सडक सारथि


अक्सर मान्छेलाई सहर पसेपछि आफ्नो गाउँठाउँबारे सोच्ने फुर्सद हुँदैन । पारिवारिक सुखसयलका लागि आवश्यकीय सम्पत्ति जोड्नमै व्यस्त हुन्छन् । तर, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका समाजसेवी जनकराज राईको सन्दर्भ भने फरक छ । समाजसेवी राई सहर बस्छन् । तर, गाउँठाउँबारे सोचिरहन्छन् ।

नामै जनक । सामाजिक योगदानका हिसाबले उनको भूमिका जनककै जस्तो छ । दुर्छिमअन्तर्गत साल्तेम्मा, भन्ज्याङ, हात्तीढुंगे, चुमाखु, गणेशटारवासी र अन्य मनकारी सहयोगीको साथ–सहयोगले १३.२७ किलोमिटर सडक निर्माण गरे । विकास निर्माणका लागि दाताको मुख ताक्ने प्रवृत्ति नयाँ होइन । तीन वर्षअघि निर्मित दलश्वरचोकदेखि सुनकोसीको बतासेघाट जोड्ने ‘होलेसुङ–जनकराज राई मार्ग’ मा २०७५ माघ २५ गतेदेखि यातायात साधन गुड्न थालेका छन् । ०६९ चैत ५ देखि निर्माण सुरु गरेर ०७२ जेठ ९ गते पूरा गरिएको सडक निर्माणमा समाजसेवी जनकराजको योगदान शब्दमा व्यक्त गर्न कठिन छ । जनकराजको योगदान नरहेको भए स्थानीयको सडक खन्ने सपना पूरा हुँदैनथ्यो ।

६१ लाख ९० हजार रुपैयाँमा पूरा भएको सडक निर्माणका लागि जनकराजले २२ लाख ५४ हजार २३७ रुपैयाँ सहयोग गरेको सडक निर्माण उपभोक्ता समिति अध्यक्ष केवलनारायण राईले जानकारी गराए ।

सडक खन्न आफैं कम्मर कसेका दुर्छिमवासीलाई खोटाङ तथा खोटाङबाहिर ३७८ जना दाताबाट आर्थिक सहयोग प्राप्त भएको थियो । तर, जनकराजले सबैभन्दा बढी आर्थिक सहयोगमात्र गरेनन्, सडक निर्माणक्रममा अरूबाट चन्दा उठाउन र सडक निर्माणमा लागिपरे । यो सडक उदयपुरबाट त्रि–धार्मिकस्थल हलेसी र सगरमाथा जोड्ने छोटो क्षेत्रीय सडकका रूपमा स्थापित भएको छ । ‘उहाँ (जनकराज) को साथ नपाएको भए गाउँमा यति चाँडो सडक खन्न सजिलो थिएन,’ अध्यक्ष राईले भने, ‘थप चन्दा उठाउन अभियान चलाइदिनुभयो । सडक निर्माणक्रममा गाउँमै बसेर सहयोग गर्नुभयो । त्यही साथ र हौसलाले हामी आफैं सडक खन्न सफल भयौं ।’ सडक निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताको सम्मानमा गत माघ २४ गते दुर्छिमको भन्ज्याङमा स्थापित शिलालेखमा समेत राईले गरेको आर्थिक सहयोग रकम उल्लेख छ ।

‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौं’ भन्ने नारासहित निर्मित सो सडकले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडक खण्डमा पर्ने दुर्छिमको छापडाँडालाई छोएको छ । स्थानीयको बलबुतामा बनेको सडक ‘सरकार तथा विदेशी दाताविना पनि विकास गर्न सकिन्छ’ भन्ने उदाहरण बनेको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकावासीले काठमाडौं आउजाउका लागि सोही सडक प्रयोग गर्न थालेका छन् ।

हलेसीसँग जोडिएको दुर्छिमबाट दक्षिणतर्फ सुनकोसी हुँदै उदयपुर तथा उत्तरतर्फ मंगलटार, दूधकोसी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने निर्माणाधीन सडकले दुर्छिमकै होलेलुङको भग्नावशेष दरबार र चिहानसमेत छोएको छ । ‘पुरानो हलेसी’का रूपमा चिनिने होलेलुङको भग्नावशेष दरबारलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सडकले योगदान पु¥याउने स्थानीयको अपेक्षा छ ।

चार सय वर्षअघि हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढी आर्थिक र भौतिक सहयोग गर्ने जनकराजको योगदानको कदरस्वरूप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो ।

भर्नाको भएको सात वर्षमै ब्रिटिस आर्मीबाट फर्काइएका राई हिजोआज ललितपुरमै बसे पनि सामाजिक क्षेत्रमा क्रियाशील छन् । कमान्डरले नेपालीलाई होच्याएको विषयमा साथीले कमान्डरमाथि कुटपिट गर्दा उनीसहित सिंगो कम्पनीलाई बेलायतबाट रित्तोहात फर्काइएको थियो । ०३७ मा ब्रिटिस आर्मीमा भर्ना भएका उनले फकल्यान्डमा युद्ध लडेका थिए ।

सहरमै बसे पनि ‘गाउँका लागि केही गरौं’ भन्ने सोच भएका व्यक्ति बग्रेल्ती पाइन्छन् । पहिचान गर्न सक्नुपर्छ । परिस्थितिवश सहर बसे पनि गाउँको विकास र परिवर्तनका सन्दर्भमा काम गर्ने मनकारी जनकराज राईलाई दुर्छिमवासीले पहिचान गरे । र, गाउँको उत्थानमा उपयोग गरे । सहरमा बसेका राईजस्ता समाजसेवीलाई पहिचान गरेर सामाजिक क्षेत्रमा उपयोग गर्न सके गाउँठाउँका लागि उपलब्धिमूलक हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्