पत्रिकामा राखेर खानेकुरा खाँदा क्यान्सर


काठमाडौं । हामी बाहिरफेर जाँदा वा समूहमा बसेर खानेकुरा खाँदा पत्रिकाको प्रयोग गर्छौं । त्यतिमात्र नभई, पसलेले खानेकुरा पत्रिकामै पोको पारेर दिन्छन् । हामी पत्रिकामै राखेर खाइदिन्छौं । हामीले कहिल्यै सोचेका छैनौं, पत्रिकामा खानेकुरा राखेर खाँदा स्वास्थ्यमा गहिरो असर पर्छ ।

भारतको खाद्य सुरक्षा नियामक निकायले पत्रिकामा खानेकुरा राखेर खानेलाई सचेत गराउँदै भनेको छ, ‘पत्रिकामा खानेकुरा राखेको खाँदा स्वास्थ्यमा गहिरो असर पर्ने हुँदा ख्याल गर्नुपर्छ ।’ पत्रपत्रिकामा खानेकुरा पोको पार्नु वा पत्रिकामा राखेको खानेकुरा खानाले खतरनाक रोग लाग्न सक्छ ।

एफएसएसऐआईका अनुसार पत्रिकामा खानेकुरा पोको पारेर वा पत्रिकामा खानेकुरा राखेर खाँदा क्यान्सर लाग्न सक्छ । तसर्थ, भारतीय खाद्य सुरक्षा एवम् मानक प्राधिकारले पत्रिकामा खाना नराख्न र नखान सुझाएको छ । प्राधिकारका अनुसार खाना जतिसुकै स्वस्थवद्र्धक र स्वच्छ रहे पनि त्यसलाई पत्रिकामा पोको पार्दा हानिकारक बन्छ ।

पत्रिकामा राखेको खानेकुरा किन हानिकारक ?

पत्रिका छापिने बेलामा अनेकप्रकारका खतरनाक बायोएक्टिभ तत्व प्रयोग हुने गर्छ । जसले मानव शरीरलाई गहिरो असर गर्छ । यसका साथै प्रकाशनका लागि प्रयोग हुने मसी, कलर, पिगमेन्ट र परीरक्षक नोक्सानदेह हुन्छ । जुन खानेकुराको माध्यमबाट शरीरमा प्रवेश गर्छ । त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्