दुई कुखुराको आम्दानी १ लाख रुपैयाँ


ऐंसेलुखर्क (हलेसी) । वैदेशिक रोजगारीमा जानु रहर नभएर बाध्यता हो । वैदेशिक रोजगारीले आर्थिक लाभ त हुन्छ नै त्योभन्दा धेरै मानसिक पीडाले थिल्थिलो बनाउँछ । मानसिक पीडाले सम्बन्धित मानिसलाई कमजोर बनाउँछ ।

आफूलाई कमजोर बनाउँदै अर्थोपार्जन गर्नुभन्दा स्वदेशमै केही गर्नु सयौं गुना उत्तम हुन्छ । इको पोल्ट्री फार्म भक्तपुरका सञ्चालक दिनेश राईले स्वीकारे, ‘विदेश होइन, स्वदेशमै सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्दा लाख हुन्छ ।’

इको पोल्ट्री फार्म भक्तपुरका सञ्चालक राई एकताका वैदेशिक रोजगारीमा जान चाहन्थे । तर, गएनन् । ‘उर्वर समय विदेशमा खर्चेर फर्कंदा आफ्नै देश बिरानो लाग्छ,’ पोल्ट्री फार्म भक्तपुरका सञ्चालक राईको बुझाइ छ, ‘कमाएर ल्याएको पैसा सकिन्छ । समस्या फेरि उस्तै । तसर्थ, अर्काको देशमा पसिना बगाउनुभन्दा स्वदेशमै उद्यमी बन्नु उत्तम हुन्छ । म त्यही बाटोमा हिँडिरहेको छु ।’

कुखुरा पालेर उद्यमीको परिचय बनाएका उनलाई घरपरिवारको सहयोग छँदै छ । घरपरिवारको सहयोग पाएकाले उनले कुखुराबाटै मासिक ५० हजार रुपैयाँभन्दा हात पार्छन् । घरपरिवारसँगै बसेर मासिक ५० हजार आर्जन गर्नु भनेको सामान्य होइन । व्यवसाय गर्न कला पनि चाहिन्छ । अरूले हात नहालेको व्यवसाय गर्दा सफल भइन्छ भनेर उनलाई थाहा छ । त्यही भएर उनी सफल बन्दै गएका छन् ।

‘सुरुमा रहरैरहरले तीनवटा सिल्की कुखुरा पाल्न थालेको थिएँ,’ हलेसी तुवाचुङ नगरपालिका–९ अर्खौलेनिवासी उनले जानकारी गराए, ‘पार्टी प्यालेस सञ्चालकले सजाउनका लागि माग्दा राम्रो दाममा बेच्न पाएँ । त्यसपछि हौसला बढ्दै गयो । व्यावसायिक रूपमा पाल्दा राम्रै होला भन्ठानेर कुखुरा बेचेको पैसाले कालो मासु भएको कुखुरा र बेन्टम कुखुरा घरमै पाल्न थालें ।’

त्यतिबेला सिल्की प्रजातिका कुखुराको एक जोडी चल्लाको एक हजार रुपैयाँ पथ्र्यो । त्यही चल्ला भालेपोथी छुट्टिँदा उनले जोडीको ६ हजारमा बेचेका थिए । इको पोल्ट्री फार्म भक्तपुरमा अहिले १३/१४ प्रजातिका कुखुरा देख्न सकिन्छ ।

बजार समस्या छैन । पहिले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘मार्केटिङ’ गर्ने उनलाई हिजोआज काठमाडौं उपत्यकाबाहिरबाट माग गर्नेको कमी छैन । आफ्नै तरिकाले गरेको विज्ञापन देखेर सुनेर कतिपय कुखुरा फार्म हेर्न आउँछन् । आउनेले रहर लागेकाले घरमै पाल्ने भन्दै लैजान्छन् । एकदिने चल्लाको माग बढ्दै गएको छ । ‘ठूला कुखुरा हामीसँग रहँदैनन्,’ उनले सुनाए, ‘माग धेरै भएकाले पु¥याउन कठिन छ ।’

सबै प्रजातिका कुखुराको माग गरिन्छ । त्यसमध्ये सिल्की प्रजातिका चाइनिज कुखुरा, बेन्टम प्रजातिका जापानी कुखुरा, कडकनाथ प्रजातिका इन्डोनेसियाली कालो मासु हुने कुखुराको माग धेरै छ ।

‘स्वास्थ्यका हिसाबले कडकनाथ कुखुराको मासु खान उत्तम मानिन्छ,’ उनले थपे, ‘डाक्टरको भनाइ मान्ने हो भने महिलालाई आइरन चाहिने भएकाले कडकनाथको मासु स्वास्थ्यवद्र्धक मानिन्छ ।’ कडकनाथको मासु पुरुषका लागि समेत त्यत्तिकै उपयोगी ठानिन्छ ।

अण्डाका लागि अमेरिकन ह्वाटलेगन कुखुरा उपयोगी मानिन्छ । विदेशमा अण्डाकै लागि पालिने यस प्रजातिका कुखुराले वर्ष दिनमा तीन सयसम्म अण्डा पार्छ । ‘मेरोमा पनि धेरै छैन,’ उनले सुनाए, ‘यसको माग धेरै छ । धेरैले बुकिङ गरेका छन् । केहीका माग पूरा गर्न सकिरहेको छैन ।’

‘आम्दानीका हिसाबले सुमात्रा र सिल्की प्रजातिका कुखुराले तुलनात्मक रूपमा व्यवसाय उकासेको छ,’ उनले खुसी व्यक्त गरे, ‘दुवै प्रजातिका कुखुराका अण्डा र चल्लामात्रै होइन, मासुको माग पनि राम्रो थियो । मैले एकजोडी कुखुराबाट एक लाखभन्दा बढी आम्दानी गरेको थिएँ । म यहाँसम्म आइपुग्नुमा दुई जोडी कुखुराको देन छ ।’ उनीसँग भएको सुमात्रा प्रजातिको भाले चार वर्षको भयो । किन्न खोज्नेहरू धेरै आए पनि मायाले बेच्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्