प्रेमको तिर्खा मेट्ने ठाउँ सुनसान



हरिया बगैंचा, रुखका बुट्यान, हावामा बयेली खेलिरहेका फूल, भुर्र–भुर्र उडिरहेका चरा अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरू देखिने लभ्लीहिल (प्रणयशिखर) हिजोआज सुनसान छ ।

आसपासमा देखिने हिमशृंखला, चौफेरै देखिने हरियाली र आकर्षक भू–बनोटलगायत मनमोहक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतीतको कल्पनामा डुबुल्की मार्न दैनिक सयौंको संख्यामा यहाँ आउने प्रेमजोडीहरू पछिल्लो समय देखिन छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका डरले प्रेमजोडी आउन छाडेपछि लभ्लीहिल अहिले सुनसान देखिएको हो ।

बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरानजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङवाक’, ‘इभिनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तिर्खा मेट्न आउने थुप्रै तन्नेरी पछिल्लो समय कोरोना संक्रमणका डरले यहाँ आउनै छोडेका छन् । लकडाउन र निषेधाज्ञ हुनुपूर्वको समयमा दैनिक सयौंको संख्यामा भीडभाड हुने यो ठाउँ अहिले सुनसान देखिएको छ । पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि पहिले लकडाउन र पछि निषेधाज्ञले यसलाई ओझेलमा पारेको छ ।

आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको लभ्लीहिल विशेषगरी युवकयुवतीका लागि ‘डेटिङ स्पोट’का रूपमा विकसित भएको छ । विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ । बेनीबजारसँगै जोडिएको खबरानजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामकरण गरिएको छ । खबराका स्थानीय चन्द्रबहादुर कार्कीले पहिले दैनिक सयौं मानिस घुम्न आउने गरेको भए पनि हिजोआज आउन छाडेको बताए । निषेधाज्ञले गर्दा पर्यटकीय क्षेत्रको भ्रमण तथा कृषिजन्य उत्पादनसमेत बजारीकरणमा समस्या आएको कार्कीको भनाइ छ ।

लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ । यसैगरी, म्याग्दीको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ । बेनीबजारआसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्यको अवलोकन गर्न सकिने सदरमुकामनजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचार–प्रसार भएमा आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको छ ।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायी बताउँछन् । लभ्लीहिलमा रेष्टुरेन्ट, भ्युटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धा रमाउने स्थलका रूपमा स्थापित गर्न सकेमा यहाँको पर्यटन व्यवसायसमेत फस्टाउने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

यस क्षेत्रमा खान, बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्