तीनधारे झरना हेर्न दैनिक ५०० जनाको भीड



पनौतीका जयराम मानन्धर लकडाउनकै बीचमा रोशी–२ स्थित ‘तीनधारे झरना’ पुगे । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलोपटक त्यहाँ पुगेका मानन्धरले भने, ‘हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ । धेरै खुसी र आनन्द लाग्यो ।’ त्यहाँसम्म पुग्नका लागि बाटो असहज भए पनि झरना आकर्षक भएकाले त्यसका लागि स्थानीय सरकारले पर्यटन प्रवद्र्धनमा ध्यान दिए पर्यटकको आकर्षक थलो बन्ने उनको भनाइ छ ।

बनेपाका सुमन मानन्धरले पनि साथीसँग सो झरनामा रम्न पाउँदा निकै आनन्द लागेको बताए । मानन्धरले भने, ‘झरना हेर्न जाने अवसर मिल्यो, धेरै राम्रो रहेछ । यो ठाउँलाई पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध रूपमा विकास गर्न आवश्यक छ ।’ धेरै मासिनको भीड लाग्ने गरेका कारण सवारी पार्किङ व्यवस्थापनसहित अन्य पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनले बताए । ‘ठाउँ रमणीय भएका कारण त्यहाँका तस्बिर मात्रै देख्नेहरू पनि जान मन गर्नेछन्,’ उनले भने ।

बनेपाकै अर्का स्थानीय यादव फैंजू पनि आफ्ना सात साथीका साथमा सो झरना अवलोकन गर्न त्यहाँ पुगेका थिए । ‘सामाजिक सञ्जालमा धेरै प्रचार भएको देखेपछि झरना अवलोकन गर्न पुगेको थिएँ । धेरै आकर्षक र मनमोहक लाग्यो,’ फैजूले भने, ‘सामाजिक सञ्जालमा देखेकोभन्दा वास्तविकता अझै सुन्दर पाएँ ।’ त्यहाँसम्म पुग्ने यातायातको सहज व्यवस्था बनाएको खण्डमा प्रचुर मात्रामा आन्तरिक तथा बाह्य पर्यटनको पहिलो गन्तव्य बन्ने उनले बताए । बनेपा–नमोबुद्ध–दाप्चा–पीपलटार–फलामेसाँघु हुँदै काफलडाँडासम्म अच्ची मोटरबाटो गएपछि करिब एक किलोमिटर गोरेटो बाटो हिँडेपछि तीनधारे झरना पुग्न सकिन्छ ।

झरना अत्यन्तै मनमोहक भएका कारण केही समय यतादेखि रोशी–२ मा रहेको ‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको छ । कोरोना कहरकै बीचमा पनि विशेषगरी सहर–बजार क्षेत्रका मानिस घुम्न पुग्छन् । महाभारत जंगलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिन, नुहाउन र झरनामा लुकामारी खेल्न पाउने भएपछि केही समयदेखि सवारीसाधन लिएर त्यहाँ घुम्न जानेको वृद्धि भएको छ ।

स्थानीय सरकारले कोरोनाको संक्रमणको प्रभावका कारण भीडभाड नगर्न आग्रह गर्दै सो ठाउँमा आवतजावत कम गर्न आग्रह गरेको छ । पर्यटकीय झरनामा पछिल्लो समयमा टाढाटाढाबाट हुने आगमन बढेको वडा नम्बर २ का वडाअध्यक्ष पोते लामाले बताए । ‘दैनिक २०० सम्म मोटरसाइकल आउने गरेका छन् । कोरोना संक्रमण फैलिन सक्ने अवस्थालाई दृष्टिगत गरेर सतर्कता अपनाउन प्रयत्न गरे पनि झरना हेर्न आउनेको घुइँचो उत्तिकै छ,’ उनेले भने, ‘पछिल्ला समयमा दैनिक चार÷पाँच सय झरनामा आउने गरेका छन् ।’ चार वर्ष अगाडि ड्रोनमार्फत दृश्य कैद गरेर प्रचार÷प्रसार गर्न थालेपछि बिस्तारै पर्यटन आगमन बढ्न थालेकोमा अहिले धेरै वृद्धि भइसकेको उनले बताए ।

रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले पालिकाभित्रको पर्यटकीय क्षेत्रको सम्भावित ठाउँको पहिचान गरी पर्यटन प्रवद्र्धनमा लागिपरेको बताए । त्यसमध्ये तीनधारे झरनाका लागि गत आर्थिक वर्षमा पनि बजेट छुट्याइसकेको र पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डसँग समन्वय गरेर काम गर्ने योजनामा रहेको उनले बताए । त्यससँगै सो क्षेत्रका लागि वडा नम्बर ३ मा रहेको गुरु रेन्पोछे (गुरु पद्मसम्भव)को मूर्ति र सो ठाउँबाट पूर्वपट्टि करिब एक किलोमिटर अगाडि रहेको महाङ्काल देवीस्थान धार्मिक पर्यटनक लागि उपयुक्त स्थल रहेका छन् । सो झरनासँगै पर्यटन विकासको सम्भावना बोकेको ताराखासे लेक अर्को पर्यटन प्रबद्र्धनको सम्भावना बोकेको क्षेत्र रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्