स्वास्थ्य संयोजकलाई सत्तोसराप



हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य संयोजक रामकुमार भगतले तीन आर्थिक वर्षदेखि एकल निर्णयले कार्यसम्पादन गर्दै आएको स्वास्थ्यकर्मीहरूको दाबी छ ।

विगतझैं यो आर्थिक वर्ष पनि नगर परिषद्अघि विभिन्न कार्यक्रम माग गर्नुपर्ने, नगर स्वास्थ्य नीति बनाउनुपर्ने महत्वपूर्ण काममा संयोजक भगतले ११ वटा स्वास्थ्य संस्थाका कुनै पनि कर्मचारीसँग खुला छलफल र बहस गर्दै गरेनन् । न त वर्षको सुरुमै यस्तो कार्यक्रम छ, कसरी, कुन ठाउँमा, कस्तो कार्यक्रम गर्दा हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य सूचकमा वृद्धि हुन्छ भनेर सोधिखोजी गरे । परामर्श लिए । नगरमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर छलफल गर्नुको सट्टा गत असार १५ गते भएको क्षयरोगको गोष्ठीमा सहभागी हुन नगरका जनप्रतिनिधिहरूलाई नै निम्ता गरिएन ।

नगरपालिकाको नीति तथा कार्यक्रम धमाधम बन्दै थियो । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षज्यूहरूको महत्वपूर्ण आतिथ्यतामा कार्यक्रम होला भन्ने आस थियो । तर, कल्पनामात्र भए । नगर प्रमुखको व्यस्तताका कारण गोष्ठीमा बस्न पाउनुभएन ।

गोष्ठीमा दिनैभरि स्वास्थ्य संस्थाको काम प्रभावित भयो । उनले स्वास्थ्य संस्थाको यो आएन, त्यो भएन भनेर हदभन्दा तल झरेर गाली गरे । मलाई काम सम्पन्न गर्न गाह्रो भो भन्दै मुर्मिरिए । दिनभरि गाली गरेरै बिताए ।

गुणस्तरीय काम गर्न कसरी सकिन्छ भनेर समयमै छलफल गरेको भए पो सहयोग गर्नु । मजत्तिको जान्ने कोही छैनन् भनेर स्वास्थ्यकर्मीलाई पूर्वाग्रही ढंगले गालीमात्रै गरेपछि समयमै काम कसरी सकिएला ? कामको प्रभावकारिता कस्तो होला ? उनले गाली गरिरहे, सुन्नेले सुनिरहे । गालीसमेत पूर्वाग्रही र आक्रोपूर्ण थियो ।

स्वास्थ्यको एघारबुँदे नगर स्वास्थ्य ऐन बनेको छ, पालना गर्नुभएन भने खबरदारी गरिने भन्दै थर्काउनसम्म थर्काए । उनले स्वास्थ्य विधि एक्लै बनाए किन छलफल गरेर बनाए अहिलेसम्म कसैले थाहा पाएका छैनन् । खुला छलफल नहुँदै बनिसकेको विधि पालना गर्नुपर्ने दबाबमात्रै आएपछि स्वास्थ्यकर्मी तीनछक परेका छौं । कस्तो विधि बनाउने, के बनाउने भन्नेसमेत छलफल हुँदैन । उनको यस्तो तौरतरिका पुरानै हो । प्रत्येक कार्यक्रममा नगर प्रमुखज्यूको आदेश भन्नेचाहिँ छुटाउँदैनन् । उनले सधैं त्यसो भनेको ‘भ्वाइस रेकर्ड’ चाहिएमा हामी उपलब्ध गराउन सक्छौं ।

गत आर्थिक वर्षमा महिला स्वास्थ्य स्वयम्सेविकाको भ्रमणमा भर्खरै काम थालेका सहरी स्वास्थ्य इकाइका कर्मचारी उनको रोजाइमा परे । यस वर्षको स्वास्थ्य शिविर सञ्चालनमा पनि ११ वटा स्वास्थ्य संस्थामा तीन–तीनजना पारामेडिक कर्मचारी हुँदाहुँदै एकजना अहेब र एकजना अनमी भएको सहरी स्वास्थ्यबाटै कर्मचारी हिँडाए । पाठेघर खसेको तथा तल्लो पेटको समस्या भएका महिलाका लागि बाहुनीडाँडाको झापामा क्याम्प चलाए ।

त्यहाँ पनि तिनै सहरी स्वास्थ्य इकाइकी अहेबलाई नै छानिए किन ? त्यस्तो क्याम्प चलाउन उनीभन्दा अन्य स्वास्थ्यकर्मी पाठेघर खस्ने महिलाको स्वास्थ्य व्यवस्थापनसम्बन्धी तालिम लिएका स्वास्थ्यकर्मी छैनन् र ? जुनसुकै कार्यक्रममा बारम्बार उनैलाई मात्र लिएर हिँड्दा उनलाई हेर्ने दृष्टिकोण सकारात्मक कसरी बन्छ ? उनीभन्दा दक्ष अरू छैनन् ? उनी समय–समयमा १५ दिनभन्दा बढी कार्यालय जाँदिनन् । त्यतिबेला उनको बेतलबी बिदा स्वीकृत हुन्छ कि ? नगर संयोजकले तलबी बिदा दिन्छन् ? यसरी मन परेको व्यक्तिलाई जे मन लाग्यो त्यो–त्यो सुविधा दिन मिल्छ ? एउटै व्यक्तिलाई भएभरको सुविधा किन भनेर सोधेमा संयोजक भगत सधैं भन्ने गर्छन्– कुन कर्मचारी लैजाने भन्ने निर्णय नगर प्रमुखज्यूबाट हुन्छ । मेरो हात हुँदैन ।

व्यक्तिगत काम छ भन्दै भगत बारम्बार सहरी स्वास्थ्य इकाइ हैदे जाने–फर्कनेक्रम बाक्लिएपछि हैदेवासीले उनको मोटरसाइकल ओहोरदोहोर गर्न गाह्रो हुनेगरी बाटोमा ढुंगा राखिदिएको चर्चा सेलाएको छैन । त्यतिमात्रै होइन, स्थानीयले आइन्दा भगतलाई हैदे बोलाएमा राम्रो हुने छैन भनेर अहेबलाई भनेपछि भगतलाई हैदे धाउन गाह्रो पर्यो । त्यसपछि निज अहेबलाई हैदे सहरी स्वास्थ्यबाट नवलपुर सहरी स्वास्थ्यमा सरूवा गरे । संयोजकको स्वार्थका लागि उनले कर्मचारीलाई जहाँ र जसरी पनि आफूखुसी गर्ने अधिकार पाएकै हुन् त ?

यो वर्ष आरआरटी गठन भयो । हामी सबै स्वास्थ्य संस्था प्रमुख थियौं । समिति गठन गर्दा छलफलै भएन । सिधै नगर प्रमुखले छनोट गर्नुभएको भनेर समिति गठन भएको संयोजक भगतले जानकारी गराए । यस्तो संवेदनशील विषयमा पनि छलफल र बहस नगरी समिति गठन गर्दा प्रभावकारी होला र ?

जिल्ला स्वास्थ्य कार्यालय हुँदादेखि ६३ बुँदे आचारसंहिता भन्दै नेपाल सरकारको स्वास्थ्य नियमअनुसार भएको स्वास्थ्य संथा प्रमुखले सातदिने बिदा प्रमाणित, हाजिर प्रमाणितजस्ता विषयमा खुला छलफल र बहस नगरी नीति परिवर्तन गरी लागू गर्न भ्याए ।

स्वास्थ्य संस्थामा सानातिना समस्या परे सम्बन्धित संस्थामा पुगेर के गर्दा सहज बनाउन सकिन्छ भनेर छलफल गर्नुअगाडि कुन ठाउँमा कार्यक्रम छ, कसरी गुणात्मक सेवा प्रवाह गर्न सकिन्छ भनेर गम्भीर हुनुभन्दा त्यहाँ पुगेर भाषणका नाममा गाली गर्न अगाडि छन् । यस्ता गाली शिरोमणिबाट के अपेक्षा गर्ने खै ? बरु कारबाहीबाट बचाइदिएको छु, होश गर्नुस् है भन्ने उनको बनावटी भनाइ राख्न पछि पर्दैनन् । उनलाई चाकरी गर्ने कर्मचारी दसौं दिन बिदा बस्दा वास्ता गर्दैनन् तर उनलाई मन नपर्ने कर्मचारी भैपरिआउने बिदा जाँदा कारबाही गर्ने धम्की दिन कुनै आइतबार पर्खैंदैनन् ।

संस्था र कर्मचारीलाई पूर्वाग्रही ढंगले हेर्ने दृष्टिकोणले कहिल्यै संस्थागत र व्यक्तिगत फाइदा हुँदैन । पूर्वाग्रही भएर व्यक्तिगत र संस्थागत विषयमा उनीसँग ‘डिस्कस’ गर्ने र उनले भनेको नमान्ने कर्मचारीको सानोभन्दा सानो कमीकमजोरी औंल्याइरहन्छन् । उनले भनेबमोजिम भएन भने सम्बन्धित व्यक्तिलाई पूर्वाग्रहीको सूचीमा राखिहाल्छन् । कुन समयमा कुनै स्वास्थ्य संस्थामा कसरी प्रभावकारी काम गर्न सकिन्छ र सेवा प्रवाह कसरी सुधार्न सकिन्छ, त्यसो गर्न कुन कर्मचारीलाई कस्तो समस्या होला कि भनेर चिन्तन गर्ने उनीसँग भावना छैन ।

संवत् २०७५ मंसिर १५ गते सबै–सबै मिलेर वनभोज कार्यक्रम आयोजना गरिएको थियो । त्यसको तीन÷चार दिनअघि नगरपालिकाबाट संयोजक भगत वनभोज गएका थिए । केही दिनअघि वनभोज गएकाले हामीले अनुरोध गरे पनि नजलान् भन्ने ठम्याइसाथ उनलाई केही भनेनौ । वनभोज जानेजति मेराविरोधी हुन्, तिनीहरूलाई कुनै पनि अवसर दिने छैन भन्दै झ्यलाी पिटे । वनभोज नलगेको विषयले चर्चामात्रै पाएन, कर्मचारीलाई तर्साउने र थर्काउने गरे ।

आफू बसेको कोठा हलेसीमा उनले क्लिनिक खोलेका छन् । नगर स्वास्थ्य सम्हालेका जोकोही अन्य कर्मचारीले त्यसरी क्लिनिक खोलेका भए उनले कारबाही गर्न सक्थे । तर, उनलाई भने नीतिमा कसले बाँध्ने ? आवश्यकताका आघारमा सामान खरिद र वितरण प्रणाली छँदै छैन । एउटै संस्थाका कर्मचारीसँग बसेर साह्रो–गाह्रो के छ भनेर कहिल्यै सोधेनन् । संस्थालाई के आवश्यक छ, त्यसबारे अहिलेसम्म छलफल चलाएको कसैलाई थाहा छैन । सामान खरिद गरिसकेपछि लिन आउने आदेशमात्रै आउँछ । पहिले–पहिले जिल्ला र केन्द्रले गरेको नीतिभन्दा उनको नीति कडा छ । सूचक वृद्धिको विषयमा नयाँ तौरतरिकाको छलफल र बहस हुँदैन । मन्त्रालय र विभागबाट ल्याउन र पार्न सकिने कार्यक्रम र तालिम–गोष्ठीका लागि योजनामा पहलकदमी पटक्कै छैन । विनियोजन बजेटको समेत पूर्ण व्यवस्थापन र परिचालनमा सामूहिक सहभागिता छैन ।

सम्बन्धित स्वास्थ्य संस्था प्रमुखहरूसँग बसेर खुला छलफल र बहस गरेरै कार्यक्रम बनाउँदा र कार्यान्वयन गर्दा उनलाई के असर पर्छ ? एक वर्षभित्रमा ६ जना कर्मचारीलाई सम्मान र पुरस्कृत गर्न भ्याए । उनले सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखहरूलाई यो–यो कारण र ‘क्राइटेरिया मिट’ गरेकाले पुरस्कृत गरिँदै छ भनेर कहिल्यै सुनाएनन् । यतिसम्म कि पुरस्कृत कर्मचारी पुरस्कार तथा सम्मान लिन आउँदा सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखलाई नै थाहा हुँदैन । नगरका सबै संस्था प्रमुखसँग छलफल गरेर कर्मचारी पुरस्कृत गर्दा उनको टाउको किन दुखेको होला ?

आजका मितिसम्म कुनै स्वास्थ्य संस्थाका कर्मचारीले उनलाई कुन कार्यक्रमका लागि कति बजेट आयो ? औषधि कति खरिद भयो ? कति वितरण गरियो ? गुणस्तर किन कमसल भयो ? भनेर कहिल्यै सोधेका छैनन् । मनपरी तरिकाले कार्यक्रम सञ्चालन गर्न पाएकै कारण हो वा अन्य पनि स्वार्थ भएकाले होला र त उनले समायोजनका लागि हलेसी तुवाचुङ नगरपालिका नै रोजे । जेहोस् आफूले निर्वाह गरेको भूमिका, स्वास्थ्य संस्था र नगरपालिकाबीच पुलको माध्यम बनेको खै ? सम्बन्धित स्वास्थ्य संस्थामा व्यवस्थित तरिकाले सेवा प्रवाह गर्दै आएकालाई संयोजकले हौसला दिन कहिल्यै जानेनन् । त्यतिमात्रै नभएर पूर्वाग्रही नबनी कार्यक्रम सञ्चालन र कार्यान्वयन नगर्ने उनको खराब चरित्रले नगरका स्वास्थ्यकर्मी आजित छन् । भगतको त्यही प्रवृत्तिले उनीहरूको मनोबल खस्केको छ । उनले भनेको र गरेको जस्तोसुकै व्यवहार स्वीकार गर्नुपर्ने बाध्यताले स्वास्थ्यकर्मी सधैं तनावमा हुन्छन् ।

(दुर्छिम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरू)

प्रतिक्रिया दिनुहोस्