जापानमा गलकोटेका मात्रै ५०० रेस्टुरेन्ट



रोजगारीको सिलसिलामा जापान पुगेका बागलुङको गलकोट क्षेत्रका व्यक्तिले जापानमै रेस्टुरेन्ट खोल्ने क्रम बढेको छ । जापानका मुख्य सहर टोकियो, नागोया र ओसाकामा धेरै गलकोटेले रेस्टुरेन्ट चलाएर बसेका छन् ।

रोजगारीका लागि जापान पुगेका अधिकांशले त्यहीँ रेस्टुरेन्ट सञ्चालन गरेर बस्ने गरेको गलकोट समाज जापान अध्यक्ष मोहन खत्रीले बताए । गलकोट क्षेत्रअन्तर्गत पश्चिम बागलुङका १६ गाविस परे पनि जापानमा भने करिब आठ/दस गाविसका धेरै व्यक्ति जापान पुगेका छन् । “गलकोट क्षेत्रबाट जापान पुगेका व्यक्तिले खोलेका रेस्टुरेन्ट पाँच सयभन्दा बढी छन्,’ खत्रीले भने, ‘यो संख्या अझै बढ†ने देखिन्छ ।’ दिनप्रतिदिन रेस्टुरेन्ट खोल्ने क्रम बढेकाले संख्या एकिन गर्न नसकिने खत्रीको भनाइ छ ।

खत्रीका अनुसार एकै व्यक्तिले सातवटासम्म रेस्टुरेन्ट सञ्चालन गरेका छन् । धेरैजसो रेस्टुरेन्ट टोकियो, नागोया र ओसाकाजस्ता मुख्य सहरमा खोलिएको खत्रीको भनाइ छ । ‘सुरुमा काम गर्ने उद्देश्यसाथ त्यहाँ पुग्नेहरूले पछि गएर आफैं व्यवसाय सञ्चालन गर्ने क्रम बढ†दो छ,’ खत्रीले भने, ‘यसले जापानमा टिकिरहने वातावरण सिर्जना गर्नुका साथै नयाँ रोजगारी पनि सिर्जना गरेको छ ।’

जापानमा सुरुका वर्षहरूमा पुग्ने नेपालीले राम्रो व्यावसायिक सफलता हासिल गरे पनि पछिल्ला वर्षमा जानेका लागि ठूलो चुनौती रहेको खत्रीले बताए । रेस्टुरेन्ट खोल्ने क्रम भने दिनप्रतिदिन बढ्दै गएको खत्रीले उल्लेख गरे ।

पछिल्ला वर्षमा जापान पुगेका विवाहित पुरुषले श्रीमतीलाई पनि जापान बोलाएर रेस्टुरेन्टजस्ता व्यावसायिक काममा हात हाल्ने गरेको टोकियोमा रेस्टुरेन्ट व्यवसाय गरेर बसेका गलकोट मल्म–९ का गुमानसिंह थापाले बताए । थापाका मात्रै टोकियोमा दुई रेस्टुरेन्ट छन् । घटीमा २० लाखदेखि बढीमा दुई करोड रुपैयाँसम्मको लगानीमा रेस्टुरेन्ट सञ्चालन हुने गरेका छन् । ‘नेपालीले धमाधम रेस्टुरेन्ट खोल्न थालेपछि नयाँ रोजगारी सिर्जना हुने गरेको छ,’ रेस्टुरेन्ट व्यवसायी थापाले भने । अर्काको होटल, रेस्टुरेन्टमा काम गर्नुभन्दा आफ्नै लगानीमा सञ्चालन गर्दा बढी कमाइ पनि हुने र व्यावसायिक सफलता पनि मिल्ने भएपछि धेरैले लगानी गर्न थालेको थापाको भनाइ छ ।
रेस्टुरेन्ट सञ्चालकले नेपालमा रहेका परिवारका सदस्य र आफन्तलाई पनि जापान लैजान सजिलो हुने गरेको बताउँछन् । नेपालीले सञ्चालन गर्ने गरेका रेस्टुरेन्टमा अधिकांश नेपालीले नै रोजगारी पाएका छन् ।

कम्तीमा पनि दुईदेखि १० जनासम्म नेपालीले एउटा रेस्टुरेन्टमा काम गर्ने गरेका छन् । ७५ प्रतिशत नेपाली र २५ प्रतिशत विदेशीले नेपालीका रेस्टुरेन्टमा रोजगारी पाएको गलकोट समाज जापान अध्यक्ष खत्रीले बताए ।

त्यहाँ रहेका रेस्टुरेन्टमध्ये ७० भन्दा बढी त मल्म गाविसबाट जापान पुगेका व्यक्तिले नै सञ्चालन गरेका छन् । जापान पुगेका गलकोटेले बर्सेनि करोडौं रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल भित्र्याउने गरेका छन् । मासिक लाखौं रुपैयाँ कमाइ हुने र रोजगारीको प्रत्याभूति हुने भएपछि जापान नेपालीका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्