केश रोप्न अस्पतालमै ऋण !


उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ । तर, केश रोप्न पनि ऋण व्यवस्था गरिएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले केश रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋण व्यवस्था गरेको हो ।

अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । उसले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो । अस्पतालभित्रै काउन्टर रहेको छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभाग व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताइन् ।

बैंकले २५ हजारदेखि दुई लाखसम्मे ऋण धितोविना शून्य व्याजदरमा उपलब्ध गराउने डर्माटोलोजी विभाग व्यवस्थापन प्रमुख अर्यालको भनाइ छ । १८ महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।

‘लक्जरी’ सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋण व्यवस्था गरिएको उनले जानकारी गराइन् । सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिने जनाइएको छ । ‘बैंक धाइरहनुपर्ने झन्झट हुँदैन,’ उनले भनिन्, ‘हामीले सहजीकरण गरिदिन्छौं ।’

चितवनमा पहिलोपटक यस्तो सुविधा दिइएको जनाइएको छ । अस्पतालको डर्माटोलोजी विभागमा कपाल प्रत्यारोपणका साथै अनुहारको चाउरीपन हटाउने, छालामा चमक ल्याउने, चाया, पोतो हटाउने, डन्डिफोरलगायतका दाग, धब्बा हटाउने सेवा छन् । यी सबै सेवाको शुल्क किस्ताबन्दीमा तिर्न मिल्नेछ ।

अस्पतालका कन्सलटेन्ट डर्माटोलोजिस्ट एन्ड हेयर ट्रान्सप्लान्ट सर्जन डा. श्रद्धा उप्रेतीले पछिल्लो आधुनिक प्रविधिमार्फत कपाल प्रत्यारोपण गरिँदै आएको बताइन् । ‘कपाल भएको ठाउँबाट जरासहित निकालेर नभएको ठाउँमा प्रत्यारोपण (रोप्ने) गरिन्छ । पुरुषमा तालु खुइलिने समस्या हुन्छ,’ उप्रेतीले भनिन्, ‘यस्तोमा टाउकाको पछाडिको भाग, साइडको भाग, दाह्री अनि छातीको कपाल जुन कहिल्यै झर्दैन, यस्ता स्थानका कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्छौं ।’ यसरी कपाल रोप्दा ठूलो ‘साइड इफेक्ट’ नहुने उनको दाबी छ ।

लडेर, पोलेर वा दुर्घटनाबाट कुनै खत बसेको छ भने पनि त्यस्तो ठाउँमा कपाल रोप्न सकिने र आइब्रो पातला भएका महिलाले आइब्रोमा कपाल प्रत्यारोपण गर्न सक्ने उनको भनाइ छ ।

प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घन्टापछि बढ्न सुरु हुने जनाइएको छ । उनले थपिन्, ‘पाँच महिनापछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्षभित्र कपाल बाक्लो भएर आउँछ । मुन्डन गरे पनि फेरि पलाइरहन्छ ।’

यस्तो सुविधा किस्ताबन्दीमा सुरु गरेसँगै एकैपटकमा शुल्क तिर्न नसक्नेलाई सहज हुने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले बताए । सेवाग्राहीका लागि कसरी सहज सेवा दिन सकिन्छ भन्ने विषयमा अस्पताल सधैं लागिपरेको न्यौपानेको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्