सुरेशकुमारीको सयपत्री सपना


‘सुरुको वर्ष ?,’ हलेसी तुवाचुङ नगरपालिका–७ डाँडागुठकी सुरेशकुमारी राईले सुनाइन्, ‘पाँच सय लगानी गरेर दुई सय रुपैयाँ कमाएँ ।’ त्यति भनिसकेपछि राई मज्जाले हाँसिन् । सयपत्री फूलको बीचमा उभिएर हाँसेकी उनको हाँसो लोभलाग्दो देखिन्थ्यो ।

सयपत्री फूलको खेती थालेको दुई वर्ष भयो । ६६ वर्षीया राईले सुरुको वर्ष पाँच सय रुपैयाँमा सयपत्री फूलको बिरुवा किनिन् । प्रतिबोट १० रुपैयाँमा किनेर रोपेको सयपत्री फुलेपछि दुई सय रुपैयाँको माला बेचिन् । लगानी त उठेन–उठेन, सयपत्री फुलाउँदा गरेको परिश्रम व्यर्थै भयो । तर, उनले हरेश खाइनन् । साउनमा फुलेको भए दुई/चार पैसा बढी हात पथ्र्यो । बेमौसमा सयपत्री फुलेपछि ग्राहकको माग आएन ।

तर पनि, खेतीले निरन्तरता पाएकै छ । ‘यसपटक एक हजार दुई सय रुपैयाँको माला बेचिसकेकी छु,’ उनले खुसी व्यक्त गरिन्, ‘बोलबमको अवसर पारेर हलेसी आउने श्रद्धालु थुप्रै छन् । त्यतिबेला अलि धेरै माग होला कि ।’

आशाले मानिसलाई जिउन सिकाउँछ । उनले पनि बोलबममा फूल बिक्री हुने आशा गरेकी छन् । उनको आशा निराशामा परिणत हुने छैन । गाउँमा अरूले पनि सयपत्री फूलको खेती थालेका छन् । तर, सुरेशकुमारी राईको खेती उदाहरणीय बनेको छ ।

‘लगानी ?,’ उनले थपिन्, ‘सयपत्री फूल खेतीका लागि लगानी खासै छैन । तर, मिहिनेतको हिसाब–किताब शब्दमा व्यक्त गर्न कठिन छ । बिहान बेलुका गरी दैनिक चार घन्टा फूलमा पानी लगाउँछु । गोडमेल गर्छु । लगानीभन्दा परिश्रम धेरै गरेकी छु ।’

चैतमा बीउ राखेर वैशाखमा सारेको सयपत्री यतिबेला रहरलाग्दो फुलेको छ । टनेलभित्र र बाहिर फुलेको सयपत्री देख्दा जोकोहीलाई यही खेती गरौं–गरौं लाग्दोरहेछ । त्यसो त सुरेशकुमारी राई पनि कम्ती खुसी छैनन् । ‘बगैंचामा पुगेपछि खुसी हुने कारण चाहिँदैन,’ उनको भनाइ छ, ‘फूलैफूलको बीचमा उभिँदा बिक्री नभए पनि फूल खेतीमै रमाउन मन लाग्छ ।’

व्यापार अपार भन्ने नेपाली भनाइ छ । उनले घाटाको व्यापार गरिरहेकी छन् । तर, भोलिको आशामा उनले फूल खेतीलाई निरन्तरता दिँदै आएकी हुन् । फूल खेती गरेरै खान, लगाउनुपर्छ भन्ने उनको मान्यता छैन । परम्परागत रूपमा खेतिकिसान गर्दै आएकी उनलाई फूलखेतीले जाँगरिलो बनाएकै छ ।

डाँडागुठमा उनीजस्तै थुप्रैले सयपत्री फूलको खेती थालेका छन् । त्यसमध्ये सुरेशकुमारीको फूल खेती फस्टाएको छ । फूल खेतीमा लाग्नेहरूले हरेश खाएका छैनन् । उनीहरूबीच भेटघाट हुँदा ‘यसपटक त भएन–भएन, अर्को वर्ष त केही न होला नि’ भनेर सान्त्वनाको मलहमपट्टी लगाउँछन् ।

सयपत्री फुलाउन चार महिनामा लाग्छ । चैतमा बीउ राखेर वैशाखमा सार्नेहरूकहाँ हिजोआज सयपत्री फुलिरहेका छन् । अलि ढिलो फुलाउनुपर्ने बाध्यता भए सयपत्रीको मुन्टा चिमोटेर फाल्दिनुपर्छ ।

‘एक माला सयपत्री फूलको एक सय रुपैयाँ लिने गरेकी छु,’ उनले जानकारी गराइन्, ‘एक बोटमा २० वटाजति फूल फुल्छ । दुई बोटको सयपत्री फूलबाट एक माला तयार हुन्छ ।’ सुरेशकुमारी राईले टनेल र टनेलबाहिर पनि सयपत्री फुलाएकी छन् । टनेलभित्र फुलेको सयपत्रीको छेउछेउमा गोलभेंडासमेत रहरलाग्दो फलेका छन् ।

अहिले फुलिरहेको सयपत्री भदौमा मर्छ । त्यसपछि घरायसी सयपत्री फूल रोप्ने उनले योजना बनाइसकेकी छन् । अहिले फुलेको सयपत्री कृषिको हो, जुन मज्जाले फुल्छ भने घरायसी त्यत्ति नफुल्दोरहेछ ।

सुरेशकुमारी राईले गरेको फूल खेती हेर्न हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राई डाँडागुठ पुगेकी थिइन् । आफूले गरेको खेती हेर्न नगर उपप्रमुख राईलाई आफ्नै आँगनमा स्वागत गर्न पाउँदा सुरेशकुमारी त्यत्तिकै पुलकित छिन् ।

सयपत्री नेपालकै प्रसिद्ध फूलहरूमध्ये एक हो । नेपालमा यसको खेती १७औं शताब्दीको उत्तराद्र्धदेखि सुरु भएको नीलतन्त्र नामक दस्तावेजमा उल्लेख छ ।

 

(तुवाचुङ वर्ष–२, अंक–१, २०७७ बाट)

प्रतिक्रिया दिनुहोस्