नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाइला


खुवालुङ । खुल, खुल, खुल ।
नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाइला
नलागोस् है मलाई ठेस, चाँडै पुगी हेर्नु छ, किरातीको देश !

 

सुनैकोसी पछ्याइजाने तिलुङ, वाम्बुले
सही बाटो हिँड्दै छन् कि कतै अल्मलिए ?
लिखु खोलैखोला जाने जेरुङ, सुनुवार
लोहरूङ, याम्फू, आठपहरे र दुङ्माली सबै बराबर
अरूण नदी तरिजाने बान्तवा र मेवाहाङ
कैले भेट्ने होला कठै ! माया लाग्छ झन्

 

दूधैकोसी पछ्याइजाने बाहिङ, थुलुङहरू
पहिलाजस्तै छन् कि अझै प्रगति गरे अरू ?
चोमोलुङ्मा ताकिजाने कुलुङ, खालिङहरू
कहाँ पुगे ? कि कतै अभरमा परे ?
मेरै काखमा हाँस्दै, खेल्दै हुर्किएका यी मेरा सन्तान
साह्रै सुर्ता लाग्छ बरै ! शान्त छैन मन

रावाखोला पछ्याइजान्छु नाछिरिङ, कोयूलाई हेर्न
के–कस्ता छन् ? हतार भयो साम्पाङ, दुमी भेट्न
साप्सुखोला सेरोफेरो चाम्लिङखिम बास बस्नुपर्ला
त्यहीबेला पुमाको नि दुःखम्–सुखम् सोध्नुपर्ला
मेरै काखमा हाँस्दै–खेल्दै फैलिएका यी मेरा सन्तान
सन्चो–बिसन्चो के कसो छ ? अहिले के गर्दै छन् ?

खुवालुङ/बारिलाप्चो : मिथकअनुसार किराती राईका सन्तानहरू वर्तमान मैदान चतराबाट नदी पछ्याउँदै उँभो पहाडतिर उक्लँदा बाटै छेकिनेगरी बीच बाटोमा ठूलो ढोका देखापर्यो। यही ढोकालाई खुवालुङ/बारिलाप्चो भनिन्छ । मुन्दुम फलाकेर विभिन्न जीवजन्तुको भोग दिएर आ–आफ्नो शक्तिले खुवालुङ/बारिलाप्चो खोली कोही अरूण, कोही लिखु, कोही दूधकोसी, कोही सुनकोसी नदी पछ्याउँदै राईहरू अघि बढे भनिन्छ । अहिले पनि आफूले पछ्याइगएको नदीआसपास नै उनीहरूको सघन बसोवास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्