समुद्री सतहबाट १,०३० मिटर उचाइमा अवस्थित पृथ्वी राजमार्गबाट आठ किलोमिटर दूरीमा रहेको तनहँु जिल्लाको बन्दीपुर बजार नेवारी संस्कृति झल्कने काष्ठकला, मूर्तिकला, वास्तुकला र मन्दिर भएको पुरानो बजार हो । १९औं शताब्दीमा बन्दीपुर चीन–नेपाल–भारतबीच व्यापार गर्ने थलोका रूपमा विकसित भएको थियो । तर, सन् १९७० को दशकमा बन्दीपुर बजारभन्दा आठ किलोमिटर तलबाट पृथ्वी राजमार्ग निर्माणपछि सदरमुकाम दमौलीमा स्थानान्तरण भयो ।
त्यसपछि बन्दीपुर डाँडाको टुप्पामा एक्लिएको ठाउँका रूपमा परिवर्तित हुन पुग्यो । स्थानीयले सदरमुकामलाई सोही ठाउँमा राख्न गरेको आन्दोलन र प्रयास असफल भएपछि त्यहाँका व्यापारी पोखरा, दमौली वा काठमाडौंतिर व्यापार व्यवसाय गर्ने उद्देश्य बोकी पलायन भए । बन्दीपुर एकप्रकारले मृत बजारजस्तो सुनसान हुन थाल्यो ।
सन् १९९० को दशकमा भने युरोपियन कमिसनको सहयोग तथा स्थानीयको सक्रियतामा बन्दीपुरलाई पुनःनिर्माण गर्ने र यसको मौलिक विशेषता, प्राकृतिक सौन्दर्य समायोजन गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पहल थालियो । जसको परिणामस्वरूप हाल बन्दीपुरले पुनः आफ्नै पुरानो वैभव फर्काउन सफल भएको छ ।
बन्दीपुर बजारभित्र यातायात प्रवेशलाई पूर्ण रूपमा रोक लगाइएको छ । पुराना घर पुरानै शैलीमा पुनःनिर्माण गरिएका छन् । रंगरोगन गरिएका छन् । प्रत्येक घरमा पर्यटकीय सेवा, सुविधायुक्त कोठा बनाइएको छ । खाने, बस्ने रेष्टुरेन्ट, होटल र लज खोलिएका छन् । डबलीलाई ढुंगा बिछ्याएर सफा बनाइएको छ । घरको आँगनमा सजाइएका टेबुल, कुर्सीमा पर्यटकले मन परेका परिकार खाने व्यवस्था गरिएको छ । बजारआसपासमा निर्माण हुने घर, होटल र लजले अनिवार्य स्लेट ढुंगाको छानो तथा परम्परागत इँटाको रूप झल्कनेगरी घर बनाउनुपर्ने नगरपालिकाको प्रावधान रहेको छ । पर्यटकका लागि सूचना पाटी राखिएका छन् । नजिकका डाँडामा जाने बाटा बनाइएका छन् । नेपालको लामो सिद्धगुफा घुम्ने, रक क्लाइम्बिङ गर्ने व्यवस्था मिलाइएको छ ।
अचेल सस्तादेखि महँगा गाउँघर होटेलसमेत गरी ६० होटल, रिसोर्ट, लज र २२ होमस्टे सञ्चालित छन् । बन्दीपुरमा सञ्चालित सबै होटलमा एकपटकमा १४ सयसम्म पाहुना राख्न सक्ने बन्दीपुर पर्यटन समितिको आँकलन छ । अब चाँडै बन्दीपुरमा केबुलकारसहित ८८ कोठाको पाँचतारे होटेलसमेत सञ्चालनमा आउन लागेको छ ।
बाटोको सहजता र काठमाडौंदेखि नजिकको दूरी तथा प्राकृतिक सौन्दर्य र आफ्नै मौलिकताले गर्दा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा बन्दीपुर पर्न सफल भएको छ । पृथ्वी राजमार्गको गुणस्तरमा सुधार भएपछि पर्यटकको आगमन वृद्धि गुणात्मक संख्यामा बढ्न सक्छ ।
बन्दीपुरबाट सिक्न सकिने पाठ :
–सामुदायिक पहलमा मौलिक विशेषता र प्राकृतिक सौन्दर्य भएको स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समय लाग्दैन भन्ने कुराको उत्कृष्ट नमुना हो– बन्दीपुर ।
–पर्यटक जुन स्थानमा जान्छन्, उनीहरूले सो स्थानको मौलिकता खोज्छन् । त्यो मौलिकता सेवा सत्कारको सन्दर्भमा होस् या खानपान, साजसज्जा या कलाकृति, परम्परै किन नहोऊन् । यी पक्षलाई पस्कने सके सो स्थान पर्यटकको रोजाइमा पर्छ भन्ने उत्कृष्ट नमुना हो– बन्दीपुर । आधुनिकताभन्दा परम्परागत मौलिकता पर्यटकको रोजाइमा पर्छ भन्ने सन्देश बन्दीपुरले दिएको छ ।
–आफ्नै घरबाट आफ्नो लगानी गर्न सक्ने क्षमता, सीप र अनुभवका आधारमा पर्यटन उद्यमी बन्न सकिन्छ भन्ने सन्देश बन्दीपुरका सानादेखि ठूला होटल व्यवसायी, रेष्टुरेन्ट व्यवसायी, स्थानीय हस्तकलाका सामग्री बेच्ने व्यवसायीले दिएका छन् ।
–पर्यटक आकर्षित गर्न जनसमुदायमा पर्यटकप्रति सकारात्मक धारणा र आतिथ्य प्रदान गर्ने मनोवृत्ति हुनुपर्छ भन्ने नमुना पनि हो– बन्दीपुर ।