‘रक गार्डेन’का लागि प्रदेश सरकारबाट ४० लाख


खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीनजिकै रहेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा ढुंगेबगैँचा (रक गार्डेन) निर्माणार्थ १ नम्बर प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले ढुंगे बगैंचा बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) थालेपछि प्रदेश सरकारबाट बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले जानकारी दिए । ‘ढुंगे बगैंचा निर्माण गर्ने परिकल्पना जिल्लाकै नमुना काम भएकाले महत्वसाथ हेरिएको छ,’ प्रदेशसभा सदस्य राई भने, ‘यसका लागि १ करोड ३५ लाख बजेट माग गरिएकोमा यस वर्ष प्रदेश सरकारले ४० लाख विनियोजन गरेको छ ।’

हिन्दु, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीभन्दा केहीमाथि रहेको सो स्थानमा करिब १६० रोपनी सरकारी जग्गा चट्टानै–चट्टानले ढाकिएको छ । सिङ्गो डाँडा खोपेर बनाएजस्तो चुच्चो परेका ढुंगाले ढाकिएको ककनीडाँडामा अहिले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको ककनीडाँडाको ५६ रोपनी जग्गाभित्र पर्ने चट्टानलाई समेटेर ढुंगे बगैंचा बनाउने काम थालिएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले जानकारी दिए । ‘हलेसीमा आएलगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपाय खोजीमा ककनीडाँडामा ढुंगे बगैंचाको परिकल्पना गरिएको हो,’ नगर प्रमुख राईले भने, ‘विभिन्न आकृतिका ढुंगैढुंगाले ढाकिएको डाँडामा बगैंचा बनाउन ककनीडाँडामा रहेका कुनै पनि ढुंगा नबिगारी सजाइनेछ ।’

ककनीडाँडा विश्वको सर्वोच्च शिखर सगरमाथा तथा हिमशृङ्खला र वरपरका दृश्यावलोकन गर्ने उपयुक्त थलो हो । झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रङका ढुंगाले ढाकिएको ककनीडाँडा वारपार गर्न ३० देखि ४५ मिनेट लाग्छ । मध्यपहाडी लोकमार्गबाट पैदल हिँडेर उकालिएको ३० मिनेटमा पुगिने सो ठाउँमा स्थानीय घुमफिर र वनभोजका लागि जाने गरेका छन् । ढुंगेडाँडा बनाएपछि सो डाँडालाई ‘चुरेडाँडा रक गार्डेन’ नामकरण गरिने नगरप्रमुखले जानकारी गराए ।

ककनीडाँडालाई आकर्षक स्थल बनाउन प्राकृतिक रूपमै सजिसजाउ ढुंगालाई थप आकर्षक बनाउने, ढुंगाका बीच–बीचमा सुहाउँदो फूल रोप्ने, ठाउँठाउँमा ढुंगेगेट, ढुंगेधारा, ढुंगा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुंगालाई नचलाईकन कालो, सेतो र रातो ढुंगा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला संस्कृति झल्कने सजावट गर्ने तयारी गरिएको छ ।

सर्वोच्च शिखर सगरमाथालगायतका हिमाली शृंखलाको तस्बिर खिच्न, दृश्यावलोकन गर्न र रम्न ढुंगाकै स–साना ढोका तथा चारैतिर तारबार तथा पर्खाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुंगाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने ठाँटी तथा चौतारा निर्माण गरिनेलगायतका योजना डीपीआरमा उल्लेख छ । रक गार्डेनमा विद्युत्, पिउनेपानी, विश्रामस्थल, केबलकार, भोजनालयलगायत अन्य बगैंचामा हुने सबै सुविधा उपलब्ध गराउनेगरी काम थालिएको छ ।

ककनीडाँडाकै एकापट्टिको भीरमा रक क्लाइबिङको सम्भावना रहेकाले विकास गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । विशेषगरी हलेसी आउने पर्यटकलाई लक्षित गरेर ककनीडाँडामा ढुंगे बगैंचा निर्माण गर्न लागिएको हो । भस्मासुरले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि कलात्मक ढुंगा निस्किएको किंवदन्ती छ । ककनीडाँडा नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम ट्रेलको प्रवेशस्थलमा पर्छ ।

किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम छ । ढुंगै–ढुंगाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण गर्न लागिएको ढुंगे बगैंचालाई महत्वसाथ हेरिएको छ । ककनीडाँडामा नगरपालिकाले आधुनिक किसिमको ढुंगे बगैंचा निर्माण गर्ने भएपछि स्थानीयसमेत हर्षित छन् ।

प्रतिक्रिया दिनुहोस्