पञ्चकर्म ‘प्राक्टिस’



आयुर्वेदमा दुई चिकित्सा पद्धति हुन्छन् । पहिलो– समन । दोस्रो– सोधन । समन भनेको आयुर्वेदिक औषधि खुवाएर रोग निर्मूल पार्ने चिकित्सा पद्धति हो । सम्बन्धित मानिसका शरीमा भएका विषाक्त पदार्थ बाहिर निकालेर रोग निर्मूल पार्ने विधिलाई सोधन चिकित्सापद्धति भनिन्छ । सोधनअन्तर्गत पञ्चकर्म पर्छ । ‘आयुर्वेदमा पाँच कर्म हुन्छन्,’ हलेसी तुवाचुङ नगरपालिकाको आयुर्वेद पूर्वसंयोजक राजेन्द्र पोखरेलले सुनाए, ‘पञ्चकर्म भनेको बमन, विरेचन, बस्ती, नश्य र रक्तमोक्सण हुन् ।’

पञ्चकर्मअन्तर्गत सबैका आ–आफ्नै प्रकृतिका काम हुन्छन् । जस्तै ? ‘पञ्चकर्मअन्तर्गत बमन (भोमिट गराउने), विरेचन (पखाला लगाउने),’ आयुर्वेद पूर्वसंयोजक पोखरेलले सुनाए, ‘बस्ती (पाइपद्वारा औषधि लगाइने), नश्य (घाँटीमाथि लागेका रोगलाई नाकबाट औषधोपचार गरिने), रक्तमोक्षण (शरीरमा भएका विषाक्त रगत बाहिर निकालिने) पद्घति हुन् । रक्तमोक्षणका लागि जुका प्रयोग गरिन्छ ।’

पञ्चकर्मभित्र पनि १०/११ वटा सहायक कर्म हुन्छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापामा पञ्चकर्म (पूर्वकर्म) सञ्चालनमा छ । त्यसपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङमा सुरु भएको दोस्रो हो । हिजोआज त आयुर्वेदका सबै स्वास्थ्य केन्द्रमा पञ्चकर्म (पूर्वकर्म) सेवा सञ्चालनमा रहेको उनले जानकारी गराए ।

‘बिरामी नहुँदासमेत हाम्रो शरीरमा विषाक्त हुन्छन् । त्यतिबेला पञ्चकर्मद्वारा शरीरको स्वधन कर्म लिन सकिन्छ,’ उनले जानकारी गराए, ‘पञ्चकर्म लिन बिरामी नै हुनुपर्छ भन्ने छैन । हामीले टक्सिन खाइराखेका हुन्छौं । त्यसलाई पसिनाको माध्यमबाट बाहिर निकाल्न पञ्चकर्म उपयुक्त मानिन्छ ।’

स्वस्थ मानिसले समेत पञ्चकर्म सेवा लिन सक्छन् । बिरामीले त यो सेवा लिने नै भए । आफू हलेसीमा रहँदा विशेषगरेर नशा, मस्तिष्क, माइग्रेन, पिनास, निद्रा नलाग्ने, तनावमा भएका मानिस, हाड, जोर्नी र नशासम्बन्धी समस्या भएकाहरू औषधोपचारका लागि आएको उनले सम्झे ।

‘खोटाङेका लागि पञ्चकर्म नयाँ सेवा हो,’ उनले विगत कोट्याए, ‘अपवादबाहेक जिल्लावासीलाई पञ्चकर्मबारे थाहा छैन । हलेसी तुवाचुङ नगरपालिकावासी समेत अनभिज्ञ हुने नै भए । तसर्थ, विद्यालय आयुर्वेद शिक्षाअन्तर्गत पहिले नगर र त्यसपछि खोटाङका सबै विद्यालय पुगेर जानकारी गराउनुपर्छ । म हलेसीमा रहँदा हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिलाई समेत पञ्चकर्मबारे अवतग गराएको थिएँ । यसबारे धेरैभन्दा धेरैलाई जानकारी गराउन आवश्यक छ ।’

यो ‘सुपर स्पेसियालिस्ट ट्रिटमेन्ट’ हो । जहाँ पायो त्यहाँ सेवा लिन पाइँदैन । आयुर्वेदअन्तर्गतको यस्तो उपचार ठुल्ठूला अस्पतालमा मात्रै पाइन्छन् । विकसित देशमा यसबारे जान्नेहरू बाक्लै भेटिन्छन् । पञ्चकर्मले शरीरका विषाक्त बाहिर निकालेर सम्बन्धित व्यक्तिलाई स्वस्थ बनाउँछ । ‘बुझ्नेले यो सेवा लिन लालायित हुन्छन्,’ उनले खुसी व्यक्त गरे, ‘म हलेसी रहँदा अपेक्षा गरेभन्दा धेरैले सेवा लिएका थिए ।’

निजीमा स्वेदन कर्म (फुलबडी स्टिम) लिँदा पाँच सय रुपैयाँ पर्छ । ‘म हलेसीमा रहँदा त्यही कर्म दुई सयमा गराएका थियौं,’ उनले प्रस्ट्याए, ‘यो सेवा लिँदा ग्यास प्रयोग हुन्छ । विभिन्न किसिमका औषधि चाहिन्छन् । त्यो किन्न सरकारी दरमा थोरैभन्दा थोरै शुल्क तोकेका थियौं । म झापा झरेपछि मूल्य फेरबदल भयो कि ?’

सेवाग्राहीले पञ्चकर्मका सबै सेवा लिन पर्यो भने कति खर्च लाग्ला ? ‘जोकोहीले पाँचवटै कर्म लिनुपर्दैन । फरक–फरक प्रकृतिका बिरामीको फरक–फरक कर्मबाट उपचार गरिन्छ,’ उनको भनाइ छ, ‘त्यतिबेला हलेसीमा शिरोधारामात्रै दुई सय रुपैयाँ लिन्थ्यौं । अन्य कर्म त एक सयदेखि एक सय ५० रुपैयाँसम्म लिन्थ्यौं ।’

बमन, विरेचन र रक्तमोक्षण उपचार शुल्क अलि बढी लाग्छ । दुवै उपचार पूरा गर्न कम्तीमा साता दिन लाग्छ । सेवा लिनेलाई प्रयोग गरिने औषधि र सेवाअनुसार शुल्क लाग्छ । बमन, विरेचन र रक्तमोक्षण सेवा लिनेले एकपटकमा पाँचदेखि ६ सय रुपैयाँ खर्चिनुपर्ने उनले सुनाए । कतिपय ठाउँमा स्थानीय तहको सहयोगमा निःशुल्क सेवासमेत प्रदान गरिएको छ ।

पछिल्लो समय घुँडामा समस्या देखिने बढिरहेका छन् । उनीहरूलाई उठ्यो बस्न गाह्रो हुने, बसेपछि उठ्न गाह्रो हुन्छ । यो कुन कर्मअन्तर्गत पर्ला ? ‘यो समस्या धेरै कारणले हुन्छन् । कसैको हड्डी खिएको हुन सक्छ । कसैको नशा च्यापिएका होलान्,’ उनले वास्तविकता बताए, ‘युरिक एसिडले पनि दुख्न सक्छ । तसर्थ, पहिले डायोग्नोसिस गर्छौं । कारण पत्ता लागेपछि उपचार थालिन्छ । घुँडाको समस्याले समातेकालाई जानु बस्ती विधिबाट उपचार गरिन्छ ।’

घुँडामा समस्या भएकालाई सम्बन्धितको घुँडावरिपरि पीठोको घेरा लगाएर खाल्डो पारेर ‘मेडिकेटेड वायल’ मनतातो बनाएर ४५ मिनेटसम्म सेकिन्छ । यसो गर्दा तेल भित्रैसम्म गएर घुँडाको सुन्निएका तन्तु ठीक पार्नुका साथ दुखाइ कम गर्छ । नशासमेत बलियो बनाउँछ ।

आयुर्वेदको महत्वबारे जानकार नेपाली कमै छन् । ‘हामीलाई शारीरिक दुखाइ भएको पाँच मिनेटमा आराम गराउने औषधि चाहिएको छ,’ दूधे आयुर्वेद स्वास्थ्य केन्द्र झापा प्रमुख पोखरेलको दाबी छ, ‘सागमा युरिया मल र गोबर (अर्गानिक) मल लगाँदा युरिया मलमा रोपेको पाँच दिनमै खानलायक हुन्छ । तर, त्यसमा विषाक्त हुन्छ । गोबरमा रोपेको साग खानलायक बन्न समय लाग्छ । तर, भिटामिनयुक्त हुन्छ । रोजाइ आ–आफ्नै हुन्छन् ।’

एलोपेथिक औषधि भनेको युरिया मल हो । आयुर्वेदिक भनेको अर्गानिक मल सम्झे हुन्छ । मान्छेले सामान्यतः टाउको दुख्दासमेत एलोपेथिक औषधिको सहारा लिन्छन् । उनीहरू धैर्य गर्न सक्दैनन् । एलोपेथिकको ‘साइड इफेक्ट’बारे सोच्ने फुर्सद कसैलाई छैन । आयुर्वेदिक उपचारको सहारा लिँदा समय लाग्छ । तर, जरैदेखि रोग निर्मूल पार्छ । आयुर्वेदिक औषधि १५ दिन खानुपर्छ । एलोपेथिक औषधिले चाँडै छुन्छ ।

मुलुभरिका अस्पतालमा पूर्वकर्म सेवा प्रवाह गर्ने स्वास्थ्य मन्त्रालयको आयुर्वेद विभागले निर्देशन दिएको थुपै्र भइसकेको छ । ‘पञ्चकर्मले हामीलाई फाइदै–फाइदा गर्छ,’ शिवसतासी नगरपालिका आयुर्वेद शाखा प्रमुखसमेत रहेका राजेन्द्र पोखरेलले पुछारमा भने, ‘एलोपेथिकभन्दा पहिलेदेखि आयुर्वेदिक चिकित्सा पद्धति अभ्यास हुँदै आएको हो ।’

प्रतिक्रिया दिनुहोस्