‘वी लभ’ पोखरा



उई लभ पोखरा
वी लभ पोखरा ।
उस्ताउस्तै उच्चारण । कसैले बिलिभ भन्छन् । कसैले बिलभ । अर्थ फरक छ । मैले बिलिभ भने पनि ‘विश्वास’लाई अंग्रेजीमा उसबेला बिलभ भनेरै पढेको थिएँ । सन्दर्भ हो, मितेरी समाजले आयोजना गरेको हङकङको चर्चित पोखरेली झ्याल छैटौं ।

धेरै वर्षअघि मतदाता प्रशिक्षण कार्यक्रम लिएर डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर जानेक्रममा पोखरा टेकेरमात्रै होइन, अम्रिकाने पैसाले दुई दिनमै घुमेर जाने मोतीप्रसाद उप्रेतीसँग सल्लाह भयो । उप्रेती समूहका नाइके । सुश्री भन्थिन्, ‘रत्नकमल तुलाधर र मेरो प्रस्ताव अर्की सुश्री मेनका र पैसाको अलि लोभी मीन केसीले पनि अस्वीकार गरेनन् । गरिनन् । साफ्फी रमाइलो गरियो । त्यतिबेला पनि हामीले भनेका थियौं, ‘वी लभ पोखरा ।’ अनि घुम्नेक्रममा फेवाताल पुग्यौं । तालकिनारामा १२/१५ युवकले जर्मनी नागरिकलाई घेरेर विवाद गरेजस्तो देख्यौं । मीन र म पुग्दा नपुग्दै मोटरसाइकलमा खाइलाग्दो एक युवक आइपुगे । हामीले अलि छिटो पाइला चाल्यौं । अफसोस भीड यति छिटो तितरबितर भयो । गोराले युवकसँग जोडले हात मिलाउँदै भने, ‘आई बिलिभ पोखरा । आई लभ पोखरा ।’

धेरै वर्षपहिले काउलन पार्क पियाजा उपत्यकाभित्र चिटिक्क पारेर सजाइएको सुन्दर अस्थायी स्टेजबाट हास्यकलाकार भीम गुरुङ (लामिछानेचाहिँ)ले उद्घोष गरे, ‘उई लभ पोखरा ।’ यता चौरीमा खर्किएका उपस्थित (पोखरेली होइन)ले भीमसँगै चिच्याए, ‘या…..या….उई लभ पोखरा ।’ मेरो छाती गर्वले गजक्क फुल्यो । सात समुद्रवारि हङकङमा आफ्नो देशको सुन्दर ठाउँबारे एकै स्वरमा उरालेर नारा लगाउँदा, एककिसिमको वर्णन गर्न पाउँदा गौरव लाग्दोरहेछ । त्यही काठमान्डुमा त उई लभ पोखरा कति महँगो हुन्छ । सात समुद्रवारि हङकङमा यसको मूल्य झन् कति होला ? माइकबाट ठुल्ठूलो स्वरमा भीमले दोहोर्याइरहे, ‘उई लभ पोखरा ।’ धेरैचोटि दोहोरिँदा कतिले झर्को माने पनि राम्रो किन भयो भने उपस्थित विदेशीले के हो पोखरा ? को हो पोखरेली ? जिज्ञासा राख्ने र मेट्ने मौका पाए । गौरवान्वित हामीले धक फुकाएर फेवातालमा माछापुच्छ्रे  जोडिदियौं ।

एकताका तुलसीकुमार गुरुङले भावुक हुँदै भनेका थिए, ‘कम्प्युटरले खुम्च्याएर ग्लोबलाइज गरेको जमानामा संसार चिहाउने आँखीझ्याल हो– पोखरेली झ्याल । आउनूस् तपाईं सबैलाई स्वागत छ । हो, ठूलो लक्ष्य लिएर बढेको सानो प्रयास । हरेक कुराको सुरुवात सानै हुन्छ । सानोबाटै ठूलो हुन्छ । अत्याधुनिक संसारलाई भित्रैदेखि सुम्सुम्याउनुपर्नेछ । अनुभूति गर्नुपर्नेछ । गराउनुपर्नेछ । सांसारिक सभ्यताले निकै वर छाडिसकेको छ । भेट्नका लागि मितेरी समाज हङकङले सुरु गरेको छ ।

मितेरी समाजको एउटा लेखकको हैसियतले हुन सक्छ, प्रायः पंक्तिकारलाई बोलाइएकै हुन्छ । खगेन्द्र संग्रौला, रमेश विकल, मञ्जुल, निनु चापागाईं कसैको पनि पत्रिका छैन । पत्रकार होइनन् । तर, कार्यक्रममा निम्तो भ्याइनसक्नु हुन्छ । कतै म पनि ठाउँअनुसारको लेखक त भइनँ गाँठे ?

यो देशका नम्बरी नायक, नम्बरी नागरिक सहर पस्दै छौं । सहरमा अँटिदैन । ठाउँ नपुगे गाउँलाई सहरको सभ्यतामा ढाल्नेछौं । गाउँलाई सहर बनाउँनेछौं भनियो । बाउबाजेले खोरिया फाँडेर बस्ती बसाए । कालान्तरमा सहरमा रूपान्तरित भयो । बाउबाजेले आर्जेको सहर, बसाएको बस्ती सहरमा अब हामी नै उता पनि रमाउनुपर्छ ।

र, यता हङकङमा पनि मंकिहिल, ताइमोसानको जंगलबाट लगातार इन्डिया क्लब हुँदै काउलनपार्क छिचोलेका छौं । कतिपय छिचोल्ने प्रयासमा छौं । लक्ष्य निकै अघि बढेको छ । हङकङ विधानसभासम्मकै यात्रा तय गर्ने लक्ष्य छ । ओ स्याङ्जाली कान्छा हरेस नखाऊ । ओ, पीके तामाङ अलि ज्ञान खोज । हामी लडाकुको सन्तानमात्र होइनौं, मानव सभ्यताको अग्रणी पनि हौं । लखन थापा, रामप्रसाद राई, बखानसिं गुरुङले गणतन्त्रको लडाइँ लड्नुपर्ने कुरा सिकेको मलाया भर्तीबाटै हो । भारतीय सैनिक भने पनि त्यतिबेला भारतमा अंग्रेज थियो । अनि क्याप्टेन अगमनी राई, (बेलबारी काकुम झोडा बस्ती बसाउने, टिम्बुरबोटे काण्डका सहिद), बखतमानसिं लिम्बू (झापा कब्जा गर्ने मुक्तिसेना कमान्डर), पदमबहादुर तामाङहरू सहिदको सूचीमा लाइन लागेका थिए ।

लिम्बू कुलमा जन्मेका महापुरुष फाल्गुनन्द लिङ्देनले पल्टनमै हिंसा देखेका थिए । त्यसैको संस्करण त हो– आजको गणतन्त्र । यहाँको प्रजातान्त्रिक योद्धा कान्छा पीकेहरूको हकमा देवकोटाले भनेको कुरा कहिल्यै पुरानो भएन, ‘उद्देश्य लिनू के उडी छुनू चन्द्र एक ।’

पोखरेली झ्यालको छैटौं संस्करणमा हङकङमा सबैभन्दा ठूलो नेपाली जमघट हुनुपर्छ । भविष्यमा पोखरेली झ्यालले हङकङबाट पर्यटन क्षेत्रमा ठूलो भूमिका निर्वाह गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्