बालबालिकाका मुटु जोगाउने उपयोगी किताब सार्वजनिक


काठमाडौं । विश्व मुटु दिवसका अवसरमा ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ । कृतिमा समाजका अपहेलित र छाँयामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दा उठाउने प्रयास गरिएको छ ।

बाथ–मुटु रोगीका विविध पक्षलाई रसिलो र सरल भाषामा डा. प्रकाशराज रेग्मीले प्रस्तुत गरेका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित र डा. रेग्मीद्वारा लिखित पुस्तकको शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गर्दै पुस्तकमा रहेका खुराकले मानिसलाई मुटु स्वस्थ राख्न सिकाउने बताए ।

किताबमा नेपाली समाजको चित्रण गर्दै मुटुरोगीको वेदनासाथ संघर्षको कथासमेत समेटिएको उनले बताए ।

नेपालमा सालिन्दा एक हजार बालबालिकाको मृत्यु हुनाका साथै वार्षिक आठ सयजनाको मुटुको भल्भ फेर्नेजस्तो महंँगो र जटिल शल्यक्रिया हुने गरेको छ । ‘पुस्तकमा सामान्यजस्तो देखिने टन्सिलले कसरी मुटु क्षतिग्रस्त पार्छ र भयंकर रूप धारण गर्न पुग्छ,’ लेखकले जानकारी गराए, ‘अनि यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे सबैलाई बुझाउने प्रयास गरेको छु ।’

केटाकेटीमा सबैको घाँटी दुख्छ । टन्सिल सबैको बढ्छ । नुनपानी र बेसार पानी पिएर धेरैले यसको उपचार गर्छन् । यही गलत घरेलु उपचारशैलीका कारण लाखौं बालबालिका बाथ, मुटुरोगजस्तो समस्याबाट पीडित हुन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार सालिन्दा विश्वभर मुटु रोगबाट ज्यान गुमाउने दुई करोड ७५ लाख छन् । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ ।

रोगबारे जनचेतना जगाउन सके सालिन्दा हजारौं बालबालिकाको ज्यान बचाउन र हजारौं युवालाई अशक्त जीवनबाट सक्रिय जीवनमा फर्काउन सकिने डा. रेग्मीको बुझाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्