जागिर छाडेर व्यावसायिक घाँस खेती


प्युठान । जिल्लाको ऐरावती गाउँपालिका–६ बिजुली बैरेनीका लालमणि पाण्डेले व्यावसायिक रूपमा घाँसका विरुवा उत्पादन गर्दै आएका छन् ।

४० वर्षीय पाण्डेले १३ वर्षसम्म अस्थायी करारमा साबिकका २४ गाविसमा सामाजिक परिचालकको जागिर छोडेपछि व्यावसायिक रूपमा घाँसका बिरुवा उत्पादन सुरु गरेको बताए ।

संवत् २०७३ मा उनले घरेलु तथा साना उद्योग कार्यालय र पशु कार्यालयमा क्षितिज बाख्रा तथा घाँसेबाली बीउ बेर्ना नामक फर्म दर्ता गरी व्यवसाय सुरु गरेका थिए । पहिलो वर्षको चार महिनामै नर्सरीबाट बिरुवा उत्पादन गरी बिक्री वितरण गरेको बताए । पाण्डेले आफ्नै पाखो बारी र खेतमा चार रोपनी क्षेत्रफलमा घाँसका बिरुवा उत्पादन गरेको सुनाए । हाल फर्ममा डाले र मसिनो गरी करिब १४ हजार घाँसका बिरुवा उत्पादन भएका छन् ।

घाँसका बिरुवा बिक्री गरेर उनले आर्थिक उपार्जनसमेत गर्दै आएका छन् । पहिलो वर्ष १५ हजार, दोस्रो वर्ष ६० हजार, तेस्रो वर्ष ६१ हजारबराबरको घाँस बिक्री गरेको सञ्चालक पाण्डेको भनाइ छ ।

त्यस्तै, गत असारमा एक लाख २० हजारको घाँस उत्पादन गरे पनि ३७ हजारबराबरको मात्र घाँसका बिरुवा बेच्न सफल भएका थिए । उनले गाउँपालिकाबाट ५० हजार अनुदान र आफ्नो लगानीमा २५ हजार गरी ७५ हजार लगानीमा घाँसका बिरुवा उत्पादन व्यवसाय सुरु गरेका हुन् ।

व्यवसायलाई फस्टाउन स्थानीय तहमा पशु कार्यालयबाट किसानलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएमा व्यवसायमा फाइदा पुग्ने उनको बुझाइ छ । उनले घाँसका बिरुवा उत्पादनसँगै बाख्रापालनसमेत गरेका थिए । हाल उनको फर्ममा १४ वटा बोयर क्रस बाख्रा छन् ।

प्रतिक्रिया दिनुहोस्