पोखराको ठूलो तालवरिपरि घुम्न दुई दिन लाग्ने



पोखरा घुम्न र विचार गर्न लायकको ठाउँ छ । प्राकृतिक सुन्दरताले गर्दा पोखरा काठमाडौं उपत्यकाबाहिर सबैभन्दा बढी मानिसले भ्रमण गर्ने ठाउँ हो । विगतमा काठमाडौं निषेधित नेपाल देशको मुटु थियो भने पोखरा यसको एकान्तपनाले गर्दा अरू बढी रहस्यमय बनेको थियो । पहिले–पहिलेका विवरणले गर्दा पोखराले पौराणिक रूप धारण गरेको थियो । हान सुइनले लेखेको किताब द माउन्टेन इन योङ भन्ने किताबमा पोखराको याद दिलाउनेखालको ‘बोङ्गसर उपत्यका’को बहुत राम्रो वर्णन पाइन्छ ।

सन् १७९३ मा काठमाडौं भ्रमण गर्ने विलियम कर्कप्याट्रिकले सबैभन्दा पहिले पोखराको वर्णन गरेका छन् । काठमाडौंदेखि बेनीसम्मको मुख्य मार्गको वर्णन गर्दै लेख्छन्, ‘पोखरा जान सेती नदीको साँघुरो र गहिरो खोँच काठको साँघुबाट तर्नुपर्छ ।’ केहीपछि फ्रान्सिस बुकानन ह्यामिल्टनले पोखरालाई यसरी वर्णन गरेका छन् , ‘निकै ठूलो सहर…..जुन एउटा बजार हो, जहाँ व्यापारी नेपाल काठमाडौं, पाल्पा मालेबुम एन कम्पनीबाट आउँछन् र यस्तो गरिब देशमा पनि यहाँबाट निकै ठूलो मात्रामा कर उठ्छ ।’ हिमालयसम्बन्धी अनुसन्धानका अग्रदूत र अनेकौँ पुस्तकका लेखक ब्रायन हजसनले हिमालयका तालबारे लेख्दा पोखराको सामान्य उल्लेख गरेका छन्, ‘तालहरू साना र धेरै कम छन् । कुमाउमा तीन–चार र पश्चिम नेपाल (पोखरा)मा तीन–चारवटा छन् । हेनरी एम्ब्रोज ओल्डफिल्डले पनि पोखरा उपत्यकालाई ‘नेपाल (काठमाडौं) उपत्यकाभन्दा धेरै ठूलो…. यी तालमा (पोखराको) सबैभन्दा ठूलो तालवरिपरि घुम्न दुई दिन लाग्ने’ कुरा उल्लेख गरेका छन् । डीजेएफ नेवालले सबैभन्दा पहिले पोखराको सुन्दरताबारे यसरी लेखेका छन्, ‘पोखरा (२६६६ फिट) धौलागिरि शिखर (२३०० फिट)को फेदीमा छ, पोखराको सिधा २०,४०० फिटमाथिको धौलागिरिसम्मको आकाशे दूरी १५ माइल छ । यी तथ्यबाट यहाँको आश्चर्यजनक दृश्यावलीको पुष्टि हुन्छ ।’

लिखित रूपमा उल्लेख भएअनुसार पोखरा भ्रमण गर्ने पहिलो विदेशी इकाई कावागुची नामक एक जापानी भिक्षु थिए, जसले सन् १८९९मा गुप्त रूपले काठमाडौंबाट तिब्बतको यात्रा गरेका थिए । उनले पोखरालाई रमाइलो तरिकाले सम्झँदै यस्तो वर्णन गरेका छन्, ‘पोखरा ग्रामीण परिवेशको सहरजस्तो देखिन्छ, प्राकृतिक सुन्दर दृश्यले रोजेको ठाउँ । बाँसले ढाकेका कन्दराहरू फूलको छाना भएका चुली, हरियालीमा धनी, वेगले घुम्दै बगेका खोलाले गर्दा चित्रमय देखिने र आफैँ अग्ला पहाडका बीचमा रहन गएको पोखराका विशेषता यिनै हुन् ।’

कावागुचीले अझ जोड दिएर भने, ‘हिमालयको मेरो सबै ठाउँको यात्रामा पोखरामा मलाई लोभ्याउने दृश्य मैले देखेँ, त्यस्तो दृश्य अन्यत्र कहीँ पनि देखिनँ ।’ पोखराको महत्व पर्सिभल ल्यान्डनका लागि पनि कम थिएन । यसलाई उनले नेपालको काठमाडौंका समूहदेखि बाहिर रहेको अनुमानित १०,००० मानिस बस्ने दोस्रो सहर भनेका छन् । उनले अझ जोड दिएर भने, ‘यो सम्पत्ति वा राजनीति महत्वको ठाउँ होइन बरु यसको आकार, मलिलो माटो र नेपालको मध्यभाग र पूर्व–पश्चिम सडकमा यसको अवस्थितिका साथै यसलाई सहर बनाउने सरकारी नीतिले गर्दा यसले भविष्यमा नेपालको औद्योगिक विकासमा सानो भूमिका खेल्ने छैन ।’

अब हामी चाल्र्स बु्रसको कुरामा ध्यान दिउँ, जसलाई पोखराले विशेष रूपले आकर्षित गरेको थियो । उनी भन्छन्, ‘यो विशाल (पर्वत) केन्द्र, एउटा सहर, एउटा बजार, जसले नेपालको कुनै पनि सहरले भन्दा बढी मेरो कौतूहल जगाएको छ । कोही त्यहाँ गएको छैन, कसैले यसलाई देखेको छ्रैन, तर हामीलाई थाहा छ यसको हावापानी झन्डै उष्ण छ, यसको उचाइ २५०० फिटभन्दा बढी छैन, यो ठूलो तालको किनारमा छ, यो एउटा खुला उपत्यका हो र यो सुन्दर विशाल आकृति (अन्नपूर्ण हिमाल) को झन्डै फेदीमै रहेको छ । तालको नाम फेवाताल र सहरको नाम पोखरा हो । कुनै दिन कहीँबाट कोही उठेर आउनेछ र पहाडी देशमा पाइने सबैभन्दा प्रभावकारी र सुन्दर यस दृश्यलाई उचित न्याय दिनेछ ।’ यो माथिको भनाइ वास्तविकभन्दा बढी असंगतजस्तो सुनिन्छ । तर, माछापुच्छ«े (६६९७ मिटर)ले आकर्षण थपेको यहाँको भव्यताले मात्र पनि बु्रसजस्ता पर्वतप्रेमीलाई आत्मवादी भएर सोच्न बाध्य तुल्याउँछ । अर्का पर्वतारोही र कवि विलफ्री न्वायस (जसले पोखराको भ्रमण सन् १९५७ मा गरेका थिए) बु्रसको विचारसित सहमत हुँदै बु्रस यहाँ आएमा निराश नहुने कुरा बताउँछन् । उनी

पोखराबाट देखिने माछापुच्छे«को दृश्यलाई विश्वास गर्न अत्यन्त गाह्रो दृश्य र पर्वतलाई चाहिँ एउटा अत्यन्त सुन्दर पर्वत भन्छन् । ‘त्यो दृश्यको तुलनामा म्याटरलाई कच्चा देखिन्छ र बेजोड मानिने बाइसहर्न चेप्टो रासजस्तो मात्र देखिन्छ,’ उनी भन्छन् । पोखराको काल्पनिक वर्णनले टम लंगस्टाफलाई पनि प्रभाव पारेको हुनुपर्छ किनभने विश्वभ्रमण गरिसकेपछि पनि उनी अझै लोभिन्छन् । उनी लेख्छन्, ‘रहस्यमय, उष्ण, तालछेउमा होचो गरिरहेको र अन्नपूर्णको विशाल शिखर अत्यन्त समीपमा भएको पोखरा अझै हाम्रो दृष्टिसामु आइपुगेको छैन ।’ टिबोर सेकेलज बढी भाग्यवान् थिए र उनी आफ्नो भ्रमणपछि लेख्छन्, ‘यद्यपि यो हिउँले पुरिएको पर्वत फेदीमा रहेको छ तापनि हामीले बाटामा सुनौला फलले ढोका केरा र सुन्तलाका बोट जताततै देख्यौँ ।’ अन्तमा हामी टोनी हागनको भनाइतिर ध्यान दिउँ जसको भनाइको विशेष महत्व छ किनभने उनी वैज्ञानिक पनि हुन् र उनले नेपालमा १४,००० किलोमिटर पैदल यात्रा गरेका छन् । उनी लेख्छन्, ‘पोखरा क्षेत्रको प्राकृतिक दृश्यमा अत्यन्त ठूलो विरोधाभास पाइन्छ । संसारमा कहीँ पनि ८,००० मिटरभन्दा उच्च पर्वत शिखरलाई बीचमा कुनै पर्वत श्रेणीद्वारा नछेकीकन यति नजिकै र उष्ण होचो प्रदेशबाट देख्न सकिँदैन । समस्त संसारमा पोखरा निश्चय पनि अत्यन्त असाधारण र अत्यन्त मनोहर स्थान हो ।’

यी माथिका विवरणले पोखरा उपत्यकाले मानिसका मनमा कस्तो आकर्षण पैदा गरिदिन्छ भन्ने कुरा राम्ररी स्पष्ट पारेका छन् । यी वर्णन सुनेका कुरामा आधारित भएकाले उपत्यकाको आकार (ओल्डफिल्ड), पर्वतको परिचय (नेवाल), जनसंख्याका आधार वा माटोको उर्वरता (ल्यान्डन) जस्ता केही गल्तीमा हाम्रो ध्यान अल्मलिनु हुँदैन । सबैले त्यस क्षेत्रको आधारभूत विशेषता जस्तै सहरको क्षेत्रीय महत्व, यसलाई आफ्नो प्रभावले ढाक्ने पर्वतको भव्यता र यस ठाउँको सुन्दर बाहिरी बनावटमा विरोधाभास आदि कुरा सबैको वर्णनमा पाइन्छ । अब हामी त्यस ठाउँको भौगोलिक वास्तविकतालाई उचित सन्दर्भमा राखेर हेरौँ ।

पोखरा उपत्यकाले नेपालको मध्यभागको स्थान ओगटेको छ । नेपाल ८० देखि ८८ डिग्री पूर्व देशान्तरमा रहेको छ भने पोखरा ८४ डिग्री पूर्व देशान्तरमा पर्छ । तिब्बती सीमा पोखराबाट ७२ किलोमिटर उत्तर र भारतीय सीमा ७८ किलोमिटर दक्षिण पर्छ । अन्नपूर्ण हिमालको आधारमा रहेको पोखराको समतल भूमिवरिपरि पहाडी र होचा, अग्ला भूबनोटसँग बिल्कुल भिन्न देखिन्छ । सेती नदीको करिब १२४ वर्गकिलोमिटर देशान्तर आकारमा रहेको उपत्यकाको पिँध रोडा, बालुवा, गोला ढुंगा आदिले ढाकेको छ अनि यस उपत्यकाभित्र पाइने चिजबिज र रुपाकृतिको अनेकताले यस उपत्यकाभित्र छिटोछिटो बालुवा र रोडा जम्मा भएको कुरा बुझिन्छ । समतल भूमि बिस्तारै खोला बगेको दिशातिर दक्षिण–पूर्वमा होचिँदै गएको र होचो हुने मात्रा पनि त्यही दिशातिर क्रमशः घट्दै गएको छ । ताल समतल भूमिका किरानमा रहेका छन् । सेती उपत्यकामा सतहका बालुवा–ढुंगाहरू बग्नाले सहायक खोलाहरू थुनिएकाले ताल बनेका हुन् । स–साना ताल पुरिँदै गएर आकारमा घट्दै गइरहेका छन्, तर फेवाताल सिँचाइ, जलशक्ति उत्पादनका लागि बाँध बनाइएकाले ठूलो भएको छ । उपत्यकालाई घेर्ने पहाडको उचाइ अलग–अलग छ । पूर्व र दक्षिणका यी पहाडको उचाइ १,२०० मिटर छ भने पश्चिम र उत्तरमा २,४०० मिटर पुग्छ ।

यहाँको हावापानी आद्र्र र उष्ण हुनाका साथै सरदर तापक्रम १३ दशमलव ३ डिग्री सेन्टिग्रेडभन्दा बढी छ । गर्मीमा अधिकतम तापमक्रम ३२ दशमलव ८ डिग्री सेन्टिग्रेडभन्दा माथि पुग्छ । वार्षिक वर्ष २५८१ मिलिमिटर र मनसुनका बेला ८२ प्रतिशत वर्षा हुन्छ । स्थानीय उन्नतोदर प्राकृतिक बनावटका कारणले शरद ऋतुमा असिना पर्छ र वसन्तमा हुरीबतास चल्छ । ऋतुको फेरबदलमा स्थानीय कृषि भर पर्छ । किसानको समृद्धि वा गरिबी मनसुनको स्थितिमा भर पर्छ । वनस्पतिका किसिम हावापानीको प्रादेशिक किसिमले विभाजित छन् र यहाँ उष्ण प्रदेशीय बाँझ र गुराँस पाइन्छन् । सेती नदीकिनारमा भिराला घाँसे गरा पाइन्छन् र यिनीहरू कहिलेकाहीँ नदीछेउ पाइने खयर र बाँस भएका क्षेत्रलाई पनि नाघेर परसम्म पुगेका हुन्छन् । समतल भूमिका बस्तीमा छायाँ, ओत, घाँस र दाउराका लागि लगाइएका रूखपात पाइन्छन् । बढी पशु चरन, आगलागी र हाँगा कटाइबाट खासगरी उपोष्ण क्षेत्रबाट वनस्पति लोप हुँदै गइरहेका छन् र धेरै भिरालो पाखामा मात्र जंगल बाँकी छन् ।

पोखरादेखि उत्तरका उच्च पहाडी क्षेत्रमा विशेषतः गुरुङ जातिको बसोबास छ भने समतल भूमिमा हिन्दू बाहुन, क्षेत्री आदि जातको बाहुल्य छ । धेरैजसो गाउँ ९१० देखि १५२० मिटरसम्मको उचाइमा छन् । ग्रामीण घर चारपाटे, दुईतले र खरको छानो भएका हुन्छन् । तर, केही उच्च पहाडी क्षेत्रका घरमा स्लेटको छानो हुन्छ । बजारका घर इँटा र टायलले बनेका छन् । व्यापारिक बजार समतल भूमिमा सडकछेउमा बसेका छन् । सडकछेउ चौतारा बनेका पाइन्छन् । पोखरा बजार (९१३ मिटर) तीनवटा बाटो मिसिने ठाउँमा रहेको छ । अनि यहाँका घर करिब पाँच किलोमिटरको दूरीसम्म मूल सडकछेउ एक–अर्कासित जोडेर बनाइएका छन् । पहाडबाट हुने बसाइँ–सराइसम्म ठाउँका बजार र नयाँ बस्तीमा केन्द्रित छन् ।

भू–प्रयोगमा पहाड र समतल स्थानका अलग–अलग समस्या छन् । समतल भूमिका पानीको तह धेरै तल छ । जनघनत्व त्यहाँभन्दा पहाडमा बढी छ । रोडा–ढुंगाले बनेको समतल भूमिमा सेती नदी र यसका सहायक खोलाद्वारा गहिरा गल्छीहरू काटिएकाले माथिको जमिन सुख्खा हुन पुगेको छ । तालमा आउने पानीका धेरै मुहानलाई प्रयोगमा पूर्ण रूपले ल्याइएको छैन । पानीलाई प्रयोगमा ल्याउने विचार जंगबहादुरको मनमा एक शताब्दी अगाडि आएको थियो । तर, यो काम असफल भएका कारण ल्यान्डनले यसरी स्पष्ट गरेका छन्, ‘तालको माथिल्लो तह उपत्यकाको तल्लो तहभन्दा यति तल छ कि ठुल्ठूला पम्पबाट मात्र सिँचाइ सम्भव छ । पम्प जडान गर्ने जंगबहादुरको योजना थियो । र, यसबाट वार्षिक ३० देखि ४० हजार पाउन्ड आम्दानी हुने उनले आशा राखेका थिए । तर, यसका लागि एक युरोपेली इन्जिनियर त्यहाँ हुन जरुरी थियो । युरोपेलीप्रतिको परम्परागत घृणालाई जंगबहादुरले समेत चुनौती दिन सकेनन् ।’ पहाडी पाखामा भने प्रतिकूल परिस्थिति भए तापनि पूर्ण रूपले पानी पटाइ गरामा खेती गर्ने तरिका अपनाइएको छ । अरू बालीभन्दा धानबालीले प्राथमिकता पाउने हुनाले परम्परागत सिँचाइ तरिका राम्ररी विकसित गरिएको छ । खेतीमा बढी श्रम र कम पुँजी लगानी गरिन्छ । त्यसैले उत्पादकत्व कम छ । खेतीका लागि पशुपालन अभिन्न अंग मानिन्छ । मल र जोत्ने, बोक्ने दुवै काममा पशुको प्रयोग हुन्छ । उच्च पहाडी क्षेत्रमा भेडापालन गर्ने र ऊनीको धागोबाट सामान बुन्ने पुरानो परम्परा छ । बाटुलेचौर र ह्याङ्जाजस्ता समतल ठाउँमा सुन्तलाका ठुल्ठूला बगैँचा हुन्थे ।

मानिसका जग्गा थोरै हुनाले र श्रम प्रशस्त मात्रामा पाइने कारणले सहायक रोजगार आवश्यक हुन गएको छ । यसैले कृषि काम थोरै भएका बखत मानिस कुल्ली काम प्रशस्त गर्छन् । अनि पैसा कमाउन विदेशी सेनामा जानु सबैभन्दा महत्वपूर्ण पेसा मानिन्छ । भारतीय र ब्रिटिस पेन्सन क्याम्प स्थापित भएपछि बजारको व्यापारमा ठूलो टेवा पुगेको छ । उच्च पहाडी र समतल भूमिका उद्योगमा कच्चा पदार्थको उपलब्धताका आधारमा भिन्नता पाइन्छ । बुनाइ उद्योगबाहेक उच्च पहाडी भागका मानिस डालो–नाङ्लो बुन्ने र वन्य उत्पादनसम्बन्धी काममा लाग्छन् । समतल भूमिका पेसागत जातका मानिस धातुको काम, माछा मार्ने काम, भाँडा र इँटा बनाउनेजस्ता प्राथमिक उद्योगमा विशिष्टता हासिल गर्छन् । नयाँ स्थापित उद्योगमा फर्निचर, धान मिल, कपडा र फलफूल प्रशोधनसम्बन्धी उद्योग छन् । पर्यटन व्यवसाय ढिलो सुरु भएको हो । तर, यसको विकासको व्यापक सम्भावना छ । विमानस्थलबाट उत्तरतिर धौलागिरि (८१६७ मिटर), अन्नपूर्ण दक्षिण (७२७३ मिटर), अन्नपूर्ण प्रथम (८०७८ मिटर), माछापुच्छ«े (६९९७ मिटर), अन्नपूर्ण तेस्रो (७५७७ मिटर), अन्नपूर्ण चौथो (७५२४ मिटर), अन्नपूर्ण दोस्रो (७९३७ मिटर), मनास्लु (८१२५ मिटर), हिमालचुली (७८९३ मिटर) र बौधा (६६७२ मिटर)का शिखरको भव्य दृश्य देखिन्छ ।

यस क्षेत्रमा मानव बसोबासको विकास अध्ययनबाट दूरगामी र चाखलाग्दा प्रक्रिया फेला पर्छन् । पर्यावरणका शब्दमा भन्ने हो भने उच्च पहाडी प्रदेशलाई प्रकृतिप्रधान क्षेत्र भनिन्छ र त्यहाँ मानिस भौतिक वातावरणद्वारा निर्दिष्ट सीमाभित्र आफूलाई व्यवस्थित गर्न कोसिस गर्छन् । यहाँको सांस्कृतिक ढाँचालाई स्थानीय रूपमा कायम राख्न गरिएको कुरा स्पष्ट देख्न सकिन्छ । यद्यपि घर फर्केका लाहुरे यसलाई खल्बल्याउने वा परिवर्तन ल्याउने कारकको काम गरिरहेका हुन्छन् । होचा पहाड र समतल भूमिमा मानिसले प्रकृतिलाई स्वेच्छाले आफ्नो आवश्यकता पूर्तिका लागि उपयोग गरिरहेको कुरा मानिसले सखाप पारेको प्राकृतिक वनस्पतिको अवस्थाबाट स्पष्ट हुन्छ । यी दुई वातावरणीय क्षेत्रका पारस्परिक प्रभावले गर्दा बिस्तारै जातीय संस्कृति लोप हुँदै छ । जनजाति समूहका मानिस माथि–तल ओर्लनाले र विभिन्न जातका समूहका मानिस उक्लनाले होचा पहाडमा उनीहरूमा पारस्परिक संसर्ग हुन्छ र त्यसबाट संस्कृतिमा मिसावट आउँछ । सांस्कृतिक सम्मिलनको अर्को स्थल व्यापारिक बजार हुन् । जहाँ विभिन्न स्रोतबाट आएका मानिसबाट एककिसिमको सहरी वातावरण तयार हुन्छ ।

यसप्रकारको संस्कृतिको गतिशिलता बदलिँदो भू–उपयोग ढाँचासँग पनि जोडिएको हुन्छ । भू–उपयोगको परिवर्तन सबैभन्दा बढी खेती र जंगलबीचमा गाईबस्तु चराउने क्षेत्रमा हुन्छ । बाली लगाउने जग्गा बढ्दै गएपछि चरिचरन घट्न गई जंगलमा बढी पशु चराउने काम हुन्छ र यसबाट प्रतिक्रियाको एउटा लामो सिलसिला सुरु हुन्छ । बढी पशु चरेको जंगल फँडानी गरी त्यस पाखो खेती गर्न थालिन्छ र त्यहाँ बिस्तारै सिँचाइ सुविधा ल्याएर खेती गरिन्छ । सन् १९३०–६० को अवधिमा सिँचित भूमि करिब ८ प्रतिशतले वृद्धि भएको थियो । पार्दी र विजयपुरजस्ता ठूलाखाले सिँचाइ योजनाले मात्र सन् १९६१ देखि ४,००० हेक्टर जमिनमा सिँचाइ पु¥याई यसक्रममा गति दिएका छन् ।
पहाडमा कृषियोग्य भूमि विस्तार गर्ने काम एउटा स्पष्ट सीमासम्म मात्र सम्भव छ । र, यसबाट जनसंख्या होचा पहाडतिर झर्ने सकारात्मक प्रवृत्तिको सुरुआत भएको छ । वास्तवमा भन्ने हो भने उच्च पहाडी गाउँमा प्राचीनकालदेखिकै प्राथमिक बसोबास छ भने होचा ठाउँमा कृषिको प्रसारसँग सम्बन्धित दोस्रोखालको छरिएको बसोबास पाइन्छ । बसोबासको प्रक्रियामा बजारको वृद्धिले तेस्रो विकासलाई जनाउँछन् । र, यसले आवतजावतको वृद्धि देखाउँछ । विगतमा स–साना स्थानीय नाइकेमा तुच्छ प्रतिद्वन्द्विता भएको बेला ढुंगेसाँघु, सनुपनेली, बैदाम र सातमुहानेका धार्मिक जात्राहरूले मात्र सायद शान्तिपूर्वक वस्तुको आदान–प्रदानको मौका प्रदान गर्थे । अठारौँ शताब्दीको मध्यदेखि राजनीतिक संगठन र प्रशासनमा स्थिरता आएकाले वस्तु विनिमयको ठाउँ स्थायी व्यापारिक बजारले लिए । साथै जनसंख्या एक ठाउँबाट अर्को ठाउँ सर्ने प्रवृत्तिको सुरुआत भयो । कुनै समय आद्र्र हावापानी र औलोका कारण बसोबासका लागि अनुपयुक्त मानिने समतल भूमिमा क्रमशः बसोबास बढ्दै जाने धेरै कारण थिए । एउटा मुख्य कारण के थियो भने पहाडमा जनसंख्या असाध्य वृद्धि भएकाले यो बढेको जनसंख्या होचो भागतिर ओर्लन थाल्यो । यो प्रवृत्ति सन् १९५० का दशकका पछिल्ला वर्षमा औलो उन्मूलनको व्यापक कार्यक्रम सुरु भएपछि अझ तीव्र भयो । सरकारको सहायताबाट लघुसिँचाइ सट्टा बृहत् सिँचाइ उपलब्ध हुनाले पनि समतल भूमिको महत्व बसोबास र खेतीका दृष्टिकोणबाट अझ बढ्न गयो । पोखरा सहरको केन्द्रीय भूमिका र विकासका गतिविधि सहरका मध्यभागमा केन्द्रित हुनाले पनि समतल भूमिमा बसोबास गर्नु बढी फाइदाजनक हुन थयो ।

हिमालपारि व्यापारका लागि पोखरा एक महत्वपूर्ण भण्डारस्थल र पुरानो पूर्व–पश्चिम सडकको उद्भवस्थल भएको छ । एउटा चाखलाग्दो कुरा के छ भने पोखरामा आधुनिक यातायातका साधन उल्टो क्रममा पुगेका हुन् । सबैभन्दा पहिले सन् १९५२ मा हवाईजहाज पुग्यो । त्यसपछि सन् १९५७ मा जीप पुग्यो र अन्तमा सन् १९६१ मा गोरुगाडा पुग्यो । नवीनतम प्रविधि यहाँ भित्र्याउने श्रेय विकासका गतिविधिलाई जान्छ । सामुदायिक विकास कार्यक्रम सर्वप्रथम सन् १९५३ मा सुरु भयो । यसको प्रभाव ग्रामीण क्षेत्रमा त्यति महत्वपूर्ण रूपले परेको छैन । तापनि सहरको वातावरणमा त्यसबाट केही परिवर्तन आएको छ । सहरीकरण भएको पोखरा नगरको एउटा मुख्य समस्या वरिपरिका ग्रामीण इलाकाबाट आएका मानिसको सहरमा बाहुल्य हुनु हो । पुराना चरनभूमिमा प्रशस्त जनसंख्या फैलन गएको छ । पोखरा उपत्यकामा अनेकौँ नयाँ विकासका परियोजना लागू भएका छन् । पार्दी बाँधले यस समतल भूमिको पश्चिमी भागमा सिँचाइ सुविधा पु¥याएको छ अनि विजयपुर नहरले पूर्वी भागमा । सन् १९६८ मा १,००० किलोवाट क्षमताको जलविद्युत् केन्द्र सुरु भयो । पोखरामा एउटा बागवानी केन्द्र, एउटा भेडा फार्म, एउटा मत्स्यपालन फार्म, दुइटा तिब्बती शरणार्थी क्याम्प, दुइटा पेन्सन क्याम्प, दुई अस्पताल र एक कलेज छन् ।

नगरका रूपमा विकसित पोखराको एउटा मुख्य विशेषता यसको विकासका एकाइको विस्तार हो । नगरको पुरानो केन्द्रबिन्दु रानीपौवा र ती बाटो मिल्ने नालामुख विगत दशकमा क्षय भएको देखिन्छ । वर्तमान नगर तीन किलोमिटरको वृत्तमा फैलेको छ । र, तीन अलग–अलग विकासका क्षेत्र छन् । सहरको उत्तरमा पर्ने बगरमा शिक्षण र सामाजिक संस्था केन्द्रित छन् । जसमा बहुउद्देश्यीय हाइस्कुल, शिक्षक तालिम स्कुल, डिग्री कलेज, खेलकुद रंगशाला, मिसन अस्पताल र ब्रिटिस पेन्सन क्याम्प छन् । सहरको दक्षिणमा पर्ने पार्दीमा प्रशासकीय भवन क्षेत्र, विमानस्थल, होटल र स–साना उद्योग रहेका छन् । अर्को विकासको क्षेत्र पूर्वमा सेतीपारि रामघाट–रानीपौवामा केन्द्रित छ । जहाँ सेनाको छाउनी, दूरसञ्चार केन्द्र, एउटा अस्पताल, एउटा हाइस्कुल, भारतीय पेन्सन क्याम्प र अलिक पर दक्षिणमा भेडा फार्म छ । यसरी विभिन्न गतिविधि छरिएका क्षेत्रका लागि कुशल भित्री सञ्चार प्रणाली आवश्यक हुन्छ, जुन हुन बाँकी नै छ । यस्तो आन्तरिक सम्बन्धको सुव्यवस्था बाहिरी क्षेत्रसँग हुने सम्पर्कमा सधैँ निर्भर रहन्छन् । यस्तो बाह्य सम्पर्क कायम गर्ने काम पूरा भइसकेको छ । पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्रका रूपमा रहेको पोखरा नगरको समुन्नतिका लागि भारतको सहयोगमा बनेको १२८ किलोमिटर लामो सुनौली–पोखरा राजमार्ग (सिद्धार्थ राजमार्ग) र १७६ किलोमिटर लामो चिनियाँ सहयोगमा निर्मित काठमाडौं–पोखरा राजमार्ग (पृथ्वी राजमार्ग)ले दूरगामी प्रभाव पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्