मार्ला है ! मोटोपनले



कोरोना कहर बीसको उन्नाइस भएको छैन । त्यसपछि अर्काे स्वास्थ्य समस्या आउला । औषधोपचार त होला, त्यस्ता समस्याको तर मानसिक र शारीरिक समस्या कति खप्नुपर्ला लेखाजोखा गर्न सकिँदैन ।

त्यसैले स्वस्थ खाना, सकारात्मक सोच दिएर बालबालिकालाई उसको स्वास्थ्यबारे सचेत गराउँदै व्यावहारिक ज्ञान दिने र स्वास्थ्यबारे जानकारी गराउनुपर्छ । नत्र २०/२५ वर्षको सन्तान मोटोपन र मधुमेहबाट पीडित भए सम्बन्धित अभिभावकलाई कति समस्या आइपर्ला ?

कोरोना महामारीले विकसित देशको दुःखद अवस्था औंल्याएको छ । नेपालमा जनस्वास्थ्य कहिल्यै चासोको विषय बनेको थिएन । कोरोना महामारीले जनस्वास्थ्यको महत्वबारे जागरुक बन्न सबैलाई सचेत गराएको छ । हात धुनुपर्छ । हाच्छ्युँ गर्दा, खोक्दा मुख छोप्नुपर्छ भन्ने सामान्य कुराले जीवन बचाउन सकिन्छ । तर, हामीले वास्ता गर्दैनौं ।

बालबालिकालाई माया गरेर चक्लेट, पत्रु खाना, चाउचाउ र बिस्कुट खुवाएर खुसी हुने आमाबुवाले बच्चा स्वस्थ राख्न अलिकति मिहिनेत गरेर घरेलु खाना दिनुपर्छ । एकछिनको अल्छीपनले बाहिरका पत्रु खाना खुवाउँदा जीवनभरिका लागि रोग लाग्ने सम्भावना बढ्छ ।

कोरोना लागेर ज्यान गुमाएकाको संख्या सुन्दा कहाली लाग्छ । तर, कोरोनाका कारण ज्यान गुमाउनेको अनुसन्धान गर्दा थाहा हुन्छ– मोटो मानिसलाई मुटुरोग, मधुमेहले समात्नेमात्र होइन, मोटो मानिसलाई कोभिड–१९ को संक्रमण सम्भावना झन् बढी हुन्छ ।

स्वस्थ रहन सन्तुलित खानेकुरा खानुपर्छ । जनस्वास्थ्यविज्ञले शारीरिक व्यायाम नियमित गर्न सुझाउँछन् । कोरोनाको बेला झन् यस्तो ज्ञान महत्वपूर्ण मानिन्छ । ‘मोटो र शरीरको तौल बढी भएकालाई कोरोना भाइरस लागेमा उनीहरू गम्भीर बिरामी पर्छन्,’ बेलायती जनस्वास्थ्यविज्ञले बारम्बार भन्ने गर्छन्, ‘त्यस्ताको मृत्यु हुने सम्भावना बढी हुुन्छ ।’
नेपाली जनस्वास्थ्यविज्ञले समेत बारम्बार भन्दै आएका छन्, ‘तौल घटाउनाले स्वास्थ्यमा धेरै फाइदा हुनुका साथै कोभिड–१९ को जोखिम पनि कम हुन्छ ।’

बेलायती वयस्कमध्ये दुईतिहाइको शरीरको तौल बढी भएका छन् । ४४ प्रतिशत अमेरिकी नागरिक मोटा छन् । मोटा नेपालीको जनसंख्या र मधुमेहका बिरामी बढ्दो छ ।

कम्मरको आकारबाट मोटोपन पत्ता लगाउने सामान्य तरिका छ । ३७ दशमलव १ इन्चभन्दा ठूलो कम्मर भएको पुरुष र ३१ दशमलव ४ इन्चभन्दा ठूलो कम्मर भएको महिलालाई मोटो मान्न सकिन्छ । आफ्नो जीवनशैलीलाई परिवर्तन गरेर मोटोपन कम गर्नेतर्फ ध्यान दिनुपर्छ ।

जिब्रोको स्वादका लागि जीवन नै त खतरामा पार्नु त भएन नि ।

 

प्रतिक्रिया दिनुहोस्