स्वीसले बनाइदिएको जिरी



तेन्जिङ नोर्ग शेर्पा र एडमन्ड हिलारी सगरमाथा आरोहण गर्न जाँदा र फर्कंदा जिरीकै बाटो हिँडेका थिए । संवत् २०५४ समा स्वीट्जरल्यान्डका राष्ट्रपति आर्नाेल्ड कलर जिरी पुगी दुई घन्टा घुमे । १४ हजार किलोमिटर नेपालको यात्रा गरेका भूगर्वविद् टोनी हागनले पनि जिरी उहिल्यै टेकेका हुन् । त्यही जिरी एकताका सगरमाथा जाने गौंडोका रूपमा चिनिन्थ्यो ।

स्वीस राष्ट्रपति कलरले दुई घन्टा लगाएर घुमेको जिरीलाई चारैतिर जंगलले घेरेको छ । बीचमा स–साना रहरलाग्दा बस्ती छन् । त्यही बस्तीलाई स्वीट्जरल्यान्डको जुरिचसँग तुलना गरिँदै आएको छ । स्थानीय व्यापारी सुमन श्रेष्ठ भन्छन्, ‘स्वीट्जरल्यान्डको जुरिचजस्तै भएकाले यस ठाउँलाई नेपालको जुरिच भनिएको हो । जुरिचलाई नै पछि जिरी भन्न थालियो ।’

स्वीट्जरल्यान्डको जुरिच नदेखेकाले जिरीजस्तै त होला नि जुरिच भनी कल्पना गर्छन् । तर, जुरिच देखेकाले भने जिरी र जुरिचबीच आकाश पातालको भिन्नता रहेको बताउँछन् । जिरी भ्रमण गरी फर्केपछि सञ्चारकर्मी वसन्त थापाले भने, ‘स्वीट्जरल्यान्डको जुरिच र जिरीबीच अघिल्तिरको ‘ज’ अक्षरभन्दा केही समानता पाइँदैन । जुरिचमा ठूलो प्राकृतिक ताल छ । जिरीमा त्यस्तो ताल छैन । उता जुरिचबाट आल्पस पर्वतमाला देख्न सकिन्छ । जिरीबाट एक टुक्रा हिमालसमेत देख्न सकिँदैन भने जिरीलाई किन जुरिचसित दाँज्नु ?’

चोर्लुङ, तामे र हनुमन्ते पहाडको काखमा रहेको जिरी गहना लगाएको दुलहीजस्तै देखिन्छ । तसर्थ, अनुकूल मिल्नासाथ जोकोही जिरीतिर लागिहाल्छन् । पछिल्लो समय विकासे टोली र सप्ताहान्त बिताउन काठमाडौंबाट जिरी पुग्ने बाक्लै भेटिन्छन् । जिरीका लागि स्वीस वरदान साबित भएको जिरीवासी स्वीकार्छन् । स्वीसले शिक्षा, स्वास्थ्य, सडक, कृषि, वन, खानेपानी र पुलपुलेसाजस्ता जनताका आधारभूत आवश्यकतामाथि पहिलो प्राथमिकता दिई यहाँका विकास निर्माणमा सघाउ पु¥यायो । स्वीसको त्यही विकास निर्माणका काम हेर्नमात्रै जिरीमा पुग्ने पनि त्यत्तिकै भेटिन्छन् ।

‘टी टुरिजम’का लागि पनि जिरी उपयुक्त थलो मानिन्छ । पछिल्लो सयम जिरीमा २०० किलोग्राम चिया उत्पादन हुने चिया किसान बताउँछन् । जिरी पुगेकाहरू च्यार्दाेङ चीज कारखाना घुम्न छुटाउँदैनन् । २०३१ सालमा स्वीस सरकारले चीज कारखाना स्थापना गरेपछि सिजनमा ६/७ हजार किलोग्राम चीज उत्पादन हुन्छ । जिरी घुमेर फर्केकाहरू यहाँ उत्पादित चीज उपहारका रूपमा लैजाने गर्छन् ।

व्यावसायिक तथा रोजगारमूलक प्राविधिक शिक्षाका लागि स्वीसले नै प्राविधिक शिक्षालय स्थापना गरिदिएपछि जिरीमा पचहत्तरै जिल्लाका मानिस भेटिन्छन् । जिरीमा सानोसानो नेपाल नै अटाएको छ । स्वीसले अस्पताल बनाइदिएपछि स्थानीयले अकालमै ज्यान गुमाउनुपरेको छैन । स्वीस सरकारकै सहयोगमा यहाँका कतिपय जिरेल समुदायले डाक्टर, इन्जिनियर बन्ने अवसर पाएका छन् ।

स्वीसले जिरीमात्रै होइन, दोलखावासीलाई तिर्न नसक्ने गुन लगाएको । त्यसैले त जोकोही एकपटक जिरी घुम्ने योजना बनाउँछन् । जिरी पुग्न ६ किलोमिटर वरै वासामा अल्पका पालिएका छन् । जिरी आइपुगेकाहरू अल्पका नहेरी पर्कन मान्दैनन् । जिरी पुगेपछि चरिकोट नपसे यात्रा अधुरो हुन्छ । नेपालको समय निर्धारण गरिने गौरीशंकर हिमाल चरिकोटको आँगनमै देखिन्छ । चरीघ्याङडाँडामा रहेको दूरवीनबाट हिमाल, पहाड, तराई नियाल्नुको आनन्द शब्दमा व्यक्त गर्न सम्भव छैन ।

जिरी काठमाडौंबाट १८८ किलोमिटरको दूरीमा रहेको छ । काठमाडौंको पुरानो बसपार्कबाट सिधै जिरीसम्म गाडी पुग्छ । तीन दशकदेखि बन्द रहेको हवाई उडान पुनः सञ्चालनमा आएपछि कम समयमा जिरी यात्रा गर्न चाहनेका लागि सजिलो बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्