छ । आफूलाई मन पर्ने खानेकुरा खान होटल तथा रेष्टुरेन्ट बाक्लै पुग्छु । पुगिहाल्दा फलफूल र सलाद माग्न बिर्सन्न । आफैंले पकाएको परिकार स्वादिलो लाग्ने भएकाले भान्सामा पस्न जाँगर चल्छ ।

सालिन्दा १५ हजार

साधारणतः जिन्स पाइन्ट र टी–सर्ट लगाउँछु । परिस्थिति अनुसार कपडाको पाइन्ट, सर्ट र कोट पनि लगाउँछु । वार्षिक १२ देखि १५ हजार रुपैयाँसम्म कपडामा खर्च गर्छु । धेरैजसो नीलो, सेतो र हरियो रङका कपडा रोजाइमा पर्छन् । प्रायः रेडिमेड कपडै किन्छु । सिलाउन परे काठमाडौंको चाबहिलमा रहेको सुविन्द्र गिरीज्यूको हलेसी टेलर्स पुग्छु । एउटै तर ब्रान्डेड कपडा लगाउनुपर्छ भन्ने मान्यता राख्छु । जोर्डन, नाइकी, जारा र एलभिडी ब्रान्ड खुबै मन पर्छ ।

ननफिक्सनमा जाँगर

हिजोआज सौरभको असहमति (सिरिज बुक १, २, ३, ४, ५ अध्ययन गर्दै छु । एकताका फिक्सन धेरै पढें । आजकाल ननफिक्सन पढ्न जाँगर चल्छ । नयनराज पाण्डे, कृष्ण धरावासी र हर्मन हेस्से (साहित्यकार, जर्मनी) र पाउलो कोएलो (ब्राजिल)को लेखनशैली मन पर्छ ।

पछिल्लो समय हाम्रो कथाघर डिजिटल साहित्यिक पत्रिकाका लागि कविता र समालोचना लेखिरहेछु । मेरो निजी पुस्तकालयमा १ हजार ५०० पुस्तक होलान् । पुस्तक किन्न सालिन्दा वार्षिक ५ हजार छुट्याउने गरेको छु ।

पोखरा–प्रेम

घुमफिरमा असाध्यै रुचि छ । विभिन्न शीर्षकमा २०/२२ जिल्ला पुगेको छु । तर, घुमफिरकै लागि मात्रै होइन । घुमेकामध्ये पोखरा सुन्दर लाग्यो । मनाङ, मुस्ताङ र अप्पर डोल्पा पुग्ने असाध्यै इच्छा छ ।

बिरामी हुँदासमेत काम

सातामा दुई दिन अलिकति फुर्सद हुन्छ । कामबाट थाक्दा आराम लिने गर्छु । तर, कतिपय अवस्थामा बिरामी हुँदासमेत काममा जानुपर्ने बाध्यता हुन्छ । सरसफाइ, अध्ययन र विभिन्न व्यक्तिको अन्तर्वार्ता सुनेर÷हेरेर फुर्सदको समय सदुपयोग गर्छु ।

भलिबल भव्य

मलाई भलिबल खेल्न मन पर्छ । नियम नबुझेर होला क्रिकेट हेर्दिनँ । हिजोआज पनि यदाकदा भलिबल खेल्छु । नेपालीमा त्रिभुवन आर्मी र विदेशीमा बर्सिलोनाको सपोर्टर हुँ ।

साढे ८ वर्ष एउटै

६ महिनाअघि इन्फिनिक्स हट आई–५० किनेको हुँ । यसको १३ हजार ५०० परेको थियो । साढे आठ वर्ष एउटै मोबाइल चलाएँ । आफूलाई आवश्यक मोबाइलका एप्लिकेसन प्रयोग गर्छु ।

टीभी छैन

मेरो घरमा टीभी छैन । मोबाइलमै समाचार र टक शो हेर्छु/सुन्छु । पछिल्लो समय चलचित्र ‘ऊनको स्वेटर’ र ‘सेभेन इयर्स इन टिबेट’ हेरेको थिएँ । हेरेकामध्ये ‘जारी’, ‘ग्याङ्स अफ वास्सेपपुर’ र ‘इन्सेप्सन’ मन पर्यो । विपिन कार्की, लिओनार्दो डिकार्पिओ र केएन्यु रिभ्सको अभिनय जीवन्त लाग्छ ।

सकारात्मक सोच औषधी

ज्यानलाई सन्चै छ । सानातिना स्वास्थ्य समस्या जोकोहीलाई हुन्छ । त्यसलाई सामान्य ठान्छु । सकारात्मक सोच, साहस र आत्मविश्वास भए जस्तोसुकै रोग परास्त गर्न सकिन्छ । अहिलेसम्म होलबडी चेकअप गरेको छैन ।

बौद्धिक भए बेस

म राजनीतिक व्यक्ति होइन । तसर्थ, भाषण गरिरहन पर्दैन । कहिलेकाहीं भाषण गर्दा थेगो प्रयोग गरेको सम्झना छैन । सकेसम्म भाषण बौद्धिक बनाउने प्रयत्न गर्दा बेस । भाषण गर्नुअघि तयारी नगरे नि विषयवस्तु बुझे पुग्छ ।

विदेशी नि बिताइन्छ

मापसे गर्छु । तर, मातै लाग्ने गरी होइन । गाउँघरकै लोकल पिउँछु । साथीभाइले विदेशबाट ल्याइदिँदा त्यो पनि बिताइन्छ । सातामा दुईपटकसम्म पिउने बानी छ ।

बाथरुममै गुनगुन

गीत–संगीत सुन्छु । मधु क्षेत्री, नारायण गोपाल, अन्जु पन्त र सेलिन दिओनका आवाज कर्णप्रिय लाग्छ । नआए पनि मधु क्षेत्रीको ‘फूलै फूलमात्र पनि होइन रहेछ जीवन’ गीत गुनगुनाउँछु । धेरैजसो बाथरुममै गुनगुनाउने आदत बसेको छ ।

चकचक गर्दा चाभुक

जान–अन्जानमा थुप्रै भूल गरेको हुँला । तर, जानाजान गरेको छैन । भूल गरे पनि अहिलेसम्म सजाय पाएको छैन । सानोमा चकचके भएर सथीसँग झगडा गर्दा काँचो तीतेपातीको डाँठ भाँचुन्जेल पिटाइ खाएको हिजैजस्तो लाग्छ । कहिलेकाहीं भूल नगरीकनै सजाय पाएको छु । साथीले गरेको भूलका कारण प्रेमिका टाढिएपछि आजसम्मै दुःखी छु ।

धेर–थोर विश्वास

मेरो राशी कन्या हो । अहिलेसम्म ग्रहदशा हेराएको छैन । ग्रहशान्तिसमेत गराएको छैन । गर्ने मन छ । हातमा औंठी लगाउँछु । औंठीमा बुद्ध दर्शनमा आधारित पत्थर लगाएको हुँ। भौतिकवादी भए पनि ग्रह र नक्षत्रको फलप्रति धेर–थोर विश्वास लाग्छ ।

बुझ्न नसक्दा बर्बाद

अलि सानैमा पहिलो प्रेम पर्यो । अपरिपक्व उमेरमा दुवैले प्रेमको परिभाषा बुझ्न नसक्दा छुटिहाल्यो । कहिलेकाहीं आफैंवरिपरि देख्दा अतीत सम्झाउँछ । कसैलाई एकतर्फी प्रेमसमेत गरें । उनी विदेशमा छिन् ।

मःमःले झन्डै

मृत्यु जीवनको अन्तिम सत्य हो । स्वाभाविक प्रक्रिया भएकाले मृत्युदेखि डर लाग्दैन । बिरामी परेर टिचिङ हस्पिटल भर्ना भएँ । नुन नखाई सात दिन बिताएँ । हस्पिटलबाट डिस्चार्ज भएपछि मःमःको तिर्सना लाग्यो । एकै बसाइमा सात प्लेट मःमः खाएपछि राति दिसा रोकियो । पेट अचाक्ली दुखेपछि राति नै पाटन हस्पिटलको एमर्जेन्सी वार्डमा भर्ना भएँ । त्यतिबेला बाँच्छुजस्तो लागेको थिएन ।
जन्मेपछि मर्नैपर्छ । मृत्यु सरल र स्वाभाविक होस् ।

प्रतिक्रिया दिनुहोस्