विदेशीको शव बोकेरै ल्याइने, नेपालीको त्यतै फालिने



संसारकै उच्च हिमाली क्षेत्र हुँदै गरिने पदमार्ग ‘शेर्पेनी कोल’ हो । सर्वेक्षण नगरिए पनि नेपालको सबैभन्दा उच्च हिमाली क्षेत्र पार गरेर पदयात्रा गरिने शेर्पेनी कोललाई संसारकै अग्लो पदयात्रा मार्ग मानिन्छ ।

त्यति धेरै भएको छैन । २५/२६ वर्षअघिसम्म विदेशी पर्यटक काठमाडौं, इटहरी, धरान, धनकुटा हुँदै हिलेसम्म गाडीमा पुग्थे । हिलेबाट पैदल यात्रा सुरु हुन्थ्यो । हवाईजहाजबाट काठमाडौं वा विराटनगर हुँदै तुम्लिङटार पुग्नेहरू पनि त्यहाँबाट पैदलै हिँड्नुपथ्र्यो ।

हिजोआज हिउँदमा संखुवासभाको चिचिला–नुमसम्मै गाडी पुग्छ । पदयात्री हिउँदमा नुमसम्मै गाडीमा पुग्छन् । त्यहाँबाट पैदल यात्रा गर्छन् । नुमबाट टासीगाउँ, याङ्ले खर्क, खोङ्मा–ला, मकालु आधार शिविर, वरुणत्से आधार शिविर हुँदै शेर्पेनी कोल पार गरेर सोलुखुम्बुको मेरा–ला, खारे, ठाङ्ना, क्षेत्र–ला हुँदै लुक्ला पुगेर पदयात्रा पूरा गरिन्छ भने केही पदयात्रीले मेरा–ला वा वरुणत्चेबाट आम्फु लाप्चा हुँदै छुकुङ छिचोलेर दिङ्बोचे, फेरिचे, पाङ्बोचे, तेङ्बोचे, नाम्चे हुँदै लुक्ला पुगेर पदयात्रा पूरा गर्छन् ।

तुम्लिङटारबाट मानेभन्ज्याङ, चिचिला–नुम, टासीगाउँ, खोङ्माडाँडा, तुम्बुक, याङ्ले, हिलारी बेस क्याम्प हुँदै शेर्पेनी कोल (६,१२५ मिटर) पार गरिन्छ । सिधा भिरालो (पर्वतारोहण/पदयात्राको भाषामा स्टिभ–डाउन) छ । बाटो हिउँले ढाकिएको हुन्छ । ‘ब्लु आइस’ पार गर्दै अघि बढ्नुपर्छ । भोलिपल्ट वरुणत्चे (६,२०० मिटर हाराहारीको) हिमाल क्याम्प–१ मा वास बस्नुपर्छ । टासीगाउँसम्म मानिसको बसोवास रहेको छ ।

टासीगाउँपछिका क्याम्प खर्क/चउरमा हुन्छ । त्यहाँबाट एक दिन नाक ठोक्किनेगरी उकालो हिँडेपछि हिलारी बेस क्याम्प पुगिन्छ । त्यहाँदेखि हिउँमाथि हिँड्नुपर्छ । हिलारी बेस क्याम्प (४,२००) मिटर उचाइमा रहेको छ ।

शेर्पेनी कोल र वरुणत्चे–१ बीच (६,२००) मिटरको सेरोफेरोमा पदयात्रीले यात्रा गर्छन् । त्यतिबेला उनीहरूले खेपेको सास्ती भनिसाध्यै छैन । उच्च हिमाली भेगमा अक्सिजन कम हुन्छ । त्यसमाथि हिउँको यात्रा । थकाइ लागेको बेला आराम गर्ने सजिलो ठाउँ हुँदैन । थकाइ लागे हिउँमाथि नै बिसाउनुपर्छ । त्यतिबेला सबैको अवस्था उस्तै हुन्छ । त्यसमाथि भरियाको अवस्था झन् कमजोर हुन्छ । कतिपय पदयात्री तथा भरिया अत्यधिक चिसोका कारण फोक्सो र मस्तिष्कमा पानी जम्ने ‘हेप’ र ‘हेस’ले सिकिस्त हुन्छन् । कतिपयको हिँड्दाहिँड्दै ज्यानै जान सक्छ । कतिपय डोरीबाट चिप्लँदा सकुशल फर्कन सक्दैनन् ।

शेर्पेनी कोल पार गरेर वरुणत्चे आधार शिविर पुग्ने दिन ५०० मिटरजति डोरीमात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकका सरसामान भएको बेडिङ डोरीबाटै पास गर्नुपर्छ । कतिपय भरियाले भारी बोक्न नसकेर खानाको भारी बाटोमै छाड्छन् । त्यसरी छाडिएका खाना बाटोभरि देखिन्छ । हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर ज्यान गुमाउनेका शव पनि देखिन्छ । बेवारिसे शवजति नेपाली भरियाका हुन् ।

 

त्यस्तो अप्ठ्यारो र कठिन बाटो भए पनि युद्धवीर लोहोरुङ राईले ६ पटकसम्म ओहोर–दोहोर गरे । पाङ्मा संखुवासभा (हाल : अस्ट्रेलिया)मा रहेका राईले विगत सम्झे, ‘अरे सोल्टी, शेर्पेनी कोल नेपालको सबैभन्दा अप्ठ्यारो र खतरा पास हो । तगडा शेर्पा (पदीय हिसाबले गाइड गर्ने मान्छे) भएन भने त खत्तमै हुन्छ नि ।’

डोरी कसले टाँग्ने ? भरियालाई कसले सहयोग गर्ने ? गुरपलाई कसले डोर्याउने ? ‘त्यसमाथि तिर्खा लाग्दा पानी पिउनसमेत पाइँदैन । दिउँसोको चर्को घाममा हिउँ टल्केर आँखाले केही देखिँदैन,’ उनले सुनाए, ‘भारी बोक्नेलाई पार लगाउँदाको हैरान होइन्छ नि हौ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी हुन्छ ।’ त्यसैले यो मार्गमा विदेशी पदयात्रीले हत्तपत्त पदयात्रा गर्दैनन् ।

सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने शम्भु तामाङले समेत यो रुटमा दुईपटक पदयात्रा गरेका थिए । हिमालयज एक्टिभिज ट्रेकिङ एजेन्सी अध्यक्षसमेत रहेका तामाङ भन्छन्, ‘यो रुटमा पदयात्रा गर्न वास्तवमा विश्वकै साहसिक पदयात्रीले मात्रै आँट गर्न सक्छन् । तीन/चार दिन लगातार हिउँमा हिँड्नुपर्छ । त्यसमाथि शेर्र्पेनी कोल पार गर्न हिमाल चढ्ने सामान्य प्राविधिक ज्ञान चाहिन्छ ।’ कतिपय पदयात्री शरीरमा ‘एक्युपमेन्ट’ फिट गरेर पठाउँदा बीचमा पुगेपछि आत्तिन थाल्छन् ।

एकताका सूचना र सञ्चार अभाव तथा मानव बस्ती नभएकाले बीचबाटोमा जोकोही बिरामी परेमा उद्धारका लागि हेलिकोप्टर मगाउनसमेत सम्भव थिएन । बिरामी बचाउन सके मानिसले सकी नसकी बोकेरै उद्धार गर्थे । विदेशी पर्यटकको निधन भए बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो । नेपालीको ज्यान गए त्यतै छाडिन्थ्यो । जोकोही बिरामी भइहालेमा उसलाई उद्धार गर्न तीन/चारजना चाहिन्छ । बिरामी एक्लै घर फर्कन सम्भव हुँंदैन । फर्कने हिम्मत गरे पनि सकुशल घर फर्कन्छन् भनेर आस गर्न सकिँदैन ।

शेर्पेनी कोल पदयात्रामा निस्केका कतिपय विदेशी पदयात्री वरुणत्चेबाट आमालाप्चा, मिङ्माला पार गरेर छुकुङतिर निस्कन्छन् । कोही पदयात्री सेतोपोखरी, रातो ओडार, मेरा–ला, ठाङ्ना, क्षेत्र–ला हुँदै लुक्ला पुग्छन् ।

विश्वकै अप्ठ्यारो र उच्च हिमाली मार्ग भएर पार गरिने टासीलाप्चा पास (रोल्वालिङ क्षेत्र)भन्दा ‘शेर्पेनी कोल’ पदयात्रा मार्ग जोखिम मानिन्छ । यस मार्गको साहसिक पदयात्रा गर्न सफल विदेशी पर्यटक हर्षले पुलकित हुन्छन् । त्यतिबेला उनीहरूको खुसी शब्दमा व्यक्त गर्न कठिन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्