ऋण लिएर थालेको तरबुजा खेती, लकडाउनले खेतमै कुहिँदै



वीरगन्ज । सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिक रूपमा खेती गरेका तरबुजा बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका पाँच करोड मूल्यबराबरको तरबुजा खेतमै कुहिएको बताइएको छ ।

सिरहा नगरपालिका–१७ का ५०० भूमिहीन किसानले कमलानदी बगरमा ५०० व्यावसायिक रूपमा तरकारी तथा तरबुजाखेती गर्दै आएका थिए । लकडाउनका कारण बजारसम्म लैजान नसक्दा सो जिल्लामा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको किसान कारिचरण सदाले जानकारी दिए । भन्छन्, ‘ऋण काढेर कमला नदी बगरमा हरियो तरकारी तथा तरबुजा खेती गरेका थियौँ । बजारसम्म लैजान नसक्दा ऋण थपियो । परिश्रम पनि खेर गयो ।’

बेमौसमी वर्षा र लकडाउन जारी रहँदा उत्पादित तरकारी बजारसम्म लान नसक्दा किसान मेहनत खेर गएको छ । प्रदेश नम्बर २ सरकारले त्यस्ता किसानको पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ । महोत्तरीको उत्तरी भेग भङ्गहा, गौशाला, बलुवा, लोहारपट्टिलगायत गाउँका किसानले सयौँ बिघामा व्यावसायिक रूपमा लगाएका तरबुजासमेत बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका बताइएको छ ।
पाकेको तरबुजा बजारसम्म पुर्याउन नसक्दा आर्थिक मारमा परेको गौशालाका किसान हजारी साहले गुनासो गरे । साहले लकडाउन थपिँदै गए किसानले उत्पादन गरेको तरबुजा खेतमा सड्ने र परिश्रम र लगानी खेर जाने बताए ।

स्वास्थ्यको दृष्टिकोणले तरबुजा ज्यादै फाइदाजनक मानिन्छ । उत्पादित तरबुजा बजारसम्म जान नसकेको अर्का किसान रामकृष्ण यादवको गुनासो छ । उत्पादित तरबुजा स्थानीय बजार, काठमाडौँ, हेटौँडा, वीरगन्ज, नारायणगढ, नेपालगन्ज, गोलबजार सिरहा, धरान, विराटनगरसम्म पुग्थ्यो ।

रौतहटमा उत्पादित तरबुजा बजारसम्म पुर्याउन नसक्दा क्षति बेहोर्नुपरेको किसानले गुनासो गरेका छन् । यस वर्ष डेढ बिघामा तरबुजाखेती गरेका स्थानीय जिँगडियास्थित किसान राजाराम साहले भने, ‘अघिल्लो साल तरबुजा बिक्रीबाट राम्रो आम्दानी गरेको तर यो वर्ष लकडाउनपछि बजारसम्म पुर्याउन नसकेका कारण घाटा बेहोर्नुपर्यो ।’

चार लाख ५० हजार बैंकबाट ऋण लिएर तरबुजा खेतीमा लगानी गरेको तर यो वर्ष समयमै बजार पुर्याउन नसकेका कारण गोदाम तथा खेतबारीमै कुहिन थालेको उनले चिन्ता व्यक्त गरे । यसपटक उत्पादन भएको १० क्वीन्टलभन्दा बढी तरबुजा गोदाममै रहेको उनको भनाइ छ । प्रतिकट्ठा १५ क्वीन्टलसम्म तरबुजा फलेको भए पनि लकडाउनका कारण बजार नपाउँदा आर्थिक भार बेहोर्नु परेको उनले दुःखेसो पोखे ।

प्रतिक्रिया दिनुहोस्