अस्ट्रेलियाबाट फर्केर बाख्रा पाल्दा वार्षिक १५ लाख आम्दानी



नेपाली युवकयुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् । बिदेसिन पहल पनि गरिहाल्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो बिदेसिने युवकयुवतीको लर्को लाग्ने गर्छ । इलामको माईजोगमाई–३ नयाँ बजारकी कुसुम दाहालले भने अस्टे«लियाको बसाइ छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छन् ।

घरपरिवारसँगै बसेर परम्परागत पेसा तथा व्यापार गर्दागर्दै दुई वर्षअघि अस्ट्रेलिया गएकी थिएँ,’ दाहालले भनिन्,’ अस्टे«लियाको कृषि र पशुपालन फार्म हेरेपछि आफ्नै गाउँमा बाख्रापालन गर्न मन लाग्यो ।’ उनी हिजोआज यही व्यवसायमा संलग्न छन् ।

निजी वनमा रूख हुर्काएर पनि बर्सेनि लाखौं आम्दानी गरेकी छन् । उनले गाउँमा र आफ्ना साथीको विदेश जाने लर्को लागेको देखेर अस्टे«लिया जान मन लागेको भन्दै केही वर्षअघि अस्ट्रेलिया गएको बताइन् । भनिन्, ‘विदेशमा जत्तिको मेहनत गरे त गाउँमै रोजगारीसँगै आम्दानी पनि मज्जाले गर्न सकिने रहेछ ।’ उनले विदेशको व्यापार र रोजगारीको अवसर हेरेपछि आफूले धेरै कुरा सिकेको बताइन् । विदेशमा कृषि र पशुपालनमा लाग्नेलाई, सीप, प्राविधिक ज्ञान र सरकारी सहयोग पाएको देखेको उनले सुनाइन् । उनले थपिन्, ‘हामीले परम्परागत रूपमा बाख्रापालन गरिराखेको अवस्थामा प्राविधिक ज्ञान लिएर काम गर्दा आम्दानी बढ्छ भन्ने लागेर स्वदेश फर्किएँ ।’

नेपाल फर्किएपछि उनले बाख्रापालनको तालिम लिइन् । तालिमपछि आफ्नो माइतीमा रहेको ५४ रोपनी जग्गा ठेक्का लिएर बाख्राको खोर बनाउने काम सुरु गरिन् । पुरानो पेसा व्यापारलाई निरन्तरता दिएर माईजोगमाई–३ स्थित लप्सीबोटेमा बाख्रापालन थालियोे । दुई वर्षअघि स्थापना भएको अन्नपूर्ण कृषि तथा पशुपालन फार्ममा अहिले ६० भन्दा बढी उन्नत जातका बाख्रा छन् । फार्ममा साधन, बयर र स्थानीय जातका बाख्रा छन् ।

बाख्रासँगै दाहालले स्थानीय जातको कुखुरा पनि पालेकी छन् । इलाम पर्यटकीय जिल्ला भएकाले आन्तरिक पर्यटकको घुइँचो लाग्छ । स्थानीय जातका कुखुरा आन्तरिक पर्यटकका लागि नै खपत हुने गरेको र अधिकांश कुखुरा घरबाटै बिक्री हुने गरेको उनले सुनाइन् । ‘विदेशमा बसेर गर्ने दुःख नेपालमै गरे त रोजगारीसँगै आम्दानी बढ्ने रहेछ,’ उनको भनाइ छ, ‘भाडा लिएको जग्गामा चिया, अकबरे खोर्सानी र रूखबाट राम्रो उत्पादन हँदै छ ।’

चुलाचौकाको काम भ्याएर भए पनि कृषि पेसा गर्दा उनी आनन्दित छिन् । घरव्यवहार तथा अरू पनि कार्य भित्रैैदेखि लगाव लगाएपछि गर्न सकिँदो रहेछ भन्ने अुनभव आफूले लिएको उनको ठम्यााइ छ । ‘गाउँघरमा सबै कृषि पेसामै छन्,’ उनले खुसी व्यक्त गरिन्, ‘विदेशमा पनि कृषिबाट करोडौं आम्दानी गरेको देखेका हामीले आधुनिक तरिकाले कृषि र पुशपालन गर्दा राम्रै आम्दानी हुँदोरहेछ ।’

५४ रोपनी क्षेत्रफलमा घाँस भएकाले उनलाई बाख्रा पाल्न गाह्रो छैन । घाँस खेर जान नदिन मेसिनबाट कुटी काटेर बाख्रालाई दिने गरिएको छ । उनको भनाइ छ, ‘आम्दानी पनि राम्रो छ । नाफासँगै सन्तुष्ट पनि छु । फार्ममा गाउँका दुई युवाले रोजगारी पाएका छन् ।’

व्यवस्थापनका लागि वहत् योजना बनाउने र लगानी जुटाउने काम भइरहेको भन्दै बिस्तारै खोरसँगै बाख्रा पनि थप्ने उनको योजना रहेको छ । उनको फार्ममा बाख्राको संख्या वृद्धि गरी १० जनालाई रोजगारी दिने योजना रहेको छ । प्रदेश एककै नमुना बाख्रा फार्मसँगै उन्नत जातका बाख्राकोे स्रोत केन्द्रका रूपमा आफ्नो फार्मको विकास गर्ने उनले सुनाइन् ।

१२ लाख लगानीबाट व्यवसाय थालिए पनि हिजोआज फार्ममा ३० लाख लगानी पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बाख्रा बिक्रीबाट १५ लाखभन्दा बढी आम्दानी गरेको उनको भनाइ छ । ‘पश्चिम नेपालबाट साधन जातको बाख्रा र पूर्वी नेपालको पहाडी जिल्लाबाट बोयर जातको बाख्राको माग उच्च रहेको उनले सुनाइन् ।

व्यापारमा रमाइरहेको र उच्च शिक्षा हासिल गरेको मान्छेले बाख्रा किन पालेको भने पनि धेरैले गिज्याएको उनको अनुभव छ । तर, आफूले हिम्मत नहारी बाख्र्रा र कुखुरापालनसँगै अकबरे खुर्सानीबाट आम्दानी राम्रै गरेको उनले बताइन् । उनको बुझाइमा उच्च शिक्षा हासिल गरेका मानिसले कृषि पेसामा लागे बजारको भाउ बुझ्न, प्राविधिक ज्ञान लिन सजिलो हुने भएकाले व्यावसायिक कृषि पेसामा युवकयुवती नै लाग्नुपर्ने हुन्छ । उच्च शिक्षा लिएको युवा कृषि र पशुपालनमा लाग्यो भने आफ्नो हातको मोबाइलबाटै प्राविधिक ज्ञान र बजारको अवस्था बुझ्न सकिने उनको अनुभव छ ।

‘बाख्राको बजार निकै राम्रो छ,’ उनले भनिन्, ‘बोयर बाख्रा नयाँ जात भएकाले सबै किसानले फार्मबाटै एक÷दुईवटा गर्दै खरिद गर्दै आएका छन् ।’ बोयर बाख्रा प्रतिकिलो एक हजार ५०० देखि तीन हजार ५०० मा बिक्री हुन्छ । पश्चिमतिर साधन जातको ब्राखाको माग रहेकाले पूर्वमा बोयर र पश्चिममा साधन जातको बाख्रा बिक्री गर्दै आएको उनले जानकारी गराइन् ।

कुसुम दाहालको बाख्रा फार्मसँगै कुखुरापालन पनि छ । खोरमास्थानीय जातका कुखुराले भरिभराउ छन् । कुखुराको बजारको समस्या छैन । घरबाटै कुखुरा प्रतिकिलो ६०० रुपैयाँमा बिक्री हुँदै आएको छ । कुखुरा गाउँघरदेखि सहर–बजारका व्यक्ति पनि खरिद गर्न पुग्छन् । कुखुरा र बाख्राको मल प्रशस्त हुने भएपछि उनले अकबरे खुर्सानीको खेती गरेकी छन् । उनले दुई रोपनी जमिनमा इलामको अकबरे खुर्सानी खेती गरेकी छन् । अकबरे खुर्सानी प्रतिकिलो ३०० मा बिक्री हुन्छ । उनले चालु वर्षमा मात्रै ८० किलो खुर्सानी बिक्री गरेको बताइन् ।

गाउँमा बढ्यो बाख्रापालन

कुसुम दाहालले बाख्रापालनबाट पाएको सफलताबाट गाउँमा बाख्रापालनमा फर्किने युवा बढ्दो छ । महिलाले बाख्रा फार्म खोलेको देखेपछि गाउँका दिदीबहिनी बाख्रापालनमा लागेको स्थानीय रोशन काफ्लेले बताए । ‘गाउँमा आधुनिक तरिकाले बाख्रापालन गरेपछि हरेक घरमा खोर बनाइएको छ । बाख्रापालन गर्नेको सङ्ख्या बढेको छ,’ कुसुम दाहालले भनिन्, ‘मैले बाख्रा फार्म खोलेपछि गाउँका धेरै महिला दिदीबहिनी पनि बाख्रापालनको अनुभव लिएर आउनुभएको छ । धेरैले फार्म सुरु गर्नुभएको छ ।’

अन्नपूर्ण बाख्रा फार्म खोलिएपछि अनुभव साटासाट पनि हुन थाल्यो । धेरै युवकयुवतीले यो पेसा थालेका छन् । केही समययता मात्र यहाँ १० वटा नयाँ फार्म खोलिएका छन् । दाहालले थपिन्, ‘पुराना सातवटा मात्रै फार्म थिए । मैले फार्म स्थापना गरेपछि माईजोगमाई गाउँपालिकाभित्र ३० वटासम्म फार्म स्थापना भएका छन् ।’

‘मैले बाख्रापालन थालेपछि मलाई धेरैले पछ्याउनुभएको छ,’ उनले सुनाइन्, ‘गाउँवासीमा प्रेरणा जगाउने महिला भएकी छु ।’उनले व्यावसायिक रूपमा बाख्रा पाल्न थालेपछि गाउँमा जागरण आएकाले धेरैको घरमा फार्मका रूपमा नभए पनि १५ देखि २० वटा बाख्रा अधिकांशले पालेका छन् । बाख्राको मल चिया खेतीका लागि राम्रो हुने भएकाले किसानमा पनि आकर्षण बढेको छ ।

घरको कामसँगै सानो कृषि व्यवसाय र पशुपालन गर्दा आम्दानी हुने भएकाले त्यसतर्फ लाग्न स्थानीय दिदीबहिनी र युवालाई कुसुम दाहालको आग्रह छ । ‘घरको काम सबै दिदीबहिनीले गर्नुपर्छ भन्ने होइन कि घर बाहिरको व्यावसायिक कामको थालनी गर्दा पनि हुन्छ,’ दाहालले भनिन्, ‘काम गर्न इच्छाशक्ति हुनुपर्छ । काम सानो ठूलो जस्तो भए पनि गर्न छाड्नुहुँदैन ।’

कुसुम दाहालको सफलताका लागि परिवारको सहयोग महत्वपूर्ण मानिन्छ । ‘व्यापार व्यवसायबाट खान लाउन पुग्दा पुग्दै पनि मलाई आफ्नो इच्छाअनुसार काम गर्न पाएकी छु,’ उनले भनिन्, ‘मलाई श्रीमान् दामोदर दाहाल र ससुरा युवराज दाहालको सहयोग छ ।’ उनले माइतीको जग्गा भाडामा लिएर बाख्रा र कुखुरापालन तथा कृषि कर्म सुरु गरेकी हुन् । उनको कामप्रति श्रीमान् त्यत्तिकै सन्तुष्ट छन् ।

‘हामीलाई खान लाउन समस्या छैन,’ दामोदर दाहालले भने, ‘तर पनि काम गर्छु भन्नेलाई मैले सक्दो सहयोग गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्