भीरमह बेचेरै वार्षिक ४० लाख आम्दानी


म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेको पहाडको भीरमा भीरमौरीको मह निकाल्ने कोसिस गर्दै गर्दै स्थानीय । अग्ला पहाडमा डोरीको भर्याङ बनाएर मह निकाल्ने स्थानीयको पुख्र्यौली पेसा हो । तस्बिर : कमल खत्री

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह बिक्री गरेर ४० लाख रुपैया भित्र्याइएको छ ।

कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुममा ६०, जिर्जाभीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह व्यापारीसमेत रहेका स्थानीय चित्र छन्त्यालले बताए ।

ठूलो भीरमा मिहिनेत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्ने छन्त्यालले बताए । झन्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहाडमा यो वर्ष करिब दुई हजार लिटर मह निकालिएको उनको भनाइ छ । बजारमा भीरमह प्रतिलिटर दुई हजारमा बिक्री भइरहेको उनले बताए ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेका अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् । मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई व्यापारीले दैनिक तीन हजार, मह तान्ने टाउकेलाई एक हजार आठ सय र मह छान्ने सिपालुलाई एक हजार पाँच सयसम्म ज्याला दिनुपर्ने छन्त्यालको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरमा भीरमहको माग उच्च छ । एक सिजनमा ज्याला, राजस्व र अन्य व्यवस्थापन गरी करिब २५ लाखभन्दा बढी खर्च हुन्छ भने मह बिक्री गरेर ४० लाखको हाराहारीमा आम्दानी भएको मह व्यापारीको भनाइ छ । ठूलो भीरमा १० र सानोमा ६ जनाको जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनीहरूले बताएका छन् । बस्तीबाट धेरै टाढा विश्वकै सातौं अग्लो धौलागिरि हिमालको फेद आसपासका क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा वृद्धि भएको बताइएको छ । भरीमौरीको संरक्षणमा समेत विशेष ध्यान दिने गरेको पुराना भीरमह सिकारी रिबहादुर विकले बताए ।

वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेंसी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ । भीरमह काढ्दा परङमार्फत गएका सिकारीले गोलामा धूवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्न्छ । अनुमति लिएर भीरमह निकाल्नेहरूबाट वडा कार्यालयले राजस्व संकलन गरी गाउँपालिकामा पठाउने गरेको वडाध्यक्ष गमन छन्त्यालले बताए । आकाशमा उड्ने चरोसमेत बस्न नसक्ने ठाउँमा युवाहरू डोरीको सहायताले पुग्ने गरेको दृश्यले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने उनको भनाइ छ ।

कुइनेमङ्गलेबाहेक गुर्जा, लुलाङ, चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्लेलगायत स्थानमा भीरमह पाइन्छ । गुलियो र स्वादिलो हुने भीरमह विशेषगरी यौनवद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्