‘मास्क नपाए सुदिल फार्मेसी कपन जानू’



काठमाडौं । कोरोना महामारीबाट बच्न सरकारले ‘लकडाउन’ लागू गर्नुअघिदेखि नै काठमाडौं उपत्यकाका क्लिनिक तथा बजारमा सहज रूपमा मास्क किन्न पाइँदैनथ्यो । सरकारले गत चैत ११ बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म ‘लकडाउन’ घोषणा गरेपछि सहज रूपमा मास्क किन्न पाइँदैनथ्यो ।

बजार तथा क्लिनिकमा सहज रूपमा मास्क किन्न नपाइने भएपछि सुदिल फार्मेसी एन्ड डाइग्नोस्टिक ल्याब सेन्टरले निःशुल्क मास्क वितरण थालेको छ । काठमाडौंको कपन रुद्रमतिचोकमा रहेको सुदिल फार्मेसी सञ्चालक सुभान राईले परोपकारी काम थालेपछि कपनवासी लाभान्वित भएका छन् ।

संखुवासभा स्थायी घर भई रुद्रमतिमा मेडिकल सञ्चालन गरिरहेका राईले पाँच दिनदेखि मास्क निःशुल्क वितरण थालेका हुन् । ‘सेवा नै धर्म हो भनेर बाँडेको हुँ । धेरै भएर मास्क निःशुल्क बाँडेको होइन,’ उनले जानकारी गराए, ‘अब एक सातासम्म बाँड्नेछु ।’

मास्क नपाएर हैरान हुनेले कपनको रुद्रमतिचोकमा रहेको सुदिल फार्मेसी एन्ड डाइग्नोस्टिक ल्याब सेन्टर पुग्दा हुन्छ । साँझ ६ देखि ७ बजेसम्म मास्क बाँडिन्छ । त्यो पनि निःशुल्क । भएन त काइदा ?

निःशुल्क मास्क पाइने भएपछि दैनिक ३० देखि ४० जनासम्म सेवाग्राही आउने सुदिल फार्मेसीले जनाएको छ । फार्मेसीका अनुसार, प्रतिव्यक्ति तीनदेखि पाँचवटासम्म मास्क उपलब्ध गराइन्छ ।

मास्क किन्नसमेत नपाइरहेको अवस्थामा निःशुल्क पाउँदा मेडिकलमा एक घन्टासम्म सानोतिनो भीडभाड लाग्ने गरेको मेडिकल सञ्चालक सुभान राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस्