ब्राजिलमा साङ्लाको पाउरोटी र केक उत्पादन



टेलिभिजनका विभिन्न कार्यक्रम र ‘रियालिटी सो’मा कीरा खाने प्रतिस्पर्धा हेरेका हामी खानयोग्य कीरा खानु स्वास्थ्यका लागि फाइदै फाइदा हुन्छ भन्ने सुन्दा अचम्मित हुन्छौँ । हुन त नेपालमा पनि निश्चित प्रजातिका कीरालाई परापूर्वकालदेखि नै भोजनका रूपमा प्रयोग नगरिएको भने होइन । अन्तर्राष्ट्रिय स्तरको फुड मेनु (खाद्यसूची)मा हेर्ने हो भने सलहजस्तै अन्य कीरा फट्याङ्ग्राका थुप्रै परिकार पाइन्छन् । विश्वका कतिपय ठाउँ त कीराको भोजनकै कारण प्रसिद्ध छन् । भोजन संस्कृतिको विकासक्रम हेर्दा विश्वका ८० प्रतिशतभन्दा बढी क्षेत्रमा कुनै न कुनै प्रकारले कीरा–फट्याङ्ग्रा खाने चलन छ ।

अमेरिका, थाइल्यान्ड, इन्डोनेसियाजस्ता देशमा खानयोग्य कीराको उत्पादन र बिक्री वितरणका लागि ठुल्ठूला फार्म नै सञ्चालन गरिएका छन् । नेदरल्यान्ड, बेल्जियमजस्ता युरोपेली देशहरूमा मानव उपभोगका लागि कानुनी रूपमै कीराहरूको उत्पादन गरिन्छ । मेक्सिकोमा फट्याङ्ग्राहरूलाई विभिन्न ‘स्पाइस’मा मिसाएर खाइन्छ । दक्षिण अफ्रिकामा खीरमा धमिरा हालेर पकाइन्छ । अमेरिका र युरोपमा कीराको पीठो, कीराको ब्रेड, कीराको बर्गर, पास्ताजस्ता परिकार प्रचलित छन् । ब्राजिलमा साङ्लाको पाउरोटी र केक उत्पादन गरिन्छ । भारत र नेपालका विभिन्न भेगमा पनि कीरा खाने चलन छ । तराईमा घुँगी, पहाडमा चिप्लेकीरा खाएर हड्डी बलियो बनाउने पुरानै चलन हो । विभिन्न जातजातिका मौलिक परिकारका रूपमा समेत कीरा र फट्याङ्ग्रालाई प्रयोग गर्ने प्रचलन छ ।

राष्ट्रसङ्घको एक रिपोर्टअनुसार संसारभरि दुई अर्बभन्दा बढी मानिसले आफ्नो भोजनमा कुनै न कुनै प्रकारका कीरा समावेश गर्छन् । विश्वव्यापी रूपमा करिब एक हजारदेखि दुई हजार प्रजातिका कीरा खाने गरिन्छ । जसमा २३५ प्रजातिका पुतली, ३४४ प्रजातिका बिटल (गोब्रेकीरा), ३१३ प्रजातिका कमिला, २३९ प्रजातिका फट्याङ्ग्रा, ३९ प्रजातिका धमिरा, ३० बढी प्रजातिका छेपारा खानयोग्य भएको तथ्याङ्क छ ।

वैज्ञानिक रूपमा कीरा खाने प्रचलनलाई एन्टोमोफागी भनिन्छ । मानिसले हजारौँ वर्षा पहिलादेखि खानका लागि वन वा अन्य उपयुक्त वासस्थानका केही कीराका प्रजाति उपभोग गर्दै आइरहेका छन् । विभिन्न अनुसन्धानअनुसार कीराको भोजन अन्य मासुभन्दा धेरै पोषणयुक्त र फाइदाजनक हुन्छ भन्ने प्रमाणित भइसकेको छ । कीराहरू पौष्टिक रूपमा धनी हुन्छन्, यद्यपि क्यालोरी भने कम हुन्छ । जसले गर्दा मोटोपन र त्यससँग सम्बन्धित अन्य रोगविरुद्ध लड्ने क्षमता प्रदान गर्छ । कीराको भोजनबाट भिटामिन ‘बी’ १२, फलाम, म्याग्नेसियम र क्याल्सियमजस्ता सूक्ष्म पोषक तत्व प्राप्त गर्न सकिन्छ । कुपोषणबाट बच्न सजिलै प्राप्त गर्न सकिने पोषण तत्वका रूपमा समेत कीरालाई लिइएको छ । अझ बढ्दै गएको विश्वको जनसङ्ख्याले ल्याएको खाद्यान्न अभावलाई पूर्ति गर्नसमेत कीराको भोजन महत्वपूर्ण साबित भएको छ । राष्ट्रसङ्घको एक तथ्याङ्कअनुसार सन् २०५० सम्म विश्वको जनसङ्ख्या करिब १० अर्ब पुग्नेछ र त्यसले निम्त्याउने खाद्यसङ्कटलाई परिपूर्ति गर्न जीव प्रोटिन क्रान्तिकारी साबित हुनेछ ।

विश्वभर बिटल्स र झुसिलकीरा सबैभन्दा बढी खाइन्छ । सुपरमार्केटमा कीराका विभिन्न रेसिपी र परिकार सहजै पाउन थालिसकेका छन् । खानयोग्य कीराको व्यावसायिक उत्पादन गर्ने र खपत बढाउने हो भने अन्य माछामासुबाट हुने आर्थिक भार न्यूनीकरण गर्न सकिन्छ । जसलाई पर्यावरणीय हिसाबले समेत राम्रो मानिएको छ ।

कीराको भोजनका थुप्रै फाइदाका बाबजुद तिनीहरूको व्यवस्थित उत्पादन र मानव स्वास्थ्यका अन्य चुनौतीसमेत रहेका हुन्छन् । पछिल्लो समयमा कोरोनाको फैलावट कीटजन्य प्राणीबाट भएको भन्ने विवादास्पद कुराले समेत कीराको भोजनलाई चुनौतीपूर्ण बनाएको छ । फाइदाजनक थुप्रै वैज्ञानिक आधार भए तापनि कीराको भोजनलाई विभिन्न सङ्क्रमण फैलावटको स्रोतका रूपमा लिने गरिन्छ । कीराको भोजन लाभदायी भए पनि तर उचित सावधानी र सतर्कता अपनाउँदै उपभोग गर्नु बुद्धिमानी हुन्छ ।

(गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्