गणेशमान सिंहले दिएको पाँच सय रुपैयाँको त्यो चेक



अधिकांश ब्रिटिस गोर्खा अवकाशपछि बिदेसिने गरे पनि स्वदेशमै कर्मशील गोर्खाली पनि नभएका होइनन् । त्यस्तैमध्येका एक गोर्खाली हुन्– कृष्णकुमार पुन । पुनले १२ करोडभन्दा बढीको लगानीमा अत्याधुनिक र सुविधासम्पन्न बुल्स क्लब सञ्चालन गरेका छन् । काठमाडौंको बसुन्धरा र ललितपुरको नख्खुमा रहेको यो क्लब नेपालकै व्यवस्थित र अत्याधुनिक हो ।

क्लबमा ब्रिटिस आर्मी, सिंगापुर पुलिस र नेपाल आर्मीमा प्रतिस्पर्धा गर्नेहरुका लागि तालिम दिनुका साथै ब्याडमिन्टन, जिम, योगा, स्विमिङ, सउना, स्टिम र बास्केटबल खेलाइन्छ । यस्तो क्लब नेपालमै पहिलो र एकमात्र रहेको पुनको दाबी छ । क्लबमा आठ ब्याडमिन्टन कोर्ट रहेको छ । दुईतलामाथि यति धेरै कोर्ट सञ्चालन गरिएको नपालमै यो पहिलो हो ।

पुन बबिबिल्डर पनि हुन् । उनले धर्मश्री र मिस्टर हिमाल बडिबिल्डिङ प्रतियोगितामा क्रमशः पहिलो र तेस्रो पदक हात पार्न सफल भए ।

१५ वर्षमै भर्ती

मेरो जन्म बाग्लुङको लेखानीमा ०१९ सालमा भयो । म छ वर्षको छँदा बाबाले इन्डिया लानुभयो र १५ वर्षको उमेरमा नेपाल फर्किएँ । नेपाल आएर भर्र्तीको हुन भिडें । ०३६ सालमा १५ वर्षकै उमेरमा भर्ती भएँ । त्यसपछि हङकङ गएँ । छ महिना तालिम गरें ।

मेरो पल्टन २/२ गोर्खा राइफलको ‘डी’ कम्पनी थियो । एक वर्ष त्यहाँ काम गरेर सपोर्ट कम्पनीमा गएँ । त्यहाँ फिजीकल ट्रेनिङ स्ट्रक्चर कोर्स गरेँ । त्यो कोर्स उत्तिर्ण गरेपछि फिजीकल ट्रेनिङ स्ट्रक्चरमै पाँच वर्ष काम गरें । त्यसपछि ट्रेनिङ डिपोर्ट ब्रिगेड अफ गोर्खाजमा गएँ । यहाँबाटै नेपालबाट छनौट गरेर लगेका नयाँ रिक्रुटहरूलाई छ महिना तालिम दिएर पल्टन पठाउने काम गरिन्थ्यो । यसक्रममा रिक्रुट छनौटको लागि धेरैपटक नेपाल आउनेजाने गरेँ । मेरोे मुख्य काम यही थियो । १५ वर्ष नोकरी गरी ०५० सालमा रिटायर भएँ ।

काठमाडौं नौलो

रिटायर भएर नेपाल आएँ । काठमाडौँ एकदम नौलो लाग्यो । केही थाहा थिएन । दिलमान गुरुङ भन्ने भूपू गोर्खा साथी थिए । उनकै घरमा केही महिना बसेँ । उनैले केही गर्नुपर्छ भन्ने बाटो देखाए मलाई ।

पाँच सय रुपैयाँको चेक

रिटायर आएकै साल धर्मश्री बडिबिल्डिङ प्रतियोगितामा सहभागी भएँ । ७५ केजी समूहको प्रथम उपाधि जितेँ । पहिलोे हुन सफल भएकोमा प्रोत्साहन स्वरुप नेपाली कांग्रेसका नेता गणेशमान सिंहले पाँच सय रुपैयाँको चेक दिएका थिए । त्यसपछि बडिबिल्डिङकै अर्काे मिस्टर हिमाल प्रतियोगितामा सहभागी भएँ । र, दोस्रो हुन सफल भएँ । यस्तो प्रतियोगितामा सहभागी भएर उपाधि जित्न सफल ब्रिटिस आर्मी मै मात्र हुँ ।

बस व्यवसाय घाटामा

केही व्यवसाय गर्ने सोंच आयो । बस संचालन गर्ने भनेर साथीहरूसँग मिलेर किनियो । काठमाडौंदेखि सर्लाहीको लालबन्दीसम्म नाइट बस संचालन गरियो । बस तीन पल्ट दुर्घटनामा पर्यो । त्यसपछि यातायात ब्याबसाय असफल हुने रहेछ भन्ठानेर छाडियो र किराना पसल गरें । पसल एकवर्षसम्म गरेँ । राम्रोसँग चल्यो ।

अत्याधुनिक क्लब

त्यसपछि बुल्स क्लब स्थापना गरेँ । सुरुमा काठमाडौंको बसुन्धरामा यसको स्थापना गरेँ । अहिले बसुन्धरा र ललितपुरको नख्खु भैंसेपाटी गरी दुई ठाउँमा छ यो । बसुन्धरामा १९ वर्ष र नख्खुमा ५ वर्षअघि स्थापित गरेको हो । यो काठमाडौं बाहिर पोखरामा पनि संचालनमा छ । बसुन्धरामा २, नख्खुमा २ (दुईतलामाथि) र पोखरामा ३ वटा गरी ७ वटा ब्याडमिन्टन कोर्ट संचालनमा छ । यसको लागि करिब १२ करोड भन्दा बढि लगानी गरिएको छ ।

बुल्समा ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस भर्ती तयारीसम्बन्धी सम्पूर्ण ट्रनिङ दिनुका अलावा ब्याडमिन्टन, बास्केटबल, जीम, योगा, स्वीमिङ, सउना, स्टिम गराइन्छ ।

ब्रिटिस आर्मी भिड्नेहरूका लागि पहिलो ट्रनिङ सेन्टरको स्थापना पनि मैले नै गरेँ । यस सेन्टरले आर्मी ट्रेनिङ सम्बन्धिको ७५ प्रतिशत स्टाण्डर्ड पूरा गरेको छ । नेपालमा यो स्तरको ट्रेनिङ सेन्टर र स्पोर्टस् संचालन भएको एकमात्र क्लब हो ।

हन्डर–ठक्कर खाइयो

हन्डर–ठक्कर धेरै खाइयो । सुरुसुरुमा ब्यवसाय सफल भएनन् । ब्यावसाय गर्न पहिले एकदमै गाह्रो भयो । यसले गर्दा कहिलेकहीँ मन आतिन्थ्यो । तर, पछि विस्तारै कुराहरू बुझिदै गइयो, साथीभाई चिनिदै गएपछि सहज हुँदै गयो ।

ब्रिटिस आर्मीकोे मान्छेले केही पनि जानेका हुँदैन भनेर हतोत्साहित गर्ने काम हुन्छ । हो, ब्रिटिस आर्मीको मान्छेले ढाँट्न र छल्न भने जानेको हुँदैन । देशलाई केही राम्रो गरौं भन्ने सोचाई सबै लाहुरेको हुन्छ । तर, नेपालमा ढाँटछल धेरै हुने गरेकाले लाहुरेहरू सँधैं ओझेलमा पर्दछन् ।

३५ वर्षदेखि निरन्तर ट्रेनिङ

जतिबेला ब्रिटिस आर्मीको ट्रेनिङ सेन्टर खोँले त्यसबेला ३१ वर्षको थिएँ । आजसम्म पनि आफैँले ट्रेनिङ दिँदै आइराखेको छु । पल्टनमा १५ वर्ष र नेपालमा २० वर्ष गरी ३५ वर्षदेखि निरन्तर ट्रेनिङ दिँदै आएको छु । यस सेन्टरमा ट्रेनिङ लिएकाहरू मध्ये करिब सातसय जना भर्ती भइसकेका छन् ।

पल्टनमा ट्रेनिङ गर्ने हल देख्दा नेपालमा पनि त्यस्तै स्थापना गर्ने सोंच आउथ्यो । साथीभाइले स्वेदशमै केही गर्न प्रोत्साहन गरे । त्यसपछि नेपालमै केही गरौं भनेर विदेश गइन ।

सुरुवात सानोबाटै

बुल्सको सुरुवात सानोबाटै गरेको हो । सुरुमा जिम मात्र गराइन्थ्यो । त्यसपछि ब्याडमिन्टन कोर्ट बनाइयो । हल खाली भएकाले पछि ब्रिटिस आर्मीको ट्रेनिङ सेन्टर सञ्चालन गरियो । अहिले दुई ठाउँमा गरी २५ जना स्टाफ कार्यारत् छन् । दुई जना ट्रेनर छन् ।

भर्ती भएर टीभी देखेँ

भर्ती हुने बेलासम्म टीभी देखेको थिइनँ । त्यसबेला मान्छेहरू एन्टीना राखेको घर देखे भने त्यो घरमा छोरी दिनुपर्छ सुख पाउँछ भन्थे । कम्प्युटर भन्ने त झन् थाहा हुने कुरै भएन । अहिले एउटै कोठामा बसेर सबै देख्न सकिन्छ ।

सरकारले केही गरिदियोस्

बुल्समा ८ वटा ब्याडमिन्टन कोर्ट छन्, जुन सरकारको समेत छैन । एउटा लाहुरले ब्यक्तिगत पहलमा यति गर्नु ठूलो कुरा हो । तर, सरकारले अहिलेसम्म केही सहयोग गरेको छैन । धेरैले तपाइँलाई सरकारले केही गरिदिनुपर्छ भन्छन् । गर्ने त आफैँले नै हो तर पनि सरकारबाट केही सहयोग भएमा गर्न चाहनेहरूलाई प्रोत्साहन मिल्ने थियो ।

प्रतिक्रिया दिनुहोस्