नेकपा नेताले समेत मन पराएको मृदुङ्गा झरना


नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छ ।

ठुल्ठूला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिनाले यहाँ पर्यटकको भीड लाग्न थालेको हो । मेची राजमार्गबाट हिलिहाङ–१ भालुचोक र फेदापबाट करिब एक घन्टा यात्रा गरेपछि झरनासम्म पुग्न सकिन्छ । सबैप्रकारका सवारीसाधन यहाँसम्म पुग्नसक्ने भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढिरहेको स्थानीय व्यवसायी सुरेश चापागाईंले बताए ।

चापागाईंका अनुसार सडक पुगेपछि झरनामा तस्बिर लिने र सामाजिक सञ्जालमा हाल्नेक्रमले यो झरना प्रचारमा आएको हो । ‘बाटोकै कारणले ओझेलमा रहेको झरना पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ,’ उनले भने, ‘यहाँ पाँचथरलगायत विभिन्न छिमेकी जिल्लाबाट आएकाको दैनिक रूपमा भीडभाड हुने गरेको छ ।’ सडकले विकास र समृद्धिका अन्य आयामसमेत खोल्छ भन्ने यो झरना बलियो उदाहरण बनेको छ । यहाँ अहिले दैनिक २५० जनाभन्दा बढी पर्यटक आउने गरेको व्यवसायी चापागार्इंको भनाइ छ ।

झरनाको २०० मिटर नजिकबाट तमोर करिडोर सडक विस्तार भएको छ । हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगूका अनुसार झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन चालु आर्थिक वर्ष २०७७÷०७८ मा विस्तृत परियोजना प्रतिवेदन
(डीपीआर) तयार पार्न लागिएको छ । प्रतिवेदनका आधारमा झरनालाई प्राकृतिक रूपमै सुन्दर बनाउने प्रयास गरिने उनको भनाइ छ । सडकछेउ सवारी पार्किङ स्थल, सिँढी मार्ग, स्वीमिङ पुललगायत संरचना आवश्यक भएकाले ती संरचना निर्माणकार्यसमेत थालिने वडाध्यक्ष सिगूले बताए ।

झरना घुम्न पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङले मृदुङ्गा झरना पर्यटकीय सम्भावनाको दृष्टिले महत्वपूर्ण भए पनि पूर्वाधारका दृष्टिले शून्य अवस्थामा रहेकाले द्रुत गतिमा पूर्वाधार निर्माण आवश्यक रहेको बताए । ‘यहाँ पर्यटकको भीड नै लाग्ने गरेको देखियो । पर्यटन प्रवद्र्धनबाट यहाँ ठूलो लाभ पनि लिन सकिने रहेछ,’ नेम्वाङले भने, ‘यसका लागि स्थानीय तह र प्रदेश सरकारले लगानी गर्नुपर्छ ।’

झरना निकै सुन्दर र आकर्षक रहेको तथा तमोर करिडोर सडक सञ्चालनमा आउन लागेकाले यहाँबाट स्थानीय तहले ठूलो आम्दानी लिन सक्ने उनको भनाइ छ । उनले पूर्वाधार निर्माण र व्यवस्थित प्रचार गर्न सके यहाँबाट सरकारले ठूलो आर्थिक लाभ लिन सक्ने सुनाए ।

फिदिम र ताप्लेजुङबाट झरना पुग्न धेरै समय नलाग्ने हुनाले स्थानीय पर्यटकको चाप बढ्दै गएको हो । स्थानीय व्यवसायी चापागाईंका अनुसार यहाँ हिउँदमा पानी कम हुने गर्छ । सुभाङखोला झरनानजिकै रहेकाले त्यहाँका पानीलाई झरनाबाट झार्ने प्रयास गरिनुपर्ने उनको सुझाव छ ।

यस्तै झरनाभन्दा माथि रहेको मन्दिरको जीर्णोद्वार गरिनुपर्ने, आवश्यक अन्य पूर्वाधार निर्माण गरी सरकारी आम्दानीको स्रोत बनाइनुपर्ने स्थानीय खगेन्द्र योङहाङको माग छ । हिलिहाङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उक्त झरनालाई पर्यटकीय केन्द्र तथा मनोरञ्जनस्थलमा परिणत गर्न गुरुयोजना निर्माण गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्