हिजोआज गाउँघरमा दसैं कस्तो होला



दसैं, तिहार, छठ आउँदा घर जानेको ताँती
मलाई पनि खोज्दै होलान् बाल्यकालको साथी ।

हिजोआज गाउँघरमा दसैं कस्तो होला
धेरै याद आउँदो रै’छ चाडबाडको बेला
बाटो खन्दै, पिङ खेल्दै बिताएको त्यो दिन
किन होला याद आयो आज मलाई छिनछिन

गाउँ घर छोडी हिँड्नु बाध्यता कि रहर
हेर्दाहेर्दै शून्य भयो यो काठमाडौं सहर ।

गाउँघरका साथीभाई सबै विदेश छ’रे
बूढापाका मात्रै गाँउमा म त छक्क परें,
छनुवा र भुटुवा खाँदै घरैपिच्छे हिड्थ्यौं
आँगनमा सुकुल बिछ्याइ मिलमपत्ती भिड्थ्यौं ।

कोही हिमाल, कोही पहाड, कोही मधेस झर्यो
केही दिनलाई काठमाडौंको प्राण अन्तै सर्यो ।

प्रतिक्रिया दिनुहोस्