केराको थाम बेचेर २५ लाख


महोत्तरीसहित मिथिला क्षेत्रमा दीपावली चाड केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दीपावली (तिहार)को मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आमप्रचलनले किसानका लागि यो चाड आर्जनका लागि खास अवसर बनेको हो ।

केराका बोट झ्याङमा धेरै गाँजिएपछि झ्याङमा उखेल्नुपर्ने बोट तिहार पर्खेर बसेका किसानले अहिले बोट उखेलेर राम्रो आम्दानी गरेका छन् । ‘केराको झ्याङमा बोट गाँजिएर केही बोट (थाम) उखेल्नुपर्ने भएको थियोे,’ बर्दिवास नगरपालिका–९ पशुपतिनगरका केरा खेती गर्दै आएका किसान ब्रह्मदेव महतोले भने, ‘अन्य बेलामा गाँजिएका बोट उखेल्न, फ्याँक्न थप खर्च लाग्ने थियो तर दीपावलीमा भने फ्याँकिनुपर्ने बोट राम्रो मूल्यमा बिक्री हुने भएकाले गाँजिएका बोट उखेल्न चाड पर्खेका हौं ।’

दीपावलीमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्परानुसार जिल्लाका गाउँ, नगर, बस्तीमा केराका थामको माग बढ्ने गरेको छ । यसपालि थामका लागि एक साता पहिलेदेखि नै बैना (पेस्की) लिइएको किसानले बताएका छन् । कसैकसैले चार थामको र सामान्यतया दुई थामचाहिँ आमरूपमै स्वागतद्वारमा लगाइने चलनले दीपावलीमा केरा थामको राम्रो व्यापार हुँदै आएको जिल्लाकै गौशाला नगरपालिकाको लक्ष्मीनिया बटुवाका किसान रामनरेश महतोको भनाइ छ ।

चाडबाडमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थाम (बोट) बाट बनाइने परम्परा भएकाले मिथिला क्षेत्रमा यसको निकै महत्व हुने गरेको छ । चाडको ठीक बेला थाम नपाइन सक्ने र त्यसबेला महँगो पर्ने भएकाले एक साताअघिदेखि नै झ्याङ (केराघारी) मै गएर मोल तय गरिएको थाम किन्नेहरूले बताएका छन् ।

खासगरी जिल्लाका बजारस्थित व्यापारिक प्रतिष्ठानका सञ्चालक अहिले केराको थाम किन्न गाउँबस्ती चहारिरहेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक रूपमै केरा खेती गर्दै आएका किसान सत्यनारायण यादवले आफूले ३५ हजारको केराको थाम बेचेको बताए । ‘हेर्नुहोस्, राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट रहनुहुँदैन, बोट त छाँट्नु नै पर्छ,’ लगभग एक बिघा क्षेत्रफलमा केरा खेती गरेका उनले भने, ‘यस्ता झ्याङमा हामी बोट छाँट्न दीपावली पर्खने गरेका छौं ।’ त्यत्तिकै उखेलेर फाल्नैपर्ने बोट तिहारमा भने आयआर्जनको राम्रो स्रोत बन्ने गरेको महतो र यादवजस्तै अरू किसान बताउँछन् ।

चाडविशेषमा जिल्लाका मुख्य बजार बर्दिवास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहित व्यापारिक प्रतिष्ठानका सञ्चालक थामको खोजीमा बस्तीबस्ती पसेपछि केरा खेती गर्ने किसानले तिहार खर्चको जोहोमा सहयोग पुगेको बताएका छन् । खर्चबर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला व्यापारीहरू घरमै आएर थामको पैसा बुझाएर जाँदा चाड मान्न सजिलो भएको जिल्लाकै भङ्गाहा नगरपालिका–७ हतिसर्वाको झपौल बस्तीका केरा खेती गर्ने किसान रामचन्द्र महराको भनाइ छ ।

दीपावलीमा एक जोडा केराका थाम ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । आफ्नो १० कठ्ठा क्षेत्रफलमा लगाइएको केरा खेतीको प्लटमा नयाँ कोथा बेचेर १५ हजार लिइएको बलवा नपाको भगवतीपुरकी किसान खोजिदा खातुनले बताए । खासगरी तिहार र छठमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आफूहरूको आयआर्जन र गुजाराको राम्रो साधन बनेको आमकिसान बताउँछन् ।

मिथिला क्षेत्रमा दीपावली र छठका अवसरमा स्वागतद्वार बनाउन परम्परागत रूपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकारहरूको भनाइ छ । वैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोक संस्कृतिको अभिन्न अंग नै बनिसकेको मिथिला संस्कृतिका ज्ञाता एवं वरिष्ठ पत्रकार जिल्ला सदरमुकाम जलेश्वर–४ सुगाभवानीपट्टीका ७६ वर्षीय कृष्णचन्द्र झाले बताए ।

दीपावली र छठमा समेत जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत २५ लाखभन्दा बढीको कारोबार भएको जलेश्वर उद्योग वाणिज्य संघ अध्यक्ष कृपाशङ्कर साहले बताए । यसपालि एक साताअघि नै थामसँगै चाडविशेषकै लागि घरीको समेत खरिद बिक्री सुरू भएकाले कारोबार रकम अझै बढ्ने छाँट देखिएको उनको भनाइ छ ।

जिल्लामा चाडविशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको संख्या र क्षेत्रफल बर्सेनि बढ्दै गएको छ । अहिले जिल्लामा तीन हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमै केरा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वर (महोत्तरी)ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्