खसी होइन फर्सी



दसैंमा जखमले खसी खाने महँगो शुभकामना दिने चलन छ । बुझेर हो कि नबुझेर, फर्सी खाने शुभकामनाचाहिँ कसैले दिँदैनन् । सबैभन्दा खेद यसमै रहेछ । किनभने खसीभन्दा फर्सीको चोक्टामा धेरै तागत छ । खसीभन्दा फर्सीको झोल पोसिलो छ । थोत्रो धारणामात्रै रहेछ, ‘छोरा पाए खसी, छोरी पाए फर्सी ।’

खाद्य वैज्ञानिक नारायण घिमिरेका शब्दमा, फर्सी प्रकृतिको वरदान हो । छोराछोरीको विभेदबीच पनि त्यतिखेरका चेलीबेटी भाग्यमानी रहेछन् । तिनले हेलादृष्टिले हेरिएको तर उत्कृष्ट खुराक पाएकाले आजका सन्तति तन्दुरुस्त हुन पाएका छन् । अब त त्यही तागतिलो झोल खान पनि विशेष अवसर कुर्नुपर्ने अवस्था आइसक्यो ।

फर्सी लहरोमा फल्ने गज्जबको तरकारी हो । यसका मुन्टा, पात, फूल, फल र बियाँ सबै उपयोगी छन् । तिनले मानव शरीरलाई स्वस्थ राख्न सघाउँछन् । खनिज र भिटामिन (ए, सी, ई, बी कम्प्लेक्स) टनाटन हुन्छन् । एक सय ग्राम फर्सीमा २६ क्यालोरी हुन्छ । क्यालोरी थोरै भए पनि डाइटेरी फाइबर अत्यधिक हुनु यसको विशेषता हो । क्यान्सर, मोटोपना, मुटुरोग, मधुमेह आदि रोग लाग्न नदिन साधारणतया दैनिक २०/३० ग्राम फाइबर चाहिन्छ । फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन । तौल पनि नियन्त्रण हुन्छ ।

आइन्दा फाइदाकारी फर्सीलाई नहेपौं । देखाउने खसी, खुवाउने फर्सी’, ‘भ्याए खसी, नभ्याए फर्सी’, ‘खसी दिएर, फर्सी साट्ने’, खसी देखाए, फर्सी खुवाए’ जस्ता अफवाह नफैलाऔं । खुसीमा खसी छाडेर फर्सी खाए पनि केही फरक पर्दैन ।

(नेपाल साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस्