गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क


सप्तरी । कञ्चनरूप नगरपालिका सप्तरीले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरूलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

जिल्लाको पहिलो खुला दिसामुक्त र पूर्ण खोप सुनिश्चित नगर घोषित कञ्चनरूप नगरपालिका जिल्लाको एकमात्र तथा प्रदेश नम्बर २ को पहिलो र नेपालको तेस्रो बालमैत्री नगरपालिका हो । नगर प्रमुख मिश्रले कञ्चनरूपलाई अब कुपोषणमुक्त नगर घोषणा गर्ने ढंगले काम अगाडि बढाइएको बताए ।

कार्यक्रममा स्वास्थ्य शाखा कञ्चनरूपले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम र फोलिक एसिड चक्की वितरण गरेको छ । गर्भावस्थामा स्वास्थ्य चेकजाँच, आइरन चक्कीदेखि क्याल्सियम र फोलिक एसिड चक्की निःशुल्क वितरण भइरहेकोमा अबदेखि गर्भवतीलाई कुनै पनि स्वास्थ्य संस्थामा जानुपर्दाको एम्बुलेन्स भाडा नलाग्ने नगरप्रमुख मिश्रले घोषणा गरे । यसका लागि एउटा एम्बुलेन्स नियमित रूपमा बरमझियामा रहने पनि उनले बताए ।

पोषणयुक्त खानपिन अभावले हुने कुपोषण नियन्त्रण गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरपालिकाले बेलाबेलामा पोषण सामाग्री उपलब्ध गराउँदै आएको छ । कार्यक्रमकी सहजकर्ता सुशीला चौधरीले कुपोषणमुक्त नगर घोषणा गर्ने उद्देश्यसाथ नगरपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको बताइन् ।

सप्ताहव्यापी कार्यक्रमका अवसरमा नगरपालिकाले सबै वडामा गरेर ३६० जना सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण गर्ने बहुक्षेत्रीय पोषण इकाइले जानकारी दिएको छ । झोलामा एक किलो घ्यु, एक क्यारेट अन्डा, एक किलो हरियो भटमास, दुई किलो पोषिलो पीठो, नौ किसिमका गेडागुडीेको प्याकेट, चार प्याकेट स्यानिटरी प्याड, ह्यान्ड सेनिटाइजर, सर्जिकल मास्क, टुथब्रस, टुथपेस्ट, साबुनको बट्टा, मग, क्याल्सियम चक्की रहेको छ ।

कार्यक्रममा कञ्चनरूप नगरपालिकाका पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी, पशुपक्षी विकास शाखाका प्रमुख दिवाकान्त चौधरी, स्वास्थ्य शाखा प्रमुख रामसेवक यादव, सहसंयोजक डम्बरप्रसाद गुप्ताले गर्भवती र सुत्केरीले ध्यान दिनुपर्ने कुरा र पोषणको महत्वबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्