कोरोना सरेपछि ८४ हजार करोड पैसा नष्ट



काठमाडौं । पैसाबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि चीनमा गत फागुनमा ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाबाट कोरोना फैलने सम्भावना कम गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट संकलित पैसा नष्ट गरेको हो ।

यसअघि गरिएको अध्ययनले पैसाबाट विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार पैसामा ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकले कुनै पनि भाइरसका जीवाणु पैसामा दुई सातासम्म जीवित रहने बताएका छन् ।

पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखापरेका छन् । सो अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठप्रकारका व्याक्टेरिया देखिए । अध्ययनअनुसार तरकारी बजार, मासु, पान, पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने ठाउँ र माग्नेसँग भएको नोटमा सतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।

विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा संक्रमण भएको पुष्टि गरेको छ । अमेरिकी पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेसनल’ले प्रमाणित गरिसकेको छ । कोकेनलाई हेपाटाइटिस ‘सी’को स्रोतका रूपमा लिइन्छ ।

दक्षिण अफ्रिकाको पैसामा विभिन्न किसिमका ९० प्रतिशत प्राणघातक व्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ । मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहोर भएको परीक्षणक्रमममा पाइएको थियो । कोरोना भाइरसले विश्वव्यापी रूपमा फैलिएसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत कोरोना भाइरस पैसाबाट पनि सर्ने भएकाले बच्ने उपाय प्रयोग गर्न आग्रह गरिसकेको छ ।

पैसामा ब्याक्टेरिया विकसित

विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलने इन्जिनियर राम बाडे बताउँछन् । पैसा प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरेमा व्याक्टेरिया बढी फैलने सम्भावना धेरै हुन्छ । ‘दैनिक एकबाट अर्को हात हुँदै अत्यधिक आदान–प्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्नुजस्तै हो,’ बाडेले भने, ‘जति धेरै पैसाको प्रयोग आउँछ, उति प्रदूषण फैलन्छ ।’

दैनिक प्रयोगमा आएका पैसामा मानिसको थुक, दिसा–पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ । नेपाली पैसाको प्रदूषण स्तर जाँच गर्दा प्रस्टै देखिने उनको भनाइ छ ।

कीटाणुनाशक पैसा बनाउने तरिका

पैसामा भएको व्याक्टेरिया तथा भाइरस विभिन्न तरिकाबाट हटाउन सकिन्छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट सहजै कीटाणुनाशक बनाउन सकिन्छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’बाट पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अत्याधुनिक प्रविधि भएको उनी बताउँछन् ।

अमेरिका, कोरिया, सिंगापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र दुबईका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक व्याक्टेरिया तथा भाइरसलाई कीटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन् ।

नेपाली पैसामा के–कस्ता प्राणघातक रोगको सूूक्ष्म जीव छन् भनी अध्ययन अनुसन्धान गर्नु अपरिहार्य भइसकेको छ । प्राणघातक रोगबाट बच्ने उपाय, कीटाणुनाशक उपकरण लगाउने र जनचेतना जगाउने कार्यक्रम ल्याउन ढिला गर्न हुँदैन । पैसा कीटाणुनाशक बनाउन उपकरण प्रयोग गर्ने र पैसा प्रयोग गरिसकेपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।

(रासस)

 

प्रतिक्रिया दिनुहोस्