जापानमा अटोमोटिभ–आकर्षण



जापान आइसक्नुभएको छ ? कि आउँदै हुनुहुन्छ ? भाषा स्कुल सकिएपछि के पढ्ने भनेर अलमलमा पो हुनुहुन्छ कि ? जापानमा जापानी भाषाको स्कुल सकिएपछि के पढ्ने ? के पढेमा के गर्न सकिन्छ ? कुन पढाइको आकर्षण कस्तो छ ? बुझ्न जरुरी छ । कतिपय अवस्थामा विद्यार्थीले नबुझेरै सेनमोन कलेज पुग्छन् । प्रस्तुत आलेखमा अटोमोटिभ टेक्निकल (कुरुमा)सम्बन्धी अध्ययनबारे चर्चा गरिएको छ ।

सामान्यतया नेपालबाट भाषा विद्यार्थीका रूपमा आइसकेपछि जापानी भाषा धेरैमा दुई वर्षजति अध्ययन गर्नुपर्छ । नेपालमै स्नातक तहभन्दा माथि सकाएर आएका विद्यार्थी हुन् भने उसले भाषा स्कुल सकिनेबित्तिकै वर्किङ पर्मिट भिजा अप्लाई गर्न सक्छन् । वर्किङतिर लाग्ने इच्छा हुनेले नेपालमा पढेको विषयवस्तुअनुसारको काम, कम्पनी खोजेर काम गर्न सक्छन् । तर, नेपालमा दस जोड दुईमात्रै पढेको विद्यार्थीका हकमा भने भाषा स्कुल सकिनेबित्तिकै थप दुई या तीन वर्षको सेनमोन कलेज पढ्नुपर्ने बाध्यता छ । सेनमोन कलेजको अर्थ नेपालमा सीटीईभीटी अर्थात् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम भनेजस्तै हो । जापानमा पनि सेनमोन कलेज पढ्नुपर्छ । आफूले काम गर्न चाहेको कामसँग सम्बन्धित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिनैपर्छ । अनि मात्र जापानमा वर्किङ पर्मिट पाउन सहज हुनेछ ।

जापान टेकेका विद्यार्थी अटो मेकानिकल पढाइप्रति आकर्षित छन् । अटो मेकानिकल इन्जिनियरिङ अर्थात् गाडी मर्मत–सम्भार तथा चेकजाँच । नेपाल र जापानमा गाडीको मर्मत–सम्भार गर्ने तरिका बिल्कुल फरक छ । नेपालमा गाडी मर्मत–सम्भार गर्न कसैलाई अनुपतिपत्र (लाइसेन्स) चाहिँदैन । जोकोहीले सहज रूपमा मर्मत–सम्भार गर्न सक्छन् । बनाउन सक्छन् । जापानमा प्रत्येक महिना, प्रत्येक वर्ष सवारीसाधनको अवस्था, चेकजाँच गर्न सरकारले नियमै बनाएको छ । नियम उल्लंघन गरे सवारीसाधन गुडाउन पाइँदैन । कानुनी कारबाहीसमेत भोग्नुपर्छ । यसर्थ, तोकिएको मापदण्डअनुरूप सवारीसाधन मर्मत–सम्भारदेखि चेकजाँच गर्नसम्म सवारीसाधनसम्बन्धी अध्ययन गरेको प्रमाणपत्र प्राप्त व्यक्ति चाहिन्छ । जापानले बर्सेनि जापानी तथा विदेशी नागरिक गरी हजारौं अटो मेकानिक उत्पादन गरिरहेको छ ।

जापान टेक्नोलोजीमा धेरै अघि छ । उसले ठुल्ठूला गाडी उत्पादन गर्छ । हजारौंको संख्यामा सवारीसाधन उत्पादन गर्ने कम्पनी छन् । टोयोटा, होन्डा, मित्सुबिसी, सुबारु, निशानजस्ता थुप्रै कम्पनी छन् । जसले विश्व बजारमा आफ्नो उत्पादन निर्यात गरिरहेका छन् । यी र यस्ता कम्पनीमा काम गर्नका लागि अटो टेक्निकल कलेज नपढी सम्भव हुँदैन । आकर्षक तलबका कारण टेक्निकल विषय पढ्ने विद्यार्थी बढेका छन् ।

अब कुरा गरौं– तलब तथा सेवा सुविधाको । पंक्तिकार पनि विद्यार्थी रहेकाले पढाइपश्चात् कम्पनी तय गरिसकेका छन् । तुलनात्मक हिसाबले अन्य कम्पनी र मेरो कम्पनीको तलब स्केलमा त्यस्तो फरक छैन । अटो मेकानिकलको कमाइ मासिक दुई लाखमाथि हुन्छ । बस्नका लागि आवास सुविधा, नेनकिन, भिजा, विवाहपछि पारिवारिक सुविधालगायत आकर्षक बोनस हुन्छ । हालको अवस्था हेर्ने हो भने तुलनात्मक हिसाबले अन्यभन्दा यस क्षेत्रका विद्यार्थीको कम्पनी पनि सहज, सरल र छिटो तय हुने गरेका कारण यस क्षेत्रमा विदेशी विद्यार्थीको आकर्षण बढ्दो छ ।

कस्ता विद्यार्थीका लागि हुन सक्छ अटोमोटिभ कलेज ? र, कति खर्च लाग्ला ?

पहिलो कुरो त तपाईंमा इच्छाशक्ति हुनुपर्छ । अनि जापानी भाषा स्कुल पढेको हुनुपर्छ । भाषाका लेभल एन–३ या २ गर्नुभएको छ भने झनै सहज हुनेछ । प्रायः अटोमोटिभ कलेजले भाषा लेभलका सर्टिफिकेट खोज्ने गरेको पाइन्छ भने कतिपय अवस्थामा भाषाका लेभल एन–३ या एन–२ र १ उत्तीर्णलाई भर्ना शुल्क घटाउने कलेज पनि छन् । अटो मोटिभ कलेजको शुल्क भने कलेजअनुसार फरक–फरक हुन्छ । दुई वर्षको कोर्स सकाउन १५ देखि १७ लाखसम्म लाग्छ । प्रायः कलेजले विद्यार्थीलाई तीनवर्षे कोर्स पढ्न सुझाउँछन् । कलेजअनुसार नियम फरक–फरक हुन सक्छ । तीन या दुईवर्षे कुन कोर्स पढ्ने ? त्यो तपाईंको इच्छा हो ।

 

प्रतिक्रिया दिनुहोस्