इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित : झुल प्रयोग अनिवार्य


इलाम । जिल्लामा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेलापरेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेलापरेका हुन् ।

जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबीका बिरामी फेलापरेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो कीराको टोकाइले यसको संक्रमण हुने जनाइएको छ । यस्ता कीराका मलमूत्रले समेत मानिसमा संक्रमण फैलिने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का संक्रमित अस्पताल आउन थालेको जानकारी दिए । बरालले भने, ‘कीराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।’

पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता संक्रमित फेला पर्न थालेका हुन् । संक्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखापर्छन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रहसमेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनुपर्ने उनीहरूको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्