चार वडामा सेवा विस्तार गर्दै जनहित सहकारी



हलेसी (खोटाङ) । ‘बचत गर्ने बानी बसालौं, आर्थिक समृद्धितर्फ अग्रसर होऔं’ भन्ने मूल नारासाथ जनहित हलेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारणसभा सम्पन्न भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालय प्राङ्गणमा उसले आठौं साधारणसभा भव्यतासाथ सम्पन्न गरेको हो ।

गाउँघरमा छरिएर रहेका निष्क्रिय साना पुँजीलाई सहकारी पद्धतिमार्फत संकलन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरेर तमाम सेयर सदस्यको आर्थिक तथा साना ठूला समस्या समाधानार्थ उद्देश्यले सहकारी स्थापना गरिएको थियो । व्यावसायिक उद्यमी एवम् आर्थिक उपार्जनमा आत्मनिर्भर बनाउँदै आर्थिक स्तरोन्नतिका लागि यसले सहकारी र निजी क्षेत्रसहितको तीनखम्बे अर्थ नीतिलाई सहयोग पुर्याउन सहकारीको अर्थपूर्ण औचित्य रहेको जनहित हलेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखा समिति संयोजक नवीन चाम्लिङको भनाइ छ ।

सहकारीका सेयर सदस्य चाहनेलाई आर्थिक समृद्धिको सहकार्यमा वित्तीय एवम् व्यावसायिक ज्ञानसम्बन्धी तालिम सञ्चालन गरिएको छ । त्यतिमात्रै होइन, सेयर सदस्य तथा बचतकर्तालाई सरल र गुणस्तरीय वित्तीय सेवा सुविधा अभिवृद्धिका लागि सरकारले निर्धारण गरेको सरल व्याजदरमा आठ किसिमका बचत योजना र १४ किसिमका ऋण लगानी योजना अघि सारिएको सहकारीले जनाएको छ ।

पुँजी वृद्धिका लागि उसले सेयर सदस्य र हलेसी तुवाचुङ नगरपालिकाका चारवटा वडामा कार्यक्षेत्र बढाउने योजना अघिसारेको छ । प्रत्येक आर्थिक वर्षमा इमानदार ऋणी बचतकर्तामध्ये उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान गर्न थालिएको हो । उसले थोरै भए पनि सेयर लाभांश वितरण थालेको र निकट भविष्यमै आईएमईलगायतका विप्रेषण सेवाप्रदायक संस्थाको सहयोगमा विप्रेषण सेवासमेत सञ्चालन गर्न लागेको संस्थापक सेयर सदस्य यविन्द्र राईले जानकारी गराए ।

हलेसीमा सञ्चालित जनहित सहकारीले सेयर सदस्यलाई व्यवस्थित, पारदर्शी, सरल, गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको भन्दै आठौं साधारणसभाका प्रमुख अतिथि डिल्ली चाम्लिङले खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्