निन्दा झरनामा रुझ्दै झोलुंगेपुलमा फोटो क्लिक–क्लिक


काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई झरना गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य भएका छन् ।

निन्दा नदीको मुहानमा रहेका ती झरनामा झापाका युवकयुवती दिनहुँ सयौंको संख्यामा नुहाउन र रमाउन जान थालेका छन् । झापामा गर्मी बढेको हुँदा झरनाको चिसो फोहोरामा नुहाउनेको भीड लाग्ने गरेको मेचीनगर–१ बाहुनडाँगीका वडाध्यक्ष पासाङ तामाङले बताए ।

झापाबाट इलामको जिर्मले जाने सडक बनाउँदा स्थानीयले हालै ती झरना पहिल्याएका थिए । झरनामा नुहाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट हुन थालेपछि झरनाको प्रचार फैलिएको वडाध्यक्ष तामाङले सुनाए ।

गर्मी छल्न झापाका विभिन्न स्थानबाट दैनिक ५०० बढी युवकयुवती यहाँ आउने गरेको हुँदा झरनावरपर पसल बढेका छन् । यहाँका दुई झरना एक किलोमिटरको अन्तरमा छन् । एउटा इलामबाट झापाको भूमिमा पानी खस्छ भने अर्को इलामकै रोङ गाउँपालिका–६ मा रहेको छ ।

पर्यटन अभियन्ता एवम् ग्रीन जेनेरेसन झापा अध्यक्ष अर्जुन कार्कीले झरनामा झुम्मिएको भीडले कोभिड–१९ को कहरबीच पर्यटकीय आकर्षण नघटेको साबित गरेको बताए । झरनानजिकै निन्दा नदीमा जिर्मले र सलकपुरलाई जोड्ने झोलुंगेपुल पनि छ । त्यहाँ पुग्ने आन्तरिक पर्यटक गर्मी छल्न झरनामा रुझ्ने र झोलुंगेपुलमा फोटो खिचाउने गर्छन् ।

‘लकडाउनका कारण चिसो ठाउँमा घुम्न जाने आन्तरिक पर्यटक नै यहाँ आउने गरेका छन्,’ अध्यक्ष कार्कीले भनाइ छ, ‘गर्मीको मौसम सुरु हुनासाथ मानिसको भीडभाड लाग्न थाल्छ । यसअघि कोही पनि आउँदैनथे ।’ प्राकृतिक रूपमै सुन्दर रहेको यो ठाउँमा आउने आन्तरिक पर्यटकका कारण यो स्थान अब पर्यटकीय क्षेत्रमा रूपान्तरित हुन थालेकोमा उनले गर्व गरे ।

दुई जिल्लाको सिमानामा रहेका झरना सुदूरपूर्वकै नमुना पर्यटकीयस्थल बन्न सक्ने जनाउँदै झापाको मेचीनगर नगरपालिका र इलामको रोङ गाउँपालिकालाई व्यवस्थित गर्न आग्रह उनले गरे । ‘गर्मीका कारण झरनाको पानीमा खेल्न आउने मान्छेको दैनिक भीड बढिरहेको छ,’ उनले भने, ‘कोभिडका कारण भीडभाड गर्ने अवस्था छैन । नियन्त्रण गर्र्नुपर्ने अवस्था आइसक्यो ।’

झरनासम्म पुग्न काँकडभिट्टाबाट बाहुनडाँगीको गाडागल्ली, कृष्ण थुम्की हुँदै जान सकिने मेचीनगर लेडिज जेसिजकी पूर्वअध्यक्ष उषा श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्