घना जंगलभित्र करोडौंको रिसोर्ट


काठमाडौंदेखि सय किलोमिटर उत्तर–पूर्वमा पर्ने सिन्धुपाल्चोक घुुम्न जाने निकै भेटिन्छन् । तर, तिनको भ्रमणलाई सुरुचिपूर्वक ध्यान दिई सहजता प्रदान गर्ने प्रबन्धमा जुटेकी कुसाङ शेर्पाको कला वास्तवमै उदाहरणीय छ ।

पछिल्लो केही समयमा दोलखा भीमसेन जाने बाटोमा पर्ने मुडेलाई लक्ष्य बनाई घुम्न जाने ‘जोडी’ निकै बढेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो स्थान आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्न थालेको छ ।

कुसाङले मुडेस्थित हर्स सु माउन्टेन रिसोर्टमा २ करोड अतिरिक्त लगानी गरेकी छन् । उनले प्राकृतिक रङको रिसोर्टलाई अझ आकर्षक र मनमोहक बनाएकी छन् । ३० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा उनले फिनिस सोना, टेनिस कोर्ट, स्तरीय रेस्टुरेन्ट आदिलाई थप व्यवस्थित बनाएकी छन् ।

दोलखा भीमसेन दर्शन गर्न जानेका निम्ति लोकप्रिय बिसौनी मुडे बनेको छ । यहाँ बास बसेर भोलिपल्ट दोलखा भीमसेनको दर्शन गरी फर्कने निकै बढेको छ । ग्रामीण पदयात्रा, मनोरम हिमशृंखला अवलोकन र सूर्याेदयदेखि सूर्यास्तसम्म नियाल्न हर्स सु पुग्ने थुप्रै जोडी भेटिन्छन् । आन्तरिकदेखि बाह्य पर्यटकले रिसोर्ट बसाइलाई अविस्मरणीय बताउने गरेको उनको अनुभव छ । रात्रिकालीन माहोल मनोरञ्जनपूर्ण बनाउन अतिथिको आग्रहमा रिसोर्टले विभिन्न उपाय खोजेको छ । टेन्टमा सुत्न चाहने डाँडातिर लाग्छन् भने फायर क्याम्प गर्नेहरू आगोवरिपरि बसेर चिसो भगाउन बारबिक्युसहित रसिक चुट्किला र प्रसंग उक्काइरहेका भेटिन्छन् ।

वरिपरि न जंगल न मानव बस्ती । कुसाङको यो पौरख रिसोर्ट पुग्ने जोकोहीले पनि प्रशंसा गर्छन् । न्यूनतम शुल्कमा उत्तम सुविधा संयोजन गर्न सक्ने क्षमता देखिन्छ । १५ जनाले रिसोर्ट सञ्चालनार्थ उनलाई सघाएका छन् । उनीहरूको परिवार पालिएको छ । बिदाइमा पाहुनालाइ मुडेको चिनोका रूपमा खरी ढुंगाबाट बनेका सामग्री र छुर्पी लैजान नबिर्सन आग्रह गर्न भुल्दिनन् ।

बस्तीभन्दा टाढा जंगलबीचमा आकर्षक रूपमा तयार गरिएको हर्स सु रिसोर्टका नियमित ग्राहक उच्चपदस्थ सरकारी अधिकारी, कूटनीतिक व्यक्ति, सेना तथा प्रहरीका उच्च अधिकृत हुन् । कतिपय उच्च अधिकारी साता दिनसम्म यहाँ बस्छन् । तर, सामान्य मानिसको पनि पहुँचभन्दा टाढा छैन रिसोर्ट ।

रिसोर्टभन्दा माथि जंगलबीचमा टेन्ट व्यवस्था गरिएको छ । ढुंगामाथि ढुंगाकै टेबल कुर्सीमा कफीको मज्जा लिइरहेका भेटिन्छन् । बौद्धमा हुर्के बढेकी कुसाङ मुडेको प्रमोसन गर्ने उद्देश्यले रिसोर्ट चलाएको बताउँछिन् ।

प्रकृतिलाइ नबिगारी आधुनिक सुविधायुक्त रिसोर्ट उनले सञ्चालन गरेकी छन् । रिसोर्टभित्रै कालिज, वनकुखुरालगायतका जंगली पन्छी पालेर आगन्तुकलाई थप मनोरञ्जन प्रदान गर्न कोसिस गरिएको छ । धार्मिक भावनाबाट प्रेरित भएर रिसोर्टको आम्दानीको केही हिस्सा स्थानीय आमा समूह तथा धार्मिक संघ–संस्थालाइ सहयोग गर्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्