घाम तापौं, कोरोना भगाऔं



सर्पजस्तै घाममा पसारिएकी यी युवतीलाई उत्ताउली नठान्नू । बरु देखाउन मिल्नेसम्म शरीर खोलेर दिनको कम्तीमा आधा घण्टा सहन सक्नेसम्मकाे घाम सबैले ताप्नू । बीबीसी फुड चेनका अनुसार भिटामिन डीले रोग निरोध प्रणालीलाई सुदृढ राख्छ र यो कोरोनालगायत संक्रामक रोगविरुद्ध सङ्घर्षमा अत्यन्त उपयोगी हुन्छ । घाम भिटामिन डीको सबैभन्दा सुलभ र अत्यन्त राम्रो स्रोत हो ।

भिटामिन डी कम हुँदा सङ्क्रामक रोगले चाँडै समात्छ भने शरीरले क्याल्सियम, म्याग्नेसियम र फोस्फेट सोसेर लिनै सक्दैन । यसले गर्दा हाड बाङ्गिन, दाँत र मांसपेसी कमजोर हुन थाल्छ । साथै बीपी उच्च हुने, चिसो लाग्ने, श्वास–प्रश्वासको समस्या हुने, मुटुका अन्य रोग लाग्ने उच्च जोखिम हुन्छ । वैज्ञानिकहरूले भिटामिन डीको अभावले मुटु र रक्तनलीसम्बन्धी रोग, मधुमेह, निश्चित प्रकारका क्यान्सरको समेत जोखिम बढ्ने बताएका छन्। बढी थकाइ लाग्ने, ढाड र हातखुट्टा दुखिरहने समस्या छ भने जोकोहीले मलाई भिटामिन डी कम भयाे कि भनेर सजग हुनु पर्छ । महिलामा रजस्वलापछि भिटामिन डी कम हुने खतरा हुन्छ । घामले अनुहार कालो होला भनेर बिहानैदेखि सनब्लक क्रिम लगाउने, कोठामा मात्र बसिरहने, घाममा निस्कँदै ननिस्कने अधिकांश किशोर–किशोरी, युवती र महिलाका अनुहार रगत नभएजस्तो, बेसार नराखी पकाएको हरियो फर्सीजस्तो देखिन्छ भने तिनलाई भिटामिन डीको कमी भएको हुन सक्छ ।

सुत्केरी र बच्चालाई जस्तै घाममा राखेर तेलले मालिस गर्दा जुनसुकै उमेरका मानिसलाई अत्यन्त फाइदा हुन्छ । पश्चिमा देशका गोरो छाला भएका मान्छेले भन्दा पूर्वका गहुँगोरो र कालो छाला भएका मान्छेले अझ बढी घाम ताप्नुपर्छ । किनभने गोरो छालाले चाँडै नै घाम सोसेर भिटामिन डी प्राप्त गर्छ । गहुँगोरो र कालो छालाले गोरो छालाको तुलनामा घामलाई परावर्तन गरिदिन्छ । मासु, माछा, च्याउ, दूध, भटमास, बदाम, फलफूल, दही, दूध, गहुँको पिठो, खाने तेल, ओटमिल र फुलजस्ता खानेकुराबाट पनि भिटामिन डी प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्