व्रत बस्ने कि ‘प्जिल’ ?



तौल, युरिक एसिड बढी भएर खुट्टाका बूढीऔंला सुन्निएर हिँड्नै नसक्ने मेरा एक परिचित हप्तामा दुई दिन आइतबार र बिहीबार २४/२४ घन्टा व्रत बस्न थाले । त्यसपछि उनले पानीमात्र खाएर चार महिनामा ६ किलो तौल घटाइन् ।

युरिक एसिड कम भएर दुखाइ पनि हरायो । अहिले त उनी सातामा एक दिन व्रत बस्नेबाहेक हिजोआज १६ घन्टा नखाने व्रत पनि बस्छन् । कहिले–कहिले फलफूलमात्र खान्छन् । कहिले दूध खान्छन् । उनको स्वास्थ्य राम्रो भएको छ ।
यसरी व्रत बसेको उनले कुनै भगवान्का लागि भने होइन । ‘त्यो भगवानचाहिँ मेरो शरीरमै छन् । शरीर नदुखेपछि भगवान् पनि खुसी हुँदारहेछन्,’ उनी भन्छन्, ‘मेरो मनमा पनि शक्ति छाएको छ ।’

अर्थात् उनले व्रत बस्ने प्रक्रियालाई कुनै बन्धनमा नबाँधी आफ्नो शरीर र मन स्वस्थ रहोस् भनेर व्रत बसेका छन् । सकिन्छ भने हुनेखानेले त प्रत्येक हप्ता अनेक बहानामा व्रत लिए हुन्छ । स्वास्थ्य राम्रो हुन्छ ।

व्रत बस्नु भनेको अनुशासनमा बस्नु हो । पेटलाई केही समयका लागि आराम दिनु हो । व्रत बस्दा पानी पर्याप्त पिउनुको अर्थ शरीरमा भएका विषालु तत्व शरीरबाहिर निस्कनु हो ।

व्रतको महिमा धेरै छ । सन् २०१६ मा एक जापानी वैज्ञानिकले व्रत बस्दा शरीरमा कसरी विभिन्न प्रतिक्रिया भएर विषालु तत्व निकाल्ने प्रक्रिया हुन्छ । यसले शरीर स्वस्थ राख्न मद्दत गर्छ भन्ने देखाए । जुन कुराका लागि ती जापानी वैज्ञानिकले नोबेल पुरस्कार पाए । त्यसको दार्शनिक पक्षलाई ध्यानमा राखेर हाम्रा पुर्खाले व्रतलाई जीवनमा ढालेका रहेछन् ।

रमादानमा एक महिनासम्म व्रत बस्दा कस्ता–कस्ता फाइदा हुन्छ भनेर अनेक वैज्ञानिकले गरेको अनुसन्धान देखाएका छन् । व्रत बस्दा आन्द्रालाई आराम मिल्छ । यो बेला शरीरमा भएका विषादी बाहिर निकाल्न मद्दत गर्छ ।

हिन्दु धर्ममा व्रत बस्ने अवसर धेरै छन् । एकादशीदेखि नौरथाको व्रत, विभिन्न पूजाआजामा, श्राद्धको अघिल्लो दिन एकछाक खाने, चन्द्र ग्रहण, सूर्य ग्रहण, विवाह, व्रतबन्धका बेलामा एकछाकमात्रै अन्न खाएर बसेको पनि व्रत नै हो । किरियापुत्री बस्दा पनि हरेकका आफ्ना चलनअनुसार खान्छन् ।

लिनेले अझ प्रत्येक हप्ता कहिले दूधमात्र खाने, कहिले रसमात्र, फलफूलमात्र खाने वा नुन नखाने, कतिले त शुक्रबार सन्तोषी माँको व्रतमा गुद र चना खाने तर अमिलो नखाएर एकछाक शुद्ध तरिकाले पकाएको भात नै खान्छन् । तुलसीको पूजा गर्ने दिन हरिबोधनी एकादशीमा व्रत गरिन्छ । साउनमा प्रत्येक सोमबार शिवजीलाई खुसी पार्न व्रत गरिन्छ ।

पोषणविद्हरू भन्छन्, ‘विभिन्न नसर्ने रोगमा पनि कम खाने, व्रत बस्ने योगासन र व्यायाम गर्नाले सघाउ पुर्याउँछ । कतिपय पेटसम्बन्धी समस्यालाई आयुर्वेद अस्पतालमा कार्यरत वैद्यले पनि खाना कम ख्वाएर वा व्रत गराएर विभिन्न समस्या समाधान गर्न कोसिस गर्छन् ।’

बन्दाबन्दीका बेला कतिपय व्यक्तिले विभिन्न कारणले एकछाकमात्र पकाएर खाए । यसो गर्दा त उनीहरूको तौल घटेको कुरा प्रकाशमा आएको छ । व्रत बस्न नहुने कतिपय अवस्था पनि छ । ती अवस्थाबाहेक एक स्वस्थ व्यक्तिले सके प्रत्येक हप्ता, नसके प्रत्येक महिना व्रत बसौं ‘प्लिज’ ।

 

प्रतिक्रिया दिनुहोस्